विचार


यसपालिको दसैँमा काम पनि बाँडौँ, खुसी पनि बाँडौँ

यसपालिको दसैँमा काम पनि बाँडौँ, खुसी पनि बाँडौँ

शोबिता रिसाल
असोज २१, २०८१ सोमबार ७:२६, काठमाडौँ

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा।
 

कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितांशले दसैँ सम्झाउँछ। अथवा यसो भने पनि हुन्छ– दसैँ आयो कि पौड्यालको यो कविता सम्झनामा आइहाल्छ। सायद मजस्तै धेरैलाई पौड्यालको यो कविता र दसैँ पर्याय लाग्छ होला। बाल्यकालमा पाठ्यक्रममा नै यो कविता पढेकाले पनि होला खास लाग्ने। 

तर पौड्यालको कवितामा भनिएजस्तो यसपालिको दसैँमा सारा हिलो मैलो हट्नेवाला छैन। कारण वर्षा हराएको छैन। मौसमविद्को भाषामा भन्ने हो भने मनसुन बाहिरिएको छैन। असोज दोस्रो साताको उच्च वर्षाले पूर्वी र मध्य नेपालमा डुबान, बाढी र पहिरोले कयौँको ज्यान गयो। कतिले घरबार गुमाउनु पर्‍यो। दसैँ मनाउन घर हिँडेकाहरू बाटैमा अलपत्र परे। कोही घर पुग्नै पाएनन्, कोही ढिला गरि पुगे। रित अनुसार भवानीको पूजा अर्चना चलिरहेको भएपनि यसपालिको दसैँले आनन्दको वर्षा भने त्यति गराउन सकेको छैन। आश गरौँ अब मौसममा सुधार आउला, दसैँ रमाइलो र घमाइलो बन्ला। 

खैर, वर्षदिनको चाड त मनाउनै पर्‍यो। हिन्दु नेपालीहरूको ठूलो चाड बडादसैँको महिमा जति छ, रहर पनि उत्तिकै लाग्छ हामीलाई। जसरी बालबालिकाहरू एउटा जन्मदिन सकिएलगत्तै अर्को जन्मदिन कुरेर बस्छन्, लगभग लगभग हामी नेपालीहरू एउटा दसैँ सकिएपछि अर्को दसैँ कुरेर बस्छौँ। किनकि हामीलाई दसैँ मन पर्छ। दसैँको माहौल मन पर्छ। पिङ खेल्न मन लाग्छ, खानपिउन मन लाग्छ। घटस्थापना रमाइलो लाग्छ, फूलपातीको रमझम गज्जब लाग्छ, टीका जमरा मन पर्छ। निधार रातै बनाएर, कानमा झपक्कै जमरा सिउरिएका फोटो, भिडिओ खिच्न रहर लाग्छ। तथापि, दसैँमा साबिकको भन्दा कयौँ गुणा खर्च बढ्छ। तर त्यसको परवाह हुँदैन, हुन्छ त केवल पारिवारिक खुसीको। 

विजयादशमी यस्तो पर्व हो, जसले छुट्टिएका आफन्त भेटाइदिन्छ। वर्षौँ परदेशिएकाहरू दसैँमा घर सम्झिएर फिर्छन्। जिम्मेवारी र कामले परिवार छोडेर टाढा बस्नुपरेकाहरू आफ्नै गुँड फर्किन्छन्। वर्षभरिको छुट्टी दसैँकै लागि साँचेर बस्छन् कामकाजीहरू। दसैँमा नै खर्च गर्न भनेर वर्षभरिको कमाइ समेत बचाउँछन् नेपालीहरू। छुटिएर बसेकाहरू समेत एउटै भान्छा गर्छन्। लाउँछन्, खान्छन्, खेल्छन्, रमाउँछन्। वास्तवमा दसैँ रमाइलो पर्व हो। खेतबारीको काम, कार्यालयको काम, व्यापार व्यवसायको काम, पढ्ने काम, पढाउने काम सबैसबै ठप्प हुन्छन्, ८/१० दिन। स्वास्थ्य संस्था, सञ्चा माध्यम तथा केही अत्यावश्यक कार्यालय सञ्चालन हुन्छन्, त्यो अलग्गै कुरा। नभए दसैँका हप्तादस दिन खानपिन, बस्न र रमाउनकै लागि छुट्याइन्छ। 

सरकारले नै दसैँ मनाउन छुट्टी दिने भएकाले पनि धेरैलाई फुर्सद हुन्छ। नभएकाले पनि आलोपालो गरेर निकाल्छन् समय। जे हुन्छ, दसैँमा गज्जब हुन्छ। तर, मैले चर्चा गर्न खाजेको दसैँको मात्रै होइन, रातो टीका र जमराको मात्रै पनि होइन। माछामासुको मात्रै होइन, दसैँसँगै जोडिएर आउने कामको हो। जिम्मेवारीको हो, जिम्मेवारी बाँडफाँटको हो। अनि, दसैँसँगै जोडिएर आउने खुसीको हो। 

भनिहालेँ दसैँ मात्रै यस्तो चाड हो, सकेसम्म सबै परिवार एकै ठाउँमा जम्मा भएर खाने, पिउने हुन्छ। परिवार एकै ठाउँमा बस्नु, खानु त रमाइलो कुरा हो। तर परिवार भित्र पकाउने, तुल्याउने, खुवाउने, भाँडावर्तन सरसफाइ पूरै जिम्मा घरका महिला सदस्यको टाउकोमा मात्रै आउँछ। यो चाहिँ रमाइलो माहौलमा टुप्लुक्क आइपुग्ने थोरै दिक्कलाग्दो कुरा हो। तपाईंलाई त्यस्तो लागेन? भनिरहनु पर्दैन, दसैँमा घर सरसफाइदेखि शृंगारपटारसम्मको जिम्मा महिलाकै हुन्छ। खसी, बोका, माछा, मासु, खाद्यान्नको जोहो महिलापुरुष सकेसम्म मिलेरै गरे पनि पकाउने, तुल्याउने र सबैलाई पुर्‍याउने जिम्माचाहिँ महिलाको मात्रै! 

एकदिन कुरैकुरामा एकजना साथीले भनिन्– ‘वर्षदिनको चाड मनाउन त रमाइलो। तर पकाउने, खुवाउने, चिल्ला भाँडा माझ्ने, घरको सरसफाइदेखि गोठसम्मको काम त्यसमाथि बच्चाको रेखदेख......सबै सम्झिँदा त घरै पनि जाऊँ कि नजाऊँ हुन्छ।’ उनी घरकी कान्छी बुहारी। दुई जेठाजु, दुई जेठानी, छारोछोरी, सासू, ससुरा। त्यसमाथि दसैँमा भाइभाइका परिवार पनि सँगै खाने, बस्ने चलन। साथमा चार वर्षको आफ्नो नानी। ‘बिहान घाम उदाएदेखि पकाउने, खुवाउने र चिल्ला भाँडा माझ्ने मात्रै गर्दा ढाड भाँचिएजस्तै हुने। उभिनै मुस्किल हुन्छ, एकछिन आराम गर्न र मन लागेको तरिकाले खान बस्न पनि समय हुन्न,’ उनी सुनाउँछिन्। 

‘अनि श्रीमानले सघाउनुहुन्न?’ म सोध्छु। 

‘एक्लै हुँदा अरु बेलामा त सघाउनुहुन्छ, दसैँको समयमा त वल्लोपल्लो घर डुल्दै र तास खेल्दैमा कहाँ फुर्सद हुन्छ र? फुर्सदै भए पनि सघाइदिनु न भने त एकैछिन एउटा काम सघाइदिनुहुन्छ, फेरि उस्तै! एउटा मात्रै काम भए पो सघाएर पनि सकिन्छ!’ उनी भन्छिन्।  

अब तपाईं भन्नुहोला– आफ्नै घर, आफ्नै परिवार, आफ्नै इष्टमित्र बोलाएर दुईचार छाक खाँदा/खुवाउँदा पनि के को कामको चाप? एकजनालाई मात्रै हो र? सबैलाई उस्तै हो। दसैँको बेला नखाए कहिले खाने? दसैँको बेला नखेले कहिले खेल्ने? दसैँमा नबोलाएको इष्टमित्र कहिले बोलाउने? दसैँको बेलामा अलिअलि कामको चाप नपरे कहिले पर्छ? अनि २/४ दिन काम गर्नुपर्दा पनि गुनासो? वर्षाँैदेखि यसैगरि चलिरहेकै छ त? खै, कसैले गुनासो गरेको छैन त। तर होइन नि, परम्परादेखि नै दसैँमा हुने पारिवारिक कामको चाप महिला मात्रैले सम्हाल्दै आएकाले तपाईंलाई सामान्य लागेको हुन सक्छ। दसैँमा थपिएको कामको बोझबारे तपाईंको परिवारमा पनि महिला सदस्यको गुनासो छ कि! अब भने सोध्नुहोला, सुन्नुहोला। र, सकेको सहयोग गर्नुहोला। 

जहाँ छ त्यहीँ (घरै) बसिरहेकालाई होस् वा दसैँ मनाउन सहर–बजारबाट घर फर्किएकाहरूलाई। वा दसैँ मनाउन भनेर विदेशबाटै आएकाहरूलाई। बसिरहेको परिवारभन्दा दुईचारजना थपिँदा यसै पनि कामको मेसो मिल्दैन। कसले के खान्छ, कसलाई के मन पर्छ थाहा हुँदैन। त्यसमाथि बिहानैदेखि चियानास्ता। कसैलाई चिनी हालेको, कसैलाई हाल्दै नहालेको, कसैलाई ट्वाक्क चिनी र मरिच मिसाएको चिया। कोही दूधचिया मन पराउने, कोही फिक्का। कसैलाई नुनमसला टक्क मिलाएको खाजा, कसैलाई सादा। बालबालिकालाई उमेर अनुसार दूध, लिटो तयार गरेर खुवाउनु त छँदैछ। 

यति सकेर बस्तुभाउको सेवा। घाँस दाउरा, मेलापात। त्यसपछि फेरि भातभान्छा। कोही मासु खाने, कोही नखाने, कोही चिल्लोपिरो मिलेको टक्क मीठो नभए रुच्दैन भन्ने। कसैलाई फेरि स्वास्थ्यका कारण खान नमिल्ने। एकै भान्छामा थरीथरीका परिकार पकाउन व्यस्त हुन्छन् महिलाहरू। एउटा पकवान पाक्न पाएको छैन, अर्कोको लागि भाँडा बसालिहाल्नुपर्छ। भाँडाकुडा, सरसफाइ। बिहानदेखि टुसुक्क बस्न नपाउँदै फेरि दिउँसोको खाजा। माछा मासु, भुटेको, साँधेको, छोयला, भुटन, चिसो, तातो। चिउरासँग खाने कि पेय पदार्थसँग, सबैका इच्छा अनुुसारले पकाउँदै खुवाउँदै, फेरि पकाउँदै खुवाउँदै। दसैँसहित चाडबाडको समयमा यस्तो देखिन्छ– मानौँ महिलाहरू मेसिन नै हुन्, उनीहरू अर्डर अनुसार पकाउँदै पस्कँदै गर्छन्। तर पुरुषहरू सरसामग्री जोहो गरिदिएर ढुक्कैले खाएर, खेलेर, घुमेर बिताइदिन्छन्। केहीको घरमा बाहेक सबैको घरमा महिलालाई कामैकाम, पुरुषलाई आरामै आराम हुन्छ। 

