इतिहासलाई हेर्ने हो भने विश्व कम्युनिस्ट आन्दोलनमा गीत–संगीत र साहित्यको ठूलो भूमिका छ। नेपालमा कम्युनिस्ट आन्दोलन मात्र होइन, हालसम्मका राजनीतिक रुपान्तरणमा पनि जनपक्षीय गीतसंगीतले खेलेको भूमिका जगजाहेर छ। १० वर्षे माओवादी जनयुद्धका बेला अझ धेरै यस्ता गीत–संगीत जन्मिए।
नेपालमा प्रतिरोधी गीत–संगीतको इतिहास लामो छ। पञ्चायतकालमै राल्फाअन्तर्गत रामेश–रायन तथा जेबी टुहुरे र जीवन शर्माहरुले जागरण गीतको जग बसाउनुभएको थियो। ती गीतले जमिनदारविरुद्ध किसानलाई जगाउने, विद्यार्थीहरुमा नयाँ चेत भर्ने काम गरे। जसको जगमा नेपालमा अनेकौँ आन्दोलन भए। ०३६ सालको विद्यार्थी आन्दोलन, किसान आन्दोलन र ०४६ को आन्दोलन त्यसैका उदाहरण हुन्।
०४६ सालको जनआन्दोलनपछि जागरण गीतलाई अघि बढाउने मूल राजनीतिक शक्ति संसदीय राजनीति गर्न थाल्यो। तसर्थ त्यस्तो संगीतको विरासतलाई तत्कालीन माओवादीले अपनायो। जनयुद्धमा सामन्तवाद र साम्राज्यवादविरुद्ध अर्थात् खासगरी राजतन्त्र र वैदेशिक हस्तक्षेपविरुद्ध गीत लेखिन थाले।

वास्तवमा जनयुद्धलाई आम जनतामा स्थापित गर्ने काममा संगीतको महत्वपूर्ण हात थियो। युद्धलाई दमन गर्न तत्कालीन सरकारले निर्मम हस्तक्षेप गर्यो। त्यसविरुद्ध प्रतिरोधको आवाज र चेतलाई यस्ता गीतले अझै धेरै अगाडि बढाए। दमनमा परेका बेला नेता–कार्यकर्ता र जनताको मनोविज्ञान कमजोर हुन दिएन। यस्ता गीतले आशाको दियो बालिरहे, सुन्दर भविष्यको सपना देखाइरहे, लड्न हिँडेकाहरुलाई अर्को पाइला चाल्ने उर्जा दिइरहे।
जनयुद्ध एउटा ठूलो आन्दोलन थियो। त्यसमा ठुल्ठूला बलिदान र उत्सर्ग भए। वीरताका उदाहरण प्रस्तुत गरिए। ती सबैलाई गीत–संगीत र साहित्यमा उतारेर लेखक कलाकारले जनयुद्धलाई स्थापित गरे।
युद्धलाई आम मानिससँग जोड्ने काम पनि त्यसबेलाको प्रतिरोधी गीतसंगीतले गर्यो।
जनयुद्धमा गीत–संगीतको महत्व कति थियो, त्यसलाई बुझ्न माओवादीमा कति सांस्कृतिक टोली थिए भन्ने जान्न आवश्यक छ। हरेक जिल्लामा सांंगीतिक टोली गठन गरिएको थियो। क्षेत्रीय र केन्द्रीय तहमा पनि ठुल्ठूला सांस्कृतिक परिवार थिए। जनमुक्ति सेनामा पनि बटालियन तहसम्म यस्ता टोली थिए। सांस्कृतिक फौज भनेरै गठन गरिएको थियो, त्यस्ता समूह। माओवादीका अधिकांश कार्यक्रममा गीत–नृत्य, सडक नाटक, आदि प्रस्तुत गरिन्थे।
यो प्रक्रियामा एकदमै राम्रा कलाकार पनि निस्किए। जसमध्ये थुप्रैले युद्धमै ज्यान गुमाउनुपर्यो। दुई वर्षअघि बित्नुभएका खुसीराम पाख्रिनले धेरै राम्रा गीत लेख्नुभयो। त्यसैगरी माइला लामा, झंकार बुढा, विद्रोहीका गीतले सयौँ मानिसलाई युद्धमा होमिन प्रेरित गर्यो। मस्त विष्ट, कृष्ण सेन, डीबी थापा र शिव श्रेष्ठले थुप्रै राम्रा गीत लेख्नुभयो। उहाँहरुले युद्धमै ज्यान गुमाउनुभयो।
यस्ता कलाकारका गीतले युद्ध सुरु भएपछिको नयाँ यथार्थलाई अभिव्यक्त गर्थे।

सशस्त्र संघर्षमा पनि सांस्कृतिक मोर्चा अग्रभागमै थियो। माओवादीले घोषणै गरेको थियो–बन्दुक, कलम र कुचीको संयोजनले मात्र युद्ध जित्न सकिन्छ। यी तीनै पक्षको एकता नै प्रतिरोधी आन्दोलन हो।
जनयुद्धमा गीत–संगीतले किन यति धेरै महत्व पायो त? किनभने राजनीतिक क्रान्ति वा युद्धलाई अघि बढाउने काम संगठनले गर्छ। तर, त्यसलाई आम मानिससम्म पुर्याउन राजनीतिक कार्यकर्ताको समूह र लडाकु फौज मात्र भएर पुग्दैन। लेखक, कवि, कलाकारले युद्धको सन्देशलाई जनतासम्म पुर्याउने मात्रै होइन, पार्टीभित्रैका खराबीहरुविरुद्ध लड्ने चेतना पनि दिन्छ। समग्रमा विचारलाई अगाडि बढाउन यस्ता मोर्चाहरुले सघाए। माओले पनि छापामार सेना र सांस्कृतिक मोर्चाको अवधारणा अघि सारेका थिए। क्रान्ति गर्न मात्र होइन, क्रान्ति सकिएपछि प्रतिक्रान्तिलाई रोक्न पनि यसले भूमिका खेल्न सक्छ भन्ने उनको ठहर थियो।
तसर्थ माओवादी जनयुद्धमा यसले ठूलो महत्व पायो।
जनयुद्धमा पार्टी नेतृत्वको वैचारिक सन्देशलाई आम जनतासम्म पुर्याउने काम गीतसंगीतले गरेको थियो। उदाहरणका लागि पार्टीमा जनयुद्धका समग्र विचारलाई प्रचण्डपथ भनेर संश्लेषित गरियो। त्यो जटिल वैचारिक संश्लेषणलाई मैले लेखेको ‘मार्क्सवादको बाटो, लेनिनवादको बाटो’ भन्ने गीतले सजिलोगरी आम मानिसलाई बुझाउन भूमिका खेल्यो।
युद्धमा सिर्जनाको काम सजिलो पक्कै थिएन। ती गीत आनन्दले बसेर रचिएका थिएनन्। बरु, हिँड्दै, डुल्दै, लड्दै गर्दाका दुःख, वेदना, विरक्ति, उत्साहबाट जन्मिएका थिए।
घटनाहरुले प्रभावित पाथ्र्यो। सम्मेलन, बैठक हुन्थे। त्यसलाई मध्येनजर गरेर लेखिन्थ्यो। सहिद र छापामारलाई हेरेर गीत लेखिन्थ्यो।
त्यसलाई जसोतसो संगीतबद्ध गरेर सहर लगेर रेकर्डिङ गर्ने, क्यासेट बनाउने काम हुन्थ्यो।
तर, पछिल्लो समय माओवादी आन्दोलन सम्झौतामा टुंगिसकेपछि ती गीतलाई बेवास्ता गर्न थालिएको छ। युद्ध समाप्तिपछि लेखक, कवि, कलाकारलाई जुन रुपले संगठित गरिनुपथ्र्यो, त्यो भएन। सांस्कृतिक टोली छिन्नभिन्न भए। मानिसहरु छरिए।
माओवादी जनयुद्धकालीन गीतः चम चम गर्ने खुकुरी धार लाउने बेला भो ... मा नृत्य गर्दै कलाकार
त्यसबेलाका कतिपय कलाकार अहिले दोहोरीमा गीत गाएर जीवन धान्न थाल्नुभएको छ, केही व्यवसायिक रुपमै संगीतमा हुनुहुन्छ। कतिले यी सबै छोडेर पारिवारिक जीवनलाई अगाडि बढाउनुभएको छ। एकाधले भने अझै पनि जागरण गीतको आन्दोलनाई अगाडि बढाइरहेका छन्।
यतिबेला जनपक्षीय गीत–संगीत कमजोर बनेको छ। बजारले माग गरेका गीत बाढी चलिरहेका बेला आम मान्छेको सरोकारका विषयलाई उठान गर्ने गीत एकदमै कम लेखिन र गाउन थालिएको छ। यो कम्युनिस्ट आन्दोलनकै लागि विडम्बनाको विषय हो। तथापि, प्रतिरोधी गीत–संगीतको सान्दर्भिकता अझै समाप्त भएको छैन।
समाजमा जबसम्म अन्याय, अत्याचार, असमानता र विभेद रहिरहन्छ, तबसम्म जनपक्षीय गीतसंगीतको महत्व कायम रहन्छ। नेपालमा एउटा तहको राजनीतिक परिवर्तन संस्थागत भइसक्दा पनि हामी सामाजिक रुपमा अझै धेरै पछाडि छौँ। जातीय छुवाछुत, लैंगिक विभेद, उत्पीडन र रुढी अझै बलियोगरी जरा गाडेर बसेका छन्। यस्तोमा मानिसलाई परिवर्तनका लागि झक्झक्याउने गीतको आवश्यकता अझ बढी छ। रुपान्तरणको आवाज अझ सशक्त हुन जरुरी छ। त्यसैले ‘सांस्कृतिक क्रान्ति’ अझै सकिएको छैन, बरु नयाँ चरण सुरु भएको छ भन्ने निश्कर्षमा पुग्न सकिन्छ।
केही समयअघि लोकगायक पशुपति शर्मा आफ्नो एउटा गीत युट्युबबाट हटाउन बाध्य भए। केही कलाकारमाथि मुद्दा पनि चले। तर, सरकारको यस्तो व्यवहारले समाजको भलो गर्दैन। त्यो अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हो। गीतमाथि प्रतिबन्ध लगाउने विषयलाई आजको समाजले स्वीकार्न सक्दैन। यद्यपि लेख्ने, गाउनेहरुले पनि आफ्नो सामग्री कस्तो बनाउने भन्ने सोचेमा त्यो राम्रो हुनेछ।
अहिलेको पार्टीमा जनपक्षीय चरित्रलाई बचाउने काम सांस्कृतिक मोर्चाले मात्र गर्न सक्छ। त्यसका लागि जागरण संगीतको आवश्यकता सधैँ रहन्छ। तसर्थ राज्यले पनि त्यस्ता संगीतलाई जीवित राख्न लगानी गर्नुपर्छ। आम जनतालाई परिवर्तनको आकांक्षी बनाइराख्न, क्रान्तिकारी र प्रगतिशील बनाइराख्न सांस्कृतिक मोर्चालाई सरकारले प्रयोग गर्नुपर्छ। किनभने हाम्रो आधारभूत लक्ष्य भनेको एउटा जीवन्त र न्यायपूर्ण समाज निर्माण गर्नु हो, जुन सधैँ गतिशील र परिवर्तनकामी हुन्छ।
यो कार्यको सुरुवात ऐतिहासिक महत्वको जनयुद्धकालीन गीत–संगीतलाई संरक्षण गरेर गर्न सकिन्छ।
(मणि थापा नेकपा स्थायी समिति सदस्य हुन्)

प्रतिक्रिया