हेनरी किसिन्जरलाई प्रतिभाशाली कूटनीतिज्ञ मानिन्थ्यो। उनको यस्तो प्रतिष्ठा एउटै उपलब्धिले निर्माण गरेको थियो। त्यो उपलब्धि हो– १९७० को दशकको अमेरिका–चीन मेलमिलाप।
पहिले एकदमै गोप्य तरिकाले वार्ता गरेपछि दुनियाँलाई चकित तुल्याउनेगरी सार्वजनिक भएको अमेरिका–चीन मेलमिलापको सम्झौताले शीतयुद्धको ढाँचा नै परिवर्तन गरिदियो। अचानक सोभियत संघ एक्लो देखिन थाल्यो।
त्यो घटनाको सम्झना अझै पनि अन्तर्राष्ट्रिय राजनीतिमा भइरहन्छ। २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि थुप्रै पश्चिमा सरकारहरूले सोही चाल दोहोर्याउने कोसिस पनि गरे। उनीहरू रुसका भ्लादिमिर पुटिन र चीनका सी चिनफिङबीचको ‘असीमित’ साझेदारी तोड्न चाहन्थे।
तर, मस्को र बेइजिङबीच फुट ल्याउने उडन्ते कुरामा समस्या छन्। कुन देशलाई लोभ्याउने भन्नेबारे पश्चिमाहरूबीच नै मतभेद छ। युरोपेली मुलुकहरू आशा गर्छन्– युक्रेनका विषयमा पुटिनसँग कडा रवैया अपनाउन सीलाई मनाउन सकिन्छ। अर्को शब्दमा भन्नुपर्दा उनीहरूको लक्ष्य हो– रुसलाई एक्ल्याउनु।
तथपि, वासिङ्टनमा के सर्वसम्मति छ भने चीन रुसभन्दा खतरनाक र दीर्घकालीन शत्रु हो। कतिपय अमेरिकी रणनीतिकारलाई चिन्ता छ– कतै रुस लखेटिएर चीनको अँगालोमा पुग्ने त होइन! त्यसो भयो भने त विश्वको शक्ति सन्तुलन बेइजिङको पक्षमा ढल्किने छ!
लामो समयदेखि चीनको प्रशंसा गर्दै आएका किसिन्जरको विचार पनि यस्तै थियो। मृत्यु हुनुभन्दा केही समयअघि उनले मलाई बताएअनुसार रुस कमजोर भए ऊ चीनको ‘स्याटलाइट’ बन्ने चिन्ता किसिन्जरलाई थियो। त्यसको नतिजा के हुन्थ्यो भने बेइजिङको प्रभावक्षेत्र वार्सा (पोल्यान्ड)बाट केही सय माइलको दुरीसम्म फैलिन जान्थ्यो।
दोस्रो पटक चीन–रुस विभाजन गराउन सके यस्तो चिन्ताको समाधान हुने थियो, सिद्धान्ततः। दुर्भाग्यवश, त्यस्तो खालको भूराजनीतिक चाल व्यवहारमा सफल हुने सम्भावना छैन। कमसेकम निकट भविष्यमा। गतसाता बेइजिङ भ्रमणका क्रममा भएको पुटिनको न्यानो स्वागत चीन–रुस बलियो सम्बन्धको प्रमाण हो।
सी–पुटिन सम्बन्ध मजबुत छ। किनभने यो उनीहरूको साझा विश्व दृष्टिकोणमा आधारित छ। दुवै यस्ता निरंकुश राष्ट्रवादी नेता हुन्, जसले अमेरिकालाई मुख्य खतरा देख्छन्। पुटिनको चीन भ्रमणका क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा दुवै नेताले रुस र चीनलाई लक्षित गरेर अमेरिकाले ‘दोहोरो नियन्त्रण’ को नीति अख्तियार गरेको आरोप लगाएका छन्। साथै ‘प्रभुत्ववादी’ व्यवहार पनि देखाएको उनीहरूको आरोप छ।
मस्को र बेइजिङ मान्छन्– अमेरिका शत्रुतापूर्ण सैन्य गठबन्धन गरेर रुस र चीनलाई घेर्ने प्रयास गरिरहेको छ। त्यसका लागि युरोपमा नेटो गठबन्धन छ भने इन्डो–प्यासिफिकमा अमेरिकाले जापान, दक्षिण कोरिया, फिलिपिन्स र अस्ट्रेलियासँग द्विपक्षीय गठबन्धन गरेको छ।
निस्सन्देहः युरोप र एसियामा यति धेरै अमेरिकाका सहयोगी हुनुको कारण रुस र चीनले आफ्नो छिमेकीमा उत्पन्न गरेको डर हो। तर, यो यथार्थलाई स्वीकार्न पुटिन र सी अनिच्छुक देखिन्छन्। बरु, विस्तारवादी अमेरिकाबाट आफ्नो रक्षा गरिरहेको उनीहरूको मत छ। हुनसक्छ, उनीहरूलाई वास्तवमै यस्तो विश्वास छ।
आफ्ना वरिपरिका अमेरिकालाई सहयोग गर्ने मुलुकहरूलाई रुस र चीन शंकाको नजरले हेर्छन्। तर, एकअर्कालाई भने धेरै हदसम्म विश्वसनीय छिमेकीका रुपमा व्यवहार गर्छन्। उनीहरूबीच लामो सीमा छ। त्यसैले अमेरिका र उसका सहयोगीको ‘दोहोरो नियन्त्रण’ को नीति असफल तुल्याउन पनि यी दुई मुलुकले मित्रवत् सम्बन्ध कायम राख्नु महत्वपूर्ण देखिन्छ।
बेइजिङको नजरबाट हेर्दा रुसको हारले चीनलाई एक्लो पार्ने खतरा छ। रुसविरुद्ध खडा हुन चीनलाई अमेरिकाले गरेको प्रस्ताव कस्तो खालको हो भन्ने विषयमा एक चिनियाँ कूटनीतिज्ञले व्यंग्यपूर्वक भनेका थिए– ‘कृपया तपाईंको सबैभन्दा निकट सहयोगीलाई हराउन हामीलाई मद्दत गर्नुहोस्। ताकि त्यसपछि हामी तपाईंमाथि जाइलाग्न सकौँ।’
यसै तरिकाले पुटिनलाई पनि थाहा छ– युक्रेनमा युद्ध जारी राख्न रुसलाई चिनियाँ समर्थन अपरिहार्य छ।
यस्तो पारस्परिक निर्भरताको अर्थ के हो भने मस्को र बेइजिङ एकसाथ रहिरहने छन्। चाहे उनीहरूको बीचमा जतिसुकै तनाव किन नहोस्।
निस्सन्देहः उनीहरूबीच तनाव छ। विश्वदृष्टिकोण समान भए पनि रुस र चीन एकदमै फरक भूराजनीतिक परिस्थितिमा छन्। पुटिनले रुसलाई पश्चिमबाट बहिष्कृत राज्य बनाएका छन्। त्यसविपरीत चीन भने अमेरिका र युरोप दुवैका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक हो।
यी दुई मुलुकबीच रहेको यही फरकले रुसलाई त्यस्ता जोखिम मोल्न पनि इच्छुक तुल्याउँछ, जसलाई चीन दुस्साहस मान्छ। हालैको मेरो बेइजिङ भ्रमणका क्रममा केही चिनियाँ विश्लेषकहरूले के बताए भने रुस र उत्तर कोरियाबीचको बढ्दो सैन्य निकटताले उनीहरू असहज छन्। उनीहरूको एउटा चिन्ता थियो– उत्तर कोरियाली तोपका गोलाको बदलामा रुसीहरूले मूर्खतापूर्वक उन्नत र आधुनिक सैन्य प्रविधि किमको शासनलाई हस्तान्तरण गरिरहेका छन्।
दीर्घकालीन हिसाबले चीनमा बढ्दो निर्भरता र उनीहरूबीचको बढ्दो शक्तिको असन्तुलनलाई लिएर मस्को पनि चिन्तित हुनुपर्छ। रुसीहरूलाई राम्रैसँग थाहा छ, १९औँ शताब्दीमा चीनले हजारौँ वर्गकिलोमिटर क्षेत्रफल रुसलाई छाडेको थियो। तर, हालैका चिनियाँ नक्साहरूमा केही रुसी सहरलाई तिनको पुरानो चिनियाँ नाम राखिएको छ। यसलाई पनि मस्कोले ख्याल गरेकै होला।
तथापि, यी सारा तनाव सतहभन्दा तल छन्। १९७१–७२ को परिस्थिति र अहिलेको अवस्थामा यही फरक छ। उतिबेला चीन–सोभियत विभाजन खुल्लमखुला थियो। जसले निक्सन र किसिन्जरलाई चीनलाई फकाउने स्पष्ट अवसर दियो।
१९७० को दशकमा त्यही अवसरको फाइदा उठाउन पनि अमेरिकाले धेरै अडान छाड्नुपर्यो। सबैभन्दा बढी ताइवान मामिलामा। आज दोस्रो पटक रुस–चीन गठबन्धन भत्काउन त्यसभन्दा कठिन नीतिगत परिवर्तन आवश्यक हुनसक्छ। ताइवान वा युक्रेनका सवालमा। र, त्यस्तो चाल चल्ने इच्छा वासिङ्टनमा देखिँदैन। कमसेकम अहिलेसम्म।
(फाइनान्सियल टाइम्सबाट)
Shares
प्रतिक्रिया