राजनीतिमा युवा सहभागिता अति नै महत्त्वपूर्ण विषय हो। विश्व इतिहास हेर्ने हो भने हरेकजसो राजनीतिक परिवर्तन युवाकै बलमा भएको देखिन्छ। अरब स्प्रिङका बेला होस् कि चिली विद्रोहमा, बंगलादेशको आन्दोलन होस् कि भारतको सबैमा युवा सहभागिताले नै परिवर्तन सम्भव बनाएको हो।
नेपालकै सन्दर्भमा पनि लोकतन्त्र प्राप्तिका लागि कहिले जहानियाँ राणा शासनविरुद्ध त कहिले निर्दलीय पञ्चायतविरुद्ध, अनि कहिले निरंकुश प्रत्यक्ष वंशीय शासनविरुद्धको आन्दोलन युवाहरूकै बलमा सफल भएको हो।
हाल नेपालमा विश्वमै उत्कृष्ट मानिएको व्यवस्था छ, संघीय लोकतान्त्रिक गणतन्त्र। व्यवस्था परिवर्तनमा निर्णायक र उत्कृष्ट भूमिका खेल्न सक्ने युवाहरू अवस्था परिवर्तनका बेला किन किनारामा छन् त? व्यवस्था परिवर्तनका बेला युवाहरूलाई रणनीतिक ढंगले प्रयोग गर्न सक्ने राजनीतिक दलहरू अवस्था परिवर्तनका बेला युवाहरूलाई किन सही ढंगले उपयोग गर्न सकिरहेका छैनन्।
यसका लागि युवाहरूका वर्तमान चाहना, प्रेरणा र आकांक्षालाई बुझ्न आवश्यक छ। नेपालका युवाहरूको समग्र चरित्र विश्लेषण गर्ने हो भने उनीहरू पारदर्शिता, जवाफदेहिता र सामाजिक न्यायजस्ता विषयहरूको चाहना राख्दछन्। उनीहरू जलवायु परिवर्तन, वातावरणीय स्थिरता, लैङ्गिक समानता, आर्थिक अवसरजस्ता विषयहरूमा प्लाटफर्म खोजिरहेका छन्। प्रमाणपत्र प्राप्त गर्नेभन्दा पनि विश्व बजारमा प्रतिस्पर्धी हुन सक्ने र रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील शिक्षा आजका युवाको आवश्यकता हो। राजनीतिक क्षेत्रमा पनि आफ्ना आवाज सुनियोस्, आफ्नो प्रतिनिधित्व होस् र निर्णय प्रक्रियामा आफ्नो सहभागिता सुनिश्चित होस् भन्ने उनीहरूको चाहना पाइन्छ।
समाजमा व्याप्त निराशा, पपुलिजमको उदय, सामाजिक सञ्जालमा देखिने अराजकताजस्ता विषयले नयाँ पुस्तामा राजनीति पुर्याउनै नसकिएको भान हुन्छ। राजनीति भन्नेबित्तिकै हेयको दृष्टिले हेर्ने युवा पुस्ता निर्माण हुनुमा आआफ्नो भागको दोष त सबैले लिनुपर्छ नै। तर, यति भनिरहँदा नेपाली राजनीतिमा आवश्यक पुनर्जागरणमा ध्यान दिनुपर्ने विषयमा छलफल नगर्ने हो भने सकारात्मक निष्कर्ष निस्किँदैन।
आजको युवाको आवश्यकता के हो र उनीहरूलाई राजनीतिमा कसरी सक्रिय बनाउन सकिन्छ त? लामो समयसम्म नेपाली शिक्षाको थलो भनेकै सरकारी र सामुदायिक स्कुल तथा कलेजहरू रहे। दलहरूले आआफ्ना विद्यार्थी संगठनमार्फत युवा विद्यार्थीमाझ राजनीति पुर्याउने काम गरे। तिनै समूहहरूबाट नेताको विकास हुँदै आयो र राजनीति पनि समाजमा पुग्दै गयो। तर, निजी शैक्षिक संस्थाहरूको उदयसँगै त्यो असम्भवप्रायः भएको छ। एउटा ठूलो युवा जमात राजनीतिबाट टाढिँदै गएको छ। निजामती कर्ममचारीमाझ दलगत संगठन बनाउनुहुँदैन भन्ने विषयमा आज देशकै दुई ठूला दल सकारात्मक भएसँगै दलगत विद्यार्थी संगठनमाथि पनि प्रश्नहरू उठ्न थालेका छन्।
युवा विद्यार्थीहरूले उठाउनुपर्ने मुद्दा र २१औँ शताब्दीको युवा सक्रियताको विषयमा संवेदनशील भएर मात्र जिम्मेवार राजनीतिक दलहरूले अराजतकता, निराशा र लोकप्रियतावादमा आधारित अतिवादको राजनीति गर्नेहरूलाई परास्त गर्न सक्छन्।
एक क्लिकको भरमा संसार देख्ने युवा पुस्ता छोटो समयमा आफ्नो व्यक्तिगत र व्यावसायिक विकास होस् भन्ने चाहना राख्दछ।
विद्यार्थी संगठनमा शिक्षा र विद्यार्थीकेन्द्रित मुद्दा
विद्यार्थी आन्दोलनले शिक्षा र विद्यार्थीका मुद्दामा केन्द्रित हुनु आवश्यक छ। आजको विद्यार्थी संगठनहरूले समय सान्दर्भिक पाठ्यक्रम विकासका लागि पहल गर्नुपर्ने हो। शैक्षिक पर्यटन जस्ता विषयमा अध्ययन र अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई दबाब दिनुपर्छ। शिक्षा र विद्यार्थीका धेरै मुद्दाहरू छन् जो वर्षौँदेखि विद्यार्थी संगठनका प्रमुख माग बन्न सकेका छैनन् र नयाँ मुद्दाहरू विकास हुँदैछन्।
विद्यार्थीले पढ्न जाँदा पिउने पानीको व्यवस्था र सफा शौचालयको आवश्यकता पर्छ भन्ने मुद्दा आज पनि सान्दर्भिक छ भन्दा विद्यार्थी संगठनहरू त लजाउनु पर्ने हो। पाठ्यक्रम कस्तो हुने, अध्ययन अनुसन्धान, राष्ट्रिय अन्तराष्ट्रिय सम्मेलनहरूद्वारा सहकार्य गर्ने, जर्नलहरूमा लेख छाप्ने जस्ता विषयहरू विद्यार्थी आन्दोलनले बोक्न धेरै ढिलो भइसक्यो।
विद्यार्थी संगठनहरू नेतृत्व विकास गर्ने थलो पनि हो। विद्यार्थी संगठनहरूले विभिन्न पक्षहरूसँग छलफल गरेर निर्णय गर्नुपर्ने हुन्छ। यसले लोकतान्त्रिक निर्णय गर्ने क्षमताको विकास गर्दछ। त्यस्तै विद्यार्थी संगठनहरूले आफू अध्ययन गर्ने संस्थाहरूमा विभिन्न क्लबहरू सञ्चालन गर्ने र कार्यक्रम गर्ने गर्नुपर्दछ। त्यसले समूहमा काम गर्ने क्षमताको विकास, नेतृत्व गर्ने क्षमताको विकास, तनाव व्यवस्थापनको विकास, कूटनीति क्षमताको विकास, जस्ता नेतृत्व विकासका विभिन्न आयामहरूको विकास हुने गर्दछ।
यी आयामहरूले उनीहरूलाई भविष्यमा आफू जोडिएको क्षेत्रमा नेतृत्वदायी भूमिका लिन मद्दत गर्दछ। आजको विद्यार्थी राजनीति भने मूलधारको राजनीतिमा स्थापित हुन भर्याङका रूपमा मात्र प्रयोग हुँदै आएको छ, जुन पूर्ण रुपमा गलत भने होइन तर त्यतिमा मात्र सीमित रहँदा विद्यार्थी आन्दोलनको मर्मको देहावसान पो हुने हो कि! यसकै कारण हो विद्यार्थी राजनीतिले युवाहरूलाई राजनीतिसँग जोडिराख्न सकिरहेको छैन। सही नेतृत्व विकासको कमीका कारण पपुलिजम जस्तो लोकतन्त्र विरोधी राजनीतिक दृष्टिकोणको बोलबाला हुँदै गइरहेको छ।
सीप विकास
आजका युवा र विद्यार्थीको प्रमुख आवश्यकता भनेको सीप विकास हो। आवश्यक सीपको कमीका कारण बेरोजगारी सिर्जना भइरहेको विषयमा बोल्न हामी सबै जिब्रो चपाउँछौँ। कुन कलेजमा परीक्षा केन्द्र पर्छ र पहुँचका आधारमा त्यहाँ मोबाइल चलाउन पाउने व्यवस्था गर्ने र सहज निरीक्षक राख्न पहल गर्ने विद्यार्थीहरूले लिखित परीक्षाभन्दा पनि सीप विकासका लागि आन्दोलन गरेको पाइएकै छैन। एउटा मास्टर्स गरेको विद्यार्थीले शुद्ध लेख्न, रिपोर्ट र प्रतिवेदन बनाउन, अनुसन्धान गर्न जान्दैन भने उनीहरूले रोजगारी कसरी प्राप्त गर्न सक्छन्? यस्तो अवस्थाबाट देशले दक्ष जनशक्ति कसरी पाउँछ।
युवा भनेर मात्र त हुँदैन। पुरानालाई विस्थापित गरेर आफू स्थापित हुने हो भने त सीप र क्षमता पनि त त्यही स्तरको बनाउनु पर्ने होला नि? आजको विश्वव्यापीकरणको युगमा उचित सीप विकासले देशभित्र र बाहिर सुनौलो अवसर सिर्जना गर्न सक्दछ। युवाहरूलाई पार्टी सदस्य नबनाई पनि यस्ता विषयमा काम गर्न सके स्वत: ती संगठनप्रति युवाको आकर्षण बढ्छ।
युवा विज्ञको विकास
अब राजनीतिक दलहरूले रणनीतिक रुपमा युवा विज्ञहरूको विकास गर्दै जानुपर्छ। यो कुनै एक दलको मात्र आवश्यकता होइन या कुनै एक क्षेत्रको मात्र। युवाहरूलाई क्रमसँगै विज्ञताका विभिन्न क्षेत्रमा अनुभवी विज्ञहरूको निरीक्षणमा विकास गर्न सके राजनीतिक दलहरूको सरकार सञ्चालन र सदनमा हुने कार्य सन्तोषजनक हुन सक्छ। ब्युरोक्रेसी र राजनीति फरक हुन् तर एक अर्काका सम्पूरक हुन्। विज्ञताका सन्दर्भमा राजनीतिक नेतृत्व जब सम्पूर्ण रुपमा ब्युरोक्रेसीमा भर पर्छन् तब सिर्जनात्मक परिवर्तन सम्भव हुँदैन। यस्तो अवस्थामा कर्मचारीतन्त्र राजनीतिक नेतृत्वलाई र राजनीतिक नेतृत्व क्रमचारीतन्त्रलाई आरोप लगाउनमा मात्र सीमित हुन्छन्।
राजनीतिक दलहरूले यस्तो केन्द्रको विकास गर्नु आवश्यक छ जहाँ राज्य सञ्चालनका विभिन्न विधाहरूमा अनुसन्धान र प्रशिक्षण होस्। युवाहरूमा राजनीतिक चेतनासँगै निश्चित क्षेत्रको ज्ञान पनि विकास गर्न आवश्यक छ। यसो गर्नाले ती युवाहरूले समयसँगै आफ्नो करिअरलाई अगाडि बढाउन सक्छन् र उनीहरूका लागि विश्वबजारको अवसर खुला हुन थाल्छ। राजनीतिक दलहरूले पनि आवश्यकताका आधारमा आफ्नो विचारसँग मिल्दो अर्ग्यानिक विज्ञ प्राप्त गर्छन्।
नेताले भिजन दिने हो। उसलाई सबै कुरा थाहा हुन्छ या हुनुपर्छ भन्ने हुँदैन। उसले लिने निर्णयहरू तथ्यमा आधारित हुनका लागि विज्ञहरूको आवश्यकता हुन्छ। सदनमा सांसदहरूको कार्यसम्पादन प्रभावकारी हुन पनि सम्बन्धित विज्ञहरूको सहयोग अत्यावश्यक हुन्छ। यस्ता युवा विज्ञहरूको विकासमा जोड दिनु नै आजको २१औँ शताब्दीको राजनीतिको आवश्यकता हो। 'लर्न एन्ड अर्न'को अवधारणाबाट राजनीतिमा युवा सक्रियता बढाउन सक्नु नै सोसाइटी ५.० मा राजनीतिक फड्को मार्ने रणनीति हुन सक्छ।
Shares

प्रतिक्रिया