ट्वीटरले राजनीतिक विज्ञापनको प्रकार र संख्या बढाउने भएको छ। सन् २०१९ मा विश्व्यापीरुमा ट्वीटरले प्रतिबन्ध लगाएको भए पनि पछिल्लो समय आम्दानी बढाउन ट्वीटरले यस्तो योजना अघि सारेको हो।
कम्पनीले एक ट्वीटमार्फत अमेरिकामा कम्पनीले सशर्त विज्ञापनको नीतिअनुसार विज्ञापनमा केही सहज गरिने बताएको छ।
सन् २०१९ मा निर्वाचनको समयमा अत्यधिक मात्रामा भ्रामक सूचना प्रसार भएको भन्दै ट्वीटर र फेसबुकजस्ता सामाजिक सञ्जालको आलोचना भएसँगै ट्वीटरले पनि राजनीतिक विज्ञापनमा प्रतिबन्धको निर्णय गरेको थियो।
त्यस्तै उसले सामाजिक विषयसँग सम्बन्धित विज्ञापनमा पनि रोक लगाउने निर्णय गरेको थियो। त्यतिबेला ट्वीटरका सीईओ ज्याक डोर्सीले राजनीतिक सन्देश खरिद गर्नुपर्ने नभई मानिसले आफैं पाउनुपर्ने बताएका थिए।
गत अक्टोबरको अन्तिममा अर्बपति इलोन मस्कले ट्वीटर खरिद गरेपछि भने उनको कर्मचारी कटौती, यसअघि विभिन्न मानिसमाथि लगाइएको प्रतिबन्ध हटाउने तथा ब्लु टिकको पैसा तिर्नुपर्नेजस्ता निर्णयमा आपत्ति जनाउँदै विज्ञापनदाताहरुले आफ्नो विज्ञापन बन्द गरेका छन्।
त्यसैले ट्वीटरले आम्दानीको लागि अन्य उपायको खोजी थालेको हो। गत महिना मस्कले आफ्नो खर्च बचाउने नीतिको बचाउ गरेका थिए। पछिल्लो समय ट्वीटरले खर्च कम गर्ने नीतिमा छ।
प्रतिक्रिया