हामी घरबाहिर हुने लैङ्गिक असमानताबारे कुरा उठाउँछौँ। तर घरभित्रका काममा हुने असमान बोझलाई नजरअन्दाज गरिदिन्छौँ। मानौँ एकैछिन लामो सास तान्ने समेतको फुर्सद ननिकाली परिवारका सदस्यलाई खुवाउने, पियाउने र खुसी बनाउने काम महिलाको मात्रै हो। तर अब दसैँ लगायत चाडबाडमा कामको विषयलाई लिएर हुने लैङ्गिक असमानता हटाउनुपर्छ। घरबाहिरका हरेक काम गर्नमा महिलाहरू सक्षम छन्, अब्बल छन्, अग्रणी रूपमा आफ्नो जिम्मेवारी सम्हालिरहेका छन्। यससँगै काममा हुने भेदभाव विस्तारै कम हुँदैछ। त्यसैगरी घरभित्रको काममा पनि पुरुषले आफ्नो जिम्मेवारी बोध गर्ने हो भने, जिम्मेवारी लिने हो भने महिलालाई धेरै सजिलो हुन्छ। हल्का हुन्छ। चाडबाडमा घर नजाउँजस्तो होइन, छिटो जाउँजस्तो हुनसक्छ। 

धेरै केही गर्नुपर्दैन, दिनभरि भान्छाको तापले रातो अनुहार भइसकेको श्रीमतीलाई सोध्न सक्नुहुन्छ– मैले के गरौँ? उनले केही पर्दैन नै भनिन् भने पनि काटकुट गर्ने, मरमसला बनाइदिने, खाना तयार गर्ने, भुट्भाट्मा सघाइदिनुस्। मिलीमिली पकाएर सँगै मिलेर बसेर खाँदाको स्वादै अर्को हुन्छ। बाटाभरि चिल्ला भाँडा लिएर एक्लै माझ्न तम्सिएकी छोरीलाई छेउमा बसेर पखाल्न सघाइदिनुस्। खानपानपछि घर भान्छाको सरसफाइ, पुछपाछमा सहयोग गरिदिनुस्। एक्लै घरगोठ गरिरहेकी बुहारीलाई घाँसदाउरा, गोबर, सोत्तरमा थोरै भए पनि सहयोग गरिदिनुस्। 

काम आधाआधा बाँड्नुस्। घरधन्दा होस् कि बाहिरको। कोही फुर्सदमा खाने र बस्ने अनि कोही काममा दलिने नगरी सबैले गरे घरको काम समयमै सकिन्छ। काम सकिएपछि महिलापुरुष, छोराछोरी, हजुरबुवा, हजुरआमा, नातिनातिना सबै सँगै बसेर खानुस्, खेल्नुस्। पालैपालो सबैको कुरा सुन्नुस्, सुनाउनुस्, तब पो दसैँ आएजस्तो हुन्छ। अनि पो खुसी पनि बराबरी बाँडिन्छ। होइन भने त दसैँ पुरुषहरूलाई मस्ती, महिलाहरूलाई सास्ती जस्तो मात्रै हुन्छ। नवरात्रीभरि नवदुर्गालाई पुज्ने अनि आफ्नै घरका देवीहरूलाई चाहिँ काममा मात्रै दलाउने? यो बिलकुलै सुहाउने कुरा भएन। मिल्दो कुरा भएन। महिलालाई सम्मान र प्रेम गर्नुस्, सुखदुःख, खानपान, रमाइलो हरेक कुरामा समान दर्जा दिएपछि तपाईंको घरमा यसै खुसियाली छाउँछ। खुसी आएपछि सुख त्यसै आउँछ।  

यसपालिको दसैँ रमाइलो बनाउन तपाईं घरको माहौल रमाइलो बनाउनुस्। घरको माहौल रमाइलो बनाउन काम बाँडफाँट गर्नुस्। जिममेवारी भाग लगाउनुस्। घरको काम मिलेर गर्नुस्। त्यसपछि घरमा रमाइलो आउने छ, खुसीयाली छाउने छ। दसैँको हार्दिक शुभकामना!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad