विचार


बाहुबली नेताको मोहमा परे अमेरिकी, के ट्रम्प तिनले खोजेजस्तै नेता हुन्?

बाहुबली नेताको मोहमा परे अमेरिकी, के ट्रम्प तिनले खोजेजस्तै नेता हुन्?

गिडियन राकमन
कात्तिक २३, २०८१ शुक्रबार १०:१४,

डोनाल्ड ट्रम्प इतिहासमा साँच्चैको ऐतिहासिक राष्ट्रपतिका रूपमा चिनिने छन्। यो उनको कुनै चारित्रिक मूल्यांकन होइन। यो अमेरिकी राजनीतिलाई पूरै बदल्नमा उनले जुन स्तरको सफलता पाए, त्यसको स्वीकारोक्ति मात्र हो।

फ्र्यांकलिन रुजवेल्ट वा रोनाल्ड रेगनजस्तै उनले पनि चुनाव मात्र जितेनन् बरु नीति, विचारधारा र राजनीतिक परिदृश्यमा पनि आधारभूत परिवर्तन ल्याए। दुर्भाग्यवश, उनले षड्यन्त्रका सिद्धान्त अँगालेर र २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजय नस्वीकारेर राजनीतिक मूल्यमान्यतामा पनि ठूलो बदलाव ल्याए।

ट्रम्प लोकतन्त्रका लागि खतरा हुन् भन्ने डेमोक्र्याटहरूको आरोप उनीहरूले सोचेजति निर्णायक तर्क ठहरिएन। यस्तो हुनुको कारण अमेरिकीहरूले त्यो तर्कलाई नपत्याउनु हो। तर, प्रमाणले के देखाउँछ भने अमेरिकीहरूमा बाहुबली नेतृत्वको चाहना छ।

यही वर्षको सुरुमा लिइएको प्यु सर्वेक्षणअनुसार ३२ प्रतिशत अमेरिकीहरू अदालत र संसदले पनि अंकुश लगाउन नसक्ने बलियो नेता भए राम्रो हुन्छ भन्ने विश्वास गर्छन्। गतवर्षको अर्को सर्वेक्षणमा ३८ प्रतिशत अमेरिकी र ४८ प्रतिशत रिपब्लिकनहरूले देशमा ‘सही काम गर्नका लागि आवश्यक भए कानुन तोड्न पनि सक्ने’ नेता चाहिएको बताएका थिए।

थुप्रै अमेरिकीहरू बाहुबली नेता चाहन्छन् भन्ने सुइँको पाएर नै ट्रम्प अनेक मुद्दामा उनको पार्टीले अँगाल्दै आएको रेगनकालीन परम्परागत मान्यताहरू त्याग्न प्रोत्साहित भए। उदाहरणका लागि खुला व्यापारदेखि विश्वभर लोकतन्त्रको रक्षासम्मका विषयलाई लिन सकिन्छ। 

ट्रम्प राजनीतिमा नआउन्जेलसम्म संरक्षणवाद अपनाए चुनावमा मत पाइँदैन भन्ने आम मान्यता थियो। जसको वकालत प्याट बुकाननजस्ता स्वतन्त्र हरूवाहरूले मात्र गर्ने गर्थे। ट्रम्प कर शब्द आफूलाई मन पर्ने बताउँछ। यसले के देखाउँछ भने अमेरिकीहरू संरक्षणवादी नीतिलाई अँगाल्न तयार छन्। ट्रम्पले लागू गरेको कर बाइडेन प्रशासनले खारेज गरेन। यो दशकौँदेखिको रुढीवादलाई उल्ट्याउन ट्रम्प सफल भएको प्रमाण हो। 

ट्रम्पले रेगनको पूजा गर्दै विश्वभर लोकतन्त्र प्रबर्द्धन गर्नुपर्छ भन्ने नवअनुदारपन्थीहरूसँग पनि नाता तोडेका छन्। अफगानिस्तान र इराकमा दशकौँ लामो युद्धपछि उनको यो निर्णय चतुर राजनीतिक कदम साबित भयो। प्राज्ञिक अध्ययनहरूले देखाएका छन्, जुन क्षेत्रका सैनिकले बढी ज्यान गुमाएका छन्, त्यो क्षेत्रले ट्रम्पको समर्थन गर्ने सम्भावना ज्यादा थियो।

बुसको शासनकालमा आप्रवासीको विरोध गर्ने हो भने रिपब्लिकनहरूले स्पेनी मतदाताको मत पाउने छैनन् भन्ने मान्यता थियो। ट्रम्पले यसलाई पनि गलत साबित गरिदिएका छन्। 

ट्रम्पको विचारधारा केही मामिलामा रेगनको विचारधाराभन्दा उल्टो छ। रेगनले खुला व्यापार र सोभियत संघसँग टक्करको वकालत गरेका थिए। ट्रम्प संरक्षणवाद र भ्लादिमिर पुटिनको रुससँग सम्झौताको पक्षमा छन्। रेगनसँग अमेरिकाप्रति आशावादी दृष्टिकोण थियो। त्यसको उल्टो ट्रम्प अमेरिकाको पतन हुँदैछ भनेर निराशा व्यक्त गर्छन्। त्यस्तै, रेगन राम्रो व्यवहार भएका विनम्र व्यक्ति थिए। तर, ट्रम्प छिचरो र झगडालु छन्।

ट्रम्पले समर्थन गरेको रेगनको एउटा नीति भनेको न्यून कर र व्यवसायमाथिको पाबन्दी हटाउनु हो। रेगनको विचारधाराको यो त्यस्तो तत्व थियो, जसलाई प्रविधि र वित्त क्षेत्रका दिग्गजहरूले सबैभन्दा बढी महत्त्व दिने गरेका छन्। र, चुनावी अभियानमा लगानी गर्नेहरू पनि तिनै हुन्।

२०१५ मा पहिलोचोटि उम्मेदवारी घोषणा गरेपछि ट्रम्पले राजनीतिक व्यवहारका मापदण्डहरूको उल्लंघन गरे। जसका कारण पटकपटक उनको राजनीतिक करिअर बर्बाद हुने गलत भविष्यवाणी गरियो। उनले आफ्नै पार्टीका मान्छेहरूको उपहास गरे। तिनलाई गाली गरे। अपाङ्गता भएका व्यक्तिहरूको मजाक उडाए। महिलाहरूका बारेमा भद्दा टिप्पणी गरे। र, राष्ट्रपतीय चुनावको नतिजा नै उल्ट्याउन पनि खोजे। तर, यी कुनै कुराले उनलाई सिध्याउन सकेन। वास्तवमा, वर्जित मानिएका टिप्पणी गर्ने उनको कार्यले उनलाई फाइदा नै पुर्‍याएको हुनसक्छ।

आठ वर्षयता ट्रम्पले रिपब्लिकन पार्टीमा कब्जा जमाएका छन् र त्यसलाई आफ्नो व्यक्तिगत औजार बनाएका छन्। उनको नीति वा शैली पचाउन नसक्ने मिट रोम्नी, पौल रायन र लिज चेनीजस्ता नेताहरूले या त राजनीति छाडे, या पाखा लगाइए। कुनै समय ट्रम्पको आलोचना गरेका रिपब्लिकनहरूले पनि उनीसामु माफी मागेका छन्। ट्रम्पको उपराष्ट्रपति बन्न लागेका जेडी भान्सले एकपटक ट्विट गरेका थिए, ‘क्रिस्चियन बन्धुहरू, हामीले यो मान्छेका लागि माफी माग्दै गर्दा सबैले हामीलाई नै हेरिरहेका छन्। ईश्वरले हामीलाई सहयोग गरून्।’ पछि उनले माफी मागे, ईश्वरसँग होइन, ट्रम्पसँग।

‘मेक अमेरिका ग्रेट अगेन’ लाई रिपब्लिकन पार्टीले मात्र होइन, सिंगो अमेरिकाले नै अपनायो– कमला ह्यारिसविरुद्ध ट्रम्पको जितलाई यही कुराको प्रमाण मानिने छ। ट्रम्पका समर्थकहरूले अवैध आप्रवासीको सामूहिक निष्कासन, कर कटौतीदेखि ‘डिप स्टेट’को सफायासम्मका नीतिमा तुरुन्त प्रगतिको माग गर्न सक्ने छन्।

हो, ट्रम्पको राजनीतिक सफलतालाई नकार्न सकिन्न। तर, उनले प्राप्त गरेको जनादेशको ज्यादा व्याख्या गर्नु गल्ती हुनेछ। पश्चिमभर सत्ताविरोधी भावना बलियो छ। किनकि मतदाताहरू मुद्रास्फिति, आप्रवासन र सांस्कृतिक परिवर्तनसँग जुधिरहेका छन्। सोही भावनाका कारण बेलायतमा कन्जरभेटिव पार्टी सत्ताबाट बाहिरियो। फ्रान्समा इम्यानुएल म्याक्रोँले बहुमत गुमाए र अहिले जर्मन सरकार पतन भएको छ। अमेरिकामा पनि लगातार तेस्रोपटक सत्तामा रहेको पार्टीले चुनाव हारेको छ।

निराश अमेरिकी मतदाताहरूले अहिले एक स्वघोषित बाहुबली नेतामा भरोसा टिकाएका छन्। ट्रम्प उनीहरूको प्रार्थनाको जवाफ हुन् वा एक जीवित दुःस्वप्न, आगामी चार वर्षमा उनीहरूले थाहा पाउने छन्।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad