सिलगुडी करिडोरको इतिहास भनेकै यसका कारण बनेका राज्य र जिल्लाहरुको इतिहास हो। भारत विभाजन तथा पश्चिम र पूर्वी पाकिस्तानको जन्मपछि सिलगुडी करिडोरले आकार लिएको थियो। यसलाई ‘चिकेन नेक अफ इन्डिया’ भनेर पनि चिनिन्छ।
अहिलेको पश्चिम बंगाल इतिहासमा दुई पटक विभाजित भएको छ– पहिलो पटक सन् १९०५ र दोस्रो पटक १९४७ मा। सन् १७६५ देखि नै बिहार र उडिसा पनि बंगालभित्रै थियो। तर, बेलायती शासनमा यति ठूलो भूभागमा शासन कठिन हुन्छ भनियो। बंगाल विशाल भएकैले प्रदेशका थुप्रै क्षेत्रलाई बेवास्ता गरिएको थियो र ती अलगथलग थिए।
यसैकारण कलकत्ता र त्यसनजिकैका क्षेत्र विकसित भए। तर, पूर्वी बंगालमा राम्ररी शासन चल्न सकेन। त्यसैले पूर्वी बंगालमा बग्ने नदीहरुमा संगठित समुद्री डाँका समूह जन्मिए। अन्ततः सन् १९०५ मा बंगाललाई टुक्राइयो। बंगाल टुक्रेपछि बन्यो दिनाजपुर जिल्ला। यो जिल्लाको क्षेत्रफल ३ हजार ९ सय ४६ वर्गमाइल थियो। जिल्लाको उत्तरदेखि दक्षिणसम्मको अधिकतम लम्बाइ १०५ माइल थियो भने अधिकतम चौडाइ ७६ माइल। सबैभन्दा फराकिलो क्षेत्र दक्षिणी भेगमा कारातोयादेखि महानन्दा नदीसम्म पथ्र्यो। सन् १९११ को जनगणनामा यो जिल्लाको जनसंख्या एक लाख ६८ हजार ८ सय ६३ थियो।
पहिले त्यो क्षेत्र औलो प्रकोपका कारण कुख्यात थियो। जसका कारण त्यहाँका अधिकांश बासिन्दा अन्यत्र बसाइँ सरेका थिए। जिल्लाको दक्षिण भेगका ‘थाना’ (स्थानीय शासनका लागि बनाइएको निकाय, अहिले यसलाई उपजिल्ला भनेर चिनिन्छ) मा बस्ती एकदम पातलो थियो र जताततै जंगल थियो। एउटा सरकारी इलाकाको व्यवस्थापकले भने यस्तो भूमिका सन्थालहरुलाई ल्याएर राख्न सकिने सुझाए। यो प्रयोग सफल पनि भयो। त्यसपछि दशकौँसम्म सन्थालहरु यो क्षेत्रमा बसाइँ सर्ने क्रम जारी रह्यो। दिनाजपुरको दक्षिणी इलाकामा बसोबास गर्ने सुरुवाती समूहमध्ये सन्थाल पनि एक हो।
सन्थालपछि यो क्षेत्रमा राँचीबाट मुन्डा र उराउँहरु बसाइँ आउन थाले। उनीहरु काम गर्न बलियो भएकाले जमिनदारहरुले पनि स्वागत गरे। बंगालको राजशाही, दिनाजपुर, पावनाका धेरैजसो हिस्सा ओगटेको बरिन्द क्षेत्रलाई बंगालीमा ‘बरिन्दर भूमि’ पनि भनेर चिनिन्छ। बरिन्दर भूमिभन्दा बाहिर सन्थालहरुको आगमन एकदमै कम थियो। दिनाजपुरको केही भागमा औलोको प्रकोपका कारण बसाइँ सराइ रोकिएको पनि थियो। दिनाजपुरको आदिवासी राजवंशी हुन् भन्ने गरिन्छ। त्यस्तै, सिलगुडीको आदिवासी पनि राजवंशी नै भएको विश्वास गरिन्छ। त्यस्तो किन भयो, बुझ्नु आवश्यक छ। त्यो समयमा मौसमी श्रम र शारीरिक श्रम नै जनसंख्या ओसारपसारको प्रमुख कारण थियो। जलपाइगुडी र कुच बिहारमा पनि राजवंशीहरुको ठूलै संख्या छ।

दिनाजपुर जिल्लालाई चार मुख्य भागमा बाँड्न सकिन्छ– पहाडपुर, खास दिनाजपुर, रायगञ्ज र कञ्चनघाट। भारत स्वतन्त्र र विभाजन भएपछि दिनाजपुर पनि दुई हिस्सामा टुक्रियो। पश्चिम दिनाजपुर भारतमा र दिनाजपुर पूर्वी पाकिस्तानमा। १९५६ को राज्य पुनर्गठन कानुनअनुसार भाषाको आधारमा सिमाना कोरिएको थियो। परिणामस्वरुप बिहारका केही बंगालीभाषी क्षेत्रलाई पश्चिम दिनाजपुरमा गाभियो। अप्रिल १९९२ मा पश्चिम दिनाजपुरलाई दुई भागमा विभाजन गरियो, उत्तर दिनाजपुर र दक्षिण दिनाजपुर। उत्तर दिनाजपुरको उत्तरी भेगका धेरै हिस्सा सिलगुडी करिडोरमा पर्छन्।
सन् १९०१ मा जलपाइगुडी जिल्लामा पश्चिम डुअर्स, बोदा, राजगञ्ज र पातग्रामजस्ता इलाका थिए। पश्चिम डुअर्स १८६५ को युद्धमा भुटानबाट खोसिएको थियो भने अन्य क्षेत्र १८७० मा रंगपुर जिल्लाबाट गाभिएको थियो।
विभाजनका बेला रहेको दिनाजपुर जिल्ला टुक्र्याएपछि पश्चिम बंगालअन्तर्गत बनेको पश्चिम दिनाजपुर जिल्लाको दार्जिलिङ, जलपाइगुडी र कुच बिहार जिल्लासँग सीधा सम्बन्ध थिएन। किनभने बीचको भूमि पूर्वी पाकिस्तान र बिहारमा पथ्र्यो। सन् १९५६ मा कानुन बनाएर बिहारको पुर्निया जिल्लाको केही भूभाग पश्चिम बंगालमा गाभेर बाटो खोलियो। यसरी गाभिएको भूमिमा किसानगञ्ज, पुर्निया, गोपालपुर, मानभुम, चान्दिल थाना र बारभूम थानाको केही हिस्सा थियो।
सन् १९५६ मा सुरुमा यो सबै भूमि दार्जिलिङ जिल्लामा गाभिएको थियो। तर, एक दिनपछि नै ९ सय ६ गाउँ र तीन प्रहरी चौकी रहेको यो क्षेत्र दिनाजपुर जिल्लामा सारियो। फेरि सन् १९५९ मा त्यही क्षेत्रको महानन्द नदीको उत्तरमा पर्ने भूभाग दार्जिलिङमै फिर्ता गरियो।
सन् १८७४ मा बंगाल टुक्र्याएर असम बनाइएको थियो। फेरि सन् १९०५ मा उडिसा र बिहारलाई छुट्याइयो। बंगाल टुक्र्याइएपछि यो क्षेत्रमा विरोध भयो। जसले भाइसराय लर्ड कर्जनको ‘फुटाऊ र शासन गर’ नीतिबाट पछि हटेर बंगाल एक बनाउन सरकार बाध्य भयो।
यद्यपि, १९४७ मा बंगाल विभाजन गर्दा पहिलो पटक विभाजनताका जस्तो स्थिति थिएन। बेलायतीहरु भाषाको आधारमा मात्र १९०५ मा बंगाल टुक्र्याउन चाहन्छन् भन्ने विश्वास गरिन्थ्यो। तर, यसको प्रतिक्रियाले के देखायो भने, भविष्यमा आवश्यक परे धर्मका आधारमा पनि विभाजन गर्न सकिन्छ। जोया चटर्जीका अनुसार बंगालको दोस्रो विभाजनअघि धर्मका आधारमा राज्य गठन हुनुपर्ने भन्दै संगठित रुपमा आक्रोश फैल्याइएको थियो। सन् १९४६ मा कलकत्तामा चार दिन हिन्दु–मुस्लिम दंगा नै फैलियो। यसलाई ‘ग्रेट कलकत्ता किलिङ्स’ भनेर पनि चिनिन्छ। यही घटनाले मुस्लिम लिग काउन्सिल विश्वस्त भयो, बेलायतीहरुले छोडेर गएपछि भारतका मुस्लिम हिन्दुहरुको दयामा निर्भर हुनेछन्।
यसअघि सन् १९४० मा लाहोरमा भएको अल इन्डिया मुस्लिम लिगको तीन दिने सम्मेलनमा मुस्लिमका लागि ब्रिटिस राजको उत्तर पश्चिम र पूर्वमा अलगअलग स्वतन्त्र राज्य बनाउनुपर्ने औपचारिक वक्तव्य दिइएको थियो। पूर्वी पाकिस्तान र अन्तत्वगत्वा बंगलादेश निर्माणको आधार यही नै बन्यो। जसका कारण आज हामीले भन्ने गरेको सिलगुडी करिडोरको भूगोल तयार भयो।
उपनिवेशकालअघि पनि साम्प्रदायिक पहिचानको अस्तित्व थियो। तर, मानिसहरुलाई विभाजन नै गर्नेगरी साम्प्रदायिकता र साम्प्रदायिक राजनीति भने उपनिवेशकालमा जन्मियो। जीके हसनका अनुसार भारतीय समाजमा सामन्तवादविरुद्धको क्रान्ति पूरा नभएकाले त्यहाँ पछौटेपन कायम रह्यो, जहाँ साम्प्रदायिक विचारधाराले हुर्किने मलिलो स्थान भेट्टायो। त्यस्ता घटनाले स्वतन्त्रतापछिको बंगाललाई पनि असर पु¥यायो। र, निश्चय नै त्यसले हामीलाई सिलगुडी करिडोरको हालको राजनीतिक, जनसांख्यिक, आर्थिक, सांस्कृतिक, सामाजिक, भाषिक र धार्मिक बनोट निर्माण ग¥यो।
(आदित्यकान्त घिसिङ कोलकाताको सिटी कलेजस्थित राजनीतिशास्त्र विभागका सहायक प्राध्यापक हुन्)
Shares

प्रतिक्रिया