ad ad

विचार


भूराजनीतिक होहल्ला र ‘एक्सिडेन्टल’ गठबन्धन

भूराजनीतिक होहल्ला र ‘एक्सिडेन्टल’ गठबन्धन

विष्णु रिजाल
पुस २०, २०७९ बुधबार १५:३१, काठमाडौँ

शेरबहादुर देउवा अपमानजनक रुपमा सिंहदरबारबाट बाहिरिएका छन्। उनले न राजीनामा दिन पाए न त धन्यवाद भन्न नै। उनी अस्वाभाविक रुपमा आए, अस्वाभाविक रुपमै गए। यतिसम्म कि दुई घण्टाअघिसम्म सत्ताच्यूत हुँदैछु भन्ने नै थाहा भएन। अन्तिम दिन पुस १० गते ३ बजेसम्म जुन बाटोबाट भए पनि प्रधानमन्त्री हुने मै हुँ भन्नेमा ढुक्क थिए। त्यसो नहुँदो हो त ‘तपाईं प्रधानमन्त्री दिनुहुन्न भने म बालकोट जान्छु’ भनेर पुष्पकमल दाहाल उठ्दा ‘त्यहाँ कुरा मिलेन भने फेरि आउनु होला’ भनेर हेप्ने थिएनन्। अनि बालुवाटार छाड्नुपर्छ कि भन्ने अलिकति पनि लागेको भए घर मर्मत पनि गराउने थिएनन् होला। भाग्यमा विश्वास गर्ने देउवाका लागि एउटै समयमा राम्रो र नराम्रो लेखिएको रहेछ भनेर चित्त बुझाउने बाटो मात्र बाँकी छ। किनभने, एउटै समयमा कम्युनिस्टलाई भिडाएर चुनाव जिते, कम्युनिस्ट मिल्दा हारेर घर फर्किए।

सत्ता बदलिएको छ, समीकरण बदलिएको छ। साथसाथै, सत्ता निर्माणको संकथन (न्यारेटिभ) पनि बदलिएको छ। षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी) मा विश्वास गर्ने ठूलो जमात फेरि एकाएक ब्युँझिएको छ र त्यसले नयाँ समीकरणका पछाडि ‘चीनको हात छ’ भन्न थालेको दुई साता पुग्नै लागेको छ। 

साह्रै साधारण कुरा छ, देउवाले दिएको भए प्रचण्ड पुरानै समीकरणबाट प्रधानमन्त्री हुने थिए। परिस्थितिले त्यहीँ पुर्यायो तर वास्तविकता यही हो– केपी शर्मा ओलीसँग सहकार्य गर्ने भित्रदेखि प्रचण्डको योजना, तयारी र मनस्थिति थिएन। तिक्त विगत, निर्वाचनको बाचा, दक्षिणलाई दिएको बचन र ओलीको बलियो नेतृत्व बुझेका प्रचण्डले आफ्ना कारण होइन, देउवाका कारण ओली रोजेका हुन्।

नेपालमा सत्ता बदलिँदा त्यसका छिटा सबभन्दा पहिले दिल्लीमा पर्छन्। यसपटक पनि दिल्ली तरंगित देखिन्छ। पानी बाराबारको सम्बन्ध रहेका दुई कम्युनिस्ट पार्टीलाई चीनले नमिलाए कसरी मिले त भन्ने बनिबनाऊ प्रचार दिल्लीवृत्तमा देखिन्छ। बुद्धिजीवी, विश्लेषक, पत्रकारदेखि नीति निर्माताबाट कुनै न कुनै रुपमा यो कुरा व्यक्त भइरहेको छ। यस आशंकाको सही उत्तर खोज्नका लागि पहिला दुईवटा प्रश्नका उत्तर खोज्नुपर्छः

पहिलो, माओवादीको बलमा पहिलो पार्टी बन्न सफल कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुबै दिन्नौँ भन्ने बल कहाँबाट प्राप्त भयो?

सबैलाई थाहा छ, अदालतको दुरुपयोग गरेर परमादेश ल्याएर देउवालाई प्रधानमन्त्री बनाउनमा कांग्रेसभन्दा बढी भूमिका पुष्पकमल दाहाल र माधवकुमार नेपालको थियो। यी दुई नेताले बुढानिलकण्ठमा विष्णु भगवानझैँ सुतेका देउवालाई उठाएर प्रधानमन्त्री बनाएका हुन्। देउवाले १८ महिना खाइसकेपछि स्वाभाविक रुपमा दाहालले आश गरेका थिए। तर, प्रधानमन्त्री नदिँदा दाहाल भड्किन्छन् भन्ने कुरा सत्ताका सदाबहार खेलाडी देउवाले बुझेका थिएनन भनेर कसरी विश्वास गर्न सकिन्छ? उनले सात पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेकै भरमा स्वदेशी ज्योतिष र तान्त्रिकको मात्र विश्वास गरे कि त्यसभन्दा परका निशाचरहरुको बढी भर परे?

अहिले देउवालाई झैँ ०७२ सालमा सुशील कोइरालालाई दुरुपयोग गरिएको घटना देउवाको विस्मृतिमा नपर्नुपर्ने हो। संविधान नबन्दै प्रधानमन्त्री बन्न आएको प्रस्तावलाई एमाले अध्यक्ष केपी ओलीले अस्वीकार गरेका थिए र ०७२ जेठमा दलहरुका बीचमा संविधान बनेपछि ओली प्रधानमन्त्री र कोइराला राष्ट्रपति बन्ने सहमति बनेको थियो। त्यो थाहा पाएका आलोचकहरुले ‘प्रधानमन्त्री बन्नकै लागि ओलीले संविधान बनाउन हतार गरे’ भनेर आलोचना गर्ने गरेका थिए। दलहरुबीच सहमति बन्यो, संविधान पनि बन्यो। तर, त्यसपछि कोइरालाले सहमति पालना नगरी प्रधानमन्त्रीमा उम्मेदवारी दिए। देउवालगायत कांग्रेसका नेताहरुले त्यतिबेला भन्ने गरेका थिए, त्यो उनको विवेकको उपज थिएन। एमाले र माओवादी एक ठाउँ भएपछि कोइराला प्रधानमन्त्री हुने सम्भावनै थिएन। फलतः प्राप्त हुने राष्ट्रपति पनि गुम्यो। ठीक यही अवस्था अहिले शेरबहादुर देउवाले दोहोर्याएका छन्। दृश्यमा कोइराला र देउवा दुई पात्र देखा परे पनि पर्दा पछाडिबाट सञ्चालक र घटना–प्रवृत्ति एउटै हो भन्नेमा कम्तीमा अब त कांग्रेसीहरु स्पष्ट हुनुपर्ने हो। रामचन्द्र पौडेललगायतका केही नेताहरुले सार्वजनिक रुपमै पनि यसको चर्चा गरेका छन्।

सुन्दा अनुप्राश मिले पनि रक्षाबन्धन र गठबन्धन फरक–फरक विषय हुन्। शेरबहादुर देउवाका नाममा नायवी चलाएकी आरजु राणाको प्रयोग असफल सिद्ध भएको छ। राजनीतिलाई लेनदेन र निजी विषय बनाउने राणशासन नेपालबाट हटेको पौने शताब्दी पुगिसकेको छ, कांग्रेस चाहिँ बल्लतल्ल जोगिएको छ। चुनावअघिको उनको दिल्ली दौड र सत्ता राजनीतिमाथिको अनावश्यक दखलले देउवालाई अपमानित भएर भित्तामा पुर्याएको छ। यतिबेला उनी बाह्यभन्दा तीब्र आन्तरिक दबाबमा परेर मुख बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्।

दोस्रो, देउवाले प्रधानमन्त्री दिँदादिदै दाहाल बालकोट पुगेका हुन्?

एमाले र माओवादीबीचको सहकार्यलाई आश्चर्यजनक रुपमा हेर्नेहरुले पहिले दाहालको मनोविज्ञान र प्रवृत्ति केलाउनुपर्छ। नेकपाकालीन विवाद नै उनी प्रधानमन्त्री हुन नपाएकोमा सुरु भएर त्यसैमा बिसर्जन भएको थियो। र, अघिल्लो संसद्को कार्यकालभरि उनी पाँच बर्ष सत्ताबाहिर बन्नुपरेकोमा छटपटी थियो। आफ्नो शक्ति क्षीण हुँदै गएपछि ‘मैले सबैलाई प्रधानमन्त्री बनाएँ, मलाई चाहिँ कसैले साथ दिएनन्’ भन्ने गुनासो रहँदै आएको थियो। यसपटकको निर्वाचनबाट पार्टी आधा घटेपछि उनमा त्यो छटपटी झनै बढेको थियो। यस्तो अवस्थामा उनी जसरी पनि यही पटक प्रधानमन्त्री बन्न चाहेको कुरा लुकेको थिएन। र, देउवाले मानेको भए उनी पुरानै गठबन्धनबाट प्रधानमन्त्री हुने थिए।

अन्तिम दिनको पौन १ बजेसम्म पनि उनले देउवासँगै प्रधानमन्त्री मागिरहेका थिए। तर, देउवाले कुनै हालतमा मानेनन्। त्यसपछि उनी नेकपा (एमाले) सँग सहकार्य गर्न अध्यक्ष ओलीको निवास बालकोट पुगेका हुन्। र, दुई वामपन्थी पार्टीबीच सहकार्य सुरु भएको हो। यदि देउवाले प्रधानमन्त्री दिँदादिँदै छनोटमा दाहाल बालकोट पुगेको भए त्यसका पछाडि शक्ति राष्ट्रको खेल रहेको अनुमानलाई बल पुग्न सक्यो। तर, यता नपाएपछि उता जान्छन् भन्ने कुरा सामान्य मानिसहरुले समेत अनुमान गरिरहेको विषयलाई कुनै जटिल रुपमा बुझ्नुको कुनै अर्थ छैन।

नेकपा (एमाले) त आफ्नाविरुद्धको सहकार्य टुटाउने मौका पर्खेर बसेकै थियो। कोही पनि आफ्ना विरुद्धको गठबन्धन बलियो बनोस्, उनीहरुकै सरकार बनोस् र आफू किनारामा परुँ भनेर बस्दैन। एमालेले पनि केही न केही हिसाब गरेकै थियो। तर, यसपटकको गठबन्धन एमालेको चाहनाले फुटेको होइन। गठबन्धन फुट्ने भएपछि ओलीले सही समयमा पेनाल्टी हानेका हुन्।

यति साधारण तथ्यलाई षड्यन्त्रको सिद्धान्तको चश्माबाट हेर्न आवश्यक छैन। मेरो हात छैन भने पक्कै पनि अरु कसैको हात छ भन्ने अनुमानका आधारमा नीति बनाउने कुराले कसैको हित गर्दैन। नेपालका सन्दर्भमा बनेका जति पनि नीतिहरु छन्, तिनीहरु असफल हुनुका पछाडि यस्तै अनुमान र आशंकाको भरमा तिनको निर्माण हुनु मुख्य कारण रहेको छ।

पक्कै पनि शक्ति राष्ट्रका बीचमा प्रतिस्पर्धा हुन्छ, स्वार्थहरुको टकराव हुन्छ। कम्युनिस्ट पार्टी भएकाले स्वतः चीनसँग निकटको बिल्ला भिराइदिने अनि बाँकी मैदान भारतका लागि खाली गरिदिने चलन छ नेपालमा। नेपालमा कम्युनिस्ट पार्टी बलिया बन्दै गएपछि उनीहरुको राज्यसत्तामा हुने स्वाभाविक उपस्थितिलाई चीनसँग जोड्ने र त्यसमा भारतको नीतिको असफलताका रुपमा चित्रित गर्ने प्रवृत्तिले कतै न कतै भारतीय नीति निर्माताहरुलाई पनि प्रभाव पारेको पाइन्छ। त्यही भएर दुई कम्युनिस्ट पार्टीबीच कटाक्ष भइरहेको बेला नेपालमा राष्ट्रपति र प्रधानमन्त्री दुबै गैरकम्युनिस्ट अर्थात् कांग्रेसलाई बनाएर ‘देखाइदिने’ योजना बनेको हुन सक्छ र त्यसको शिकार अनुकूलको भनेर चिनिने कांग्रेस बनेको छ। तर, एउटा कुरा स्पष्ट छः कम्युनिस्ट पार्टी मात्रै मिलेर न सरकार बन्थ्यो, न राष्ट्रपति चयन हुन्छन्। त्यसैले यो कुनै कम्युनिस्ट गठबन्धन नभएर सत्ताका लागि बनेको अर्को गठबन्धन मात्रै हो भनेर बुझ्दा सबैको बोझ कम हुन्छ। फेरि पुष्पकमल दाहाल त सबैले चिने–जानेकै, भोगेकै र मित्रता गरेकै परिचित व्यक्तित्व हुनुुहुन्छ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ।

वर्तमान गठबन्धन दुर्घटनावश बनेको अर्थात् ‘एक्सिडेन्टल कोलिसन’ हो। पुरानो गठबन्धन आकस्मिक दुर्घटनामा पर्यो र राष्ट्रपतिले दिएको म्याद तामेल गर्न दुई घण्टामा नयाँ गठबन्धन बनेको छ। त्यसैले धेरै दिमाग खियाएर, शक्ति राष्ट्रहरुको लडाइँलाई अघि सारेर, विचारधारालाई मुख्य आधार बनाएर वा षड्यन्त्रका तानाबाना खोजेर समय खर्चिनु आवश्यकै छैन। बरु, कसरी अघि बढ्छ र कति टिक्छ, त्यसले भविष्यको ध्रुवीकरणलाई प्रभावित पार्नेतर्फ ध्यान दिनु आवश्यक छ।

(विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .