ad ad

समाज


मुक्त कमैया पुनर्स्थापनाको बाँकी काम अघि बढाउन नेताहरूको ध्यानाकर्षण

मुक्त कमैया पुनर्स्थापनाको बाँकी काम अघि बढाउन नेताहरूको ध्यानाकर्षण

मुक्त कमैया/ फाइल फोटो


नेपालखबर
जेठ ९, २०८१ बुधबार १८:६, काठमाडौँ

मुक्त कमैया महिला विकास मञ्च, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ, कमलरी, हरवाचरवा तथा मुक्त कमैया समाजलगायत संस्थाले न्यायिक पुनःस्थापनाका बाँकी काम तत्काल अगाडि बढाउन आग्रह गरेका छन्।

आज नेकपा (एकीकृत समाजवादी) संसदीय दलको कार्यालय सिंहदरबारमा नेताहरूलाई ज्ञापनपत्र बुझाउँदै ती संस्थाका प्रतिनिधिहरूले पुनःस्थापना हुन बाँकी रहेका मुक्त हलियाहरूको समस्या समाधान गर्नुपर्ने, विसं २०६५ साल भदौ २१ गते नेपाल सरकार मुक्त हलिया महासंघबीच भएको पाँच बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, तत्थ्याङ्क सङ्कलनका क्रममा छुटेका मुक्त हलिया, कमैया तथा कमलरी, हरवाचरवाहरूको तथ्याङ्क सङ्कलन गर्नु पर्ने मागमा सहजीकरणका लागि आग्रह गरेका हुन्।

मुक्त हलिया आन्दोलनकर्मी गोरख सार्कीले आफ्ना माग सम्बोधनका लागि सरकारलाई ध्यानाकर्षण गराउन काठमाडौँ आएका र त्यसक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई सहयोगका लागि आग्रह गरिरहेका बताए।

उनले भने, ‘हाम्रा माग सम्बोधन र बजेट व्यवस्थापनका लागि आग्रह गर्न हामी काठमाडौँ आएका छौँ। त्यसक्रममा राजनैतिक दल नेता तथा सांसदहरूको ध्यानाकर्षण गराउने योजनाअनुसार आज एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सांसद प्रेमबहादुर आलेलगायत नेतालाई ज्ञापनपत्र बुझाएका छौँ। अब प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।’

टोलीले आजै एकीकृत समाजवादीका प्रमुख सचेतक तथा सांसद मेटमणि चौधरीलाई भेट गरी ज्ञापनपत्र पेश गरेको हलिया महासंघका इश्वर सुनारले बताए।

उनले भने, ‘हामीले आज एकीकृत समाजवादीका प्रमुख सचेतक र नेतालाई भेटर आफ्ना मागबारे ज्ञापनपत्र पेश गरेका छौँ, उहाँहरुले आफुले सक्ने सहयोग गर्ने आश्वासन दिनु भएको छ। अब यसैगरी अन्य नेताहरुलाई पनि ध्यानाकर्षण गराउँछौँ।’

ज्ञापनपत्र बुझाउनका लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा मधेस प्रदेशका मुक्त कमैया महिला विकास मञ्च, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ, कमलरी, हरवाचरवा तथा मुक्त कमैया समाजका पदाधिकारीहरूको टोली काठमाडौँमा आएको मुक्त कमैया महिला विकास मञ्चकी सिमा चौधरीले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .