विचार


फेरि ‘ग्रे एरियामा’ नेपाल

फेरि ‘ग्रे एरियामा’ नेपाल

सन्जय घिमिरे
मंसिर १९ , काठमाडौँ

मान्छेहरु भनिरहेका छन्– यसपटक नेपालमा घण्टी बज्यो।

मान्छेहरु भनिरहेका छन्– नेपालमा घण्टीको उदय भयो। 

टाढाबाट म सोचिरहेको छु– जहाँ ‘भगवान’ नै संकटमा छन्, त्यहाँ घण्टीको के हिसाब? जहाँ सिंगो ‘मन्दिर’ नै संकटमा छ, त्यहाँ घण्टीको के कुरा? 

उस्तै परे जहाँ ‘भगवान र मन्दिर’ नै लेनदेनमा पर्छन्, त्यहाँ घण्टीको के मूल्य? 

एउटा कुनामा झुण्डिने र अरु कसैले बजाइदिने घण्टीले त भगवान सँगसँगै आफू स्वयं बेचिएकोसम्म थाहा पाउँदैन। 

घण्टी जम्माजम्मी दुई अवस्थामा बज्छ। एक– कसैले बजाइदिएमा। र, अर्को– अलि चर्को हावा बहेको बेला। 

यी दुईमध्ये ठयाक्कै के भएको हो, मलाई थाहा छैन। यति चाहिँ पक्का हो, घण्टी आफैँ बज्दैन।

यसो भनेर म घण्टीको मूल्य र महत्वलाई होच्याइरहेको छैन। म त केबल टाढाबाट घण्टीको प्रकृति र चरित्रबारे बताइरहेको छु।

जे कारणले होस्, म त चाहन्छु– ‘मन्दिर’मा घण्टी बजिरहोस् र ‘भगवान’ सधैँ जाग्राम रहिरहुन्। ‘भगवान’लाई किन्न वा लुट्न आउनेहरु घण्टीको आवाजले कि त तर्सिउन्, कि त मोहित होउन्। 

पाठकहरु, कृपया मलाई यो चाहिँ नसोध्नुहोला– भगवान को हो? 

भगवानको विषयमा तपाईंहरु सोच्दै गर्नुस्। म चाहिँ एकछिन निर्वाचन र त्यसले दिएको परिणामभित्र विचरण गर्न चाहन्छु। 

ढिलो नगरी एउटा कुरा भनिहालौँ– नेपाल फेरि ‘ग्रे एरिया’मा प्रवेश गर्यो। 

नेपाली कांग्रेसले आठदस बढी वा एमालेले आठदस सिट कम ल्यायो वा राप्रपा फेरि बौरियो। वा रविको राष्ट्रिय स्वतन्त्र पार्टीले ‘चमत्कार’ गर्यो। मेरो हिसाबमा यो कुनै बहसको वा महत्वको विषय होइन। खास विषय त के हो भने नेपाल फेरि ‘ग्रे एरिया’मा प्रवेश गरेयो। ‘ग्रे एरिया’ बडो खतरनाक र ‘भोलाटाइल’ हुन्छ। यो अवस्था नेपालका ठूला दलहरुका क्रियाकलापको प्रतिक्रिया स्वरुप, समय क्रममा आएको हो कि यो अवस्था ल्याउन निरन्तरको प्रयास थियो? सोच्नु पर्ने विषय यहाँनेर छ। 

इतिहास हेर्नुस् त, जबजब नेपालमा बलिया सरकार र व्यक्तिहरु आउँछन्, तिनलाई कमजोर पार्ने अभ्यास सुरु हुन्छ। कमजोर बनाइन्छ। 

राणाकालमा राणाहरु बलिया थिए, त्यो खत्तम भयो। राणाकालपछि बीपी कोइराला बलिया भएर आए, समयक्रममा उनलाई सकाइयो।

त्यसपछि राजा महेन्द्र बलिया भए। राजा महेन्द्र र वीरेन्द्रको शासनकालमा शान्ति क्षेत्रको प्रस्ताव र असंलग्न परराष्ट्र नीतिका कारण तत्कालीन नेपाल अलि पृथक र बलियो हुँदै थियो। 

त्यसको बदला ४६ सालमा लिइयो। बहुदलीय व्यवस्था आयो। 

बहुदलीय व्यवस्थाको उदयपछि बनेको गिरिजाप्रसाद कोइरालाको सरकार यति बलियो थियो कि छिमेकी राष्ट्रका प्रमुखहरु समेत नतमस्तक हुन्थे। त्यस्तो 
प्रभावशाली, बलियो र ‘फ्रेस म्यान्डेट’ लिएर आएको कोइरालाको सरकारले पनि पुरा समय काम गर्न पाएन। गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको मनोविज्ञानमाथि कसैले खेल्यो। त्यो खेल सफल नभएको भए नेपाल आज सुखद अवस्थामा हुन्थ्यो। 

खेल यति सफल भयो कि प्रधानमन्त्री पद त्यागेका गणेशमान राजदूतको बार्गेनिङ सम्ममा ओर्लीए। इतिहासमा रेकर्ड होस् भनेर म केही तीता सत्यहरु लेखिरहेको छु। अन्यथा नलिनु होला। 

यो बीचमा मदन भण्डारी र मनमोहन अधिकारी त झिल्काजस्ता। 

मलाइ एकचोटि उद्योगपति र अहिलेका सांसद विनोद चौधरीले भनेका थिए– यदि त्यतिबेला गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईबीच कुनै वैमनश्य हुँदैनथ्यो भने नेपाल आज धेरै माथि पुगिसक्थ्यो। विनोद चौधरीसँगको संवाद अझै पनि मसँग सुरक्षित छ। लेखौँला फेरि पनि कुनै दिन। 

अँ, म बलियालाई कमजोर बनाउने खेलको विषयमा कुरा गरिरहेको थिएँ। 

हो त, बलिया गिरिजाप्रसाद कोइराला बनाइए कमजोर। गणेशमान बेग्लै बस्ने स्थितिमा पुगे। कृष्णप्रसादलाई पनि बलियो रहन दिइएन। हुन त कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा सामान्यजनका लागि ‘ओभररेटेड’ नेता हुनजस्तो लाग्छ मलाई। ख्याल गर्नुस् है, मैले सामान्यजनका लागि भनिरहेको छु। बनारस बस्नु, त्याग गर्नु, छाता र सुराही बोक्नु, सन्त हुनु वा लोभ, मोह र औसत तृष्णाभन्दा माथि उठ्नु, राजनीतिको हिसाबकिताब जान्नु वा चाणक्य हुनु र संविधान बनाउनु एउटा कुरा हो, महान् कुरा पनि हो तर सामान्यजन, जो जीवनका असाध्य जटिलताहरुसँग लडिरहेका छन्, तिनको मनोदशा, समस्या बुझ्नु र समाधान गर्नु अर्कै कुरा हो। शकुनी हुनु र कृष्ण हुनुमा ठूलो फरक छ। सञ्जय हुनु र धृतराष्ट्र हुनुमा ठूलो फरक छ।

यो फरकको हिसाब गर्दै गर्नु होला। 

म यति मात्र भनुँ– नेपाल महाभारत युगमा फेरि प्रवेश गर्यो। पाण्डवहरु त्यहाँ छन्, कौरवहरु त्यहाँ छन्। शकुनी, अर्जुन र कृष्णहरु त्यहाँ छन्। धृतराष्ट्र र गान्धारीहरु त्यहाँ छन्। 

सुरु भयो महाभारत। 

माओवादी जन्मियो। 

आफैँ जन्मियो वा जन्माइयो? म भन्न सक्दिनँ। 

माओवादी ‘जनयुद्ध’ ले मलजल पायो। 

बीचमा अनेक गोटी र खेलहरु भए। 

अति भएपछि ज्ञानेन्द्रले शासन लिए। 

राजनीतिक दलहरुका विकृत क्रियाकलापका कारण त्यो बेला राजा ज्ञानेन्द्र असाध्यै बलिया थिए। भलै राजा ज्ञानेन्द्रका तरिकाहरुमा समस्या थिए तर नियतमा समस्या थिएन। उनलाई मात्र होइन, राजसंस्थालाइ नै अस्वाभाविक रुपमा खत्तम गरियो। 

त्यसपछि माओवादी आयो बलियो भएर। बलियो माओवादीले २०६२–६३ को आन्दोलनपछि बलिया भएका गिरिजाप्रसाद कोइरालालाई जानेर वा नजानेर कमजोर बनाउनेतर्फ लाग्यो। त्यसपछि न माओवादी बलियो रह्यो, न गिरिजाप्रसाद। 

बीचका अनेक लफडाहरुपछि केपी ओली बलिया भएर आएका थिए। अन्ततः उनी पनि कमजोर भए। उनलाई पनि कमजोर बनाइयो। 

अब त कोही बलियो हुन्छ र बलियो रहिरहन्छ कि भन्ने ठानेको, अहिले त झन् सबै कमजोर। 

बलियो त हुनै नहुने। 

बलियो त हुनै नदिने। 

जो जो बलिया भए, तिनका के कति व्यक्तिगत कमजोरीहरु थिए, म त्यता जान चाहन्नँ। यो मेरो चिन्ता वा चासोको विषय पनि होइन, चिन्ता र चासोको विषय के हो भने किन बलियाहरुलाई छिटोछिटो कमजोर बनाइयो? वा ती के कारणले कमजोर भए? 

हुन त यो बीचमा दलहरु पनि यति नखरमआउला भए कि तिनले आफूमाथि हदैसम्मको बात लागेको होससम्म पाएनन्। 

अब हेर्नुस त, नेपालमा को बलियो रह्यो र? 

एकछिनका लागि रविले आफूलाई बलियो ठान्दा हुन् आजको दिनमा। लुरे ह्वात्तै मोटाएजस्तो।

उनलाई म भन्न चाहन्छु– जब भगवान नै संकटमा पर्छन्, त्यहाँ घण्टीको हिसाब किताब हुँदैन रवि। 

घाँँस गोडेर मात्र पिपल हुर्कंदैैन रवि। 

कुलो र नहरमा फरक छ रवि। 

रवि, यो उत्तेजना, भावावेश वा देखाइदियौँ भन्ने अहँकारको विषय होइन। 

२७५ मा जम्मा २१ केही होइन।

यो २१ समस्याको उत्प्रेरक नबनोस्, टाढाबाट म यही चाहन्छु। 

हो, जनताले मत दिए। यसमा कुनै शंका छैन। शंका कहाँ छ भने यो नियमित आकस्मिकता हो कि नेपाली जनताको मनोविज्ञानसँग खेल्ने पहिलेदेखि बनाइएको ‘प्लट’ हो? 

नेपाली जनता पुराना राजनीतिक दलका गतिविधिप्रति वाक्क थिए। एक खालको आक्रोश थियो। जनता विकल्प खोजीरहेका थिए। 

यहाँसम्म सबै ठिकै छ। 

ठिक कहाँनेर छैन भने नेपाल फेरि माथि भनेजस्तो ‘ग्रे एरिया’मा प्रवेश गर्दैछ। 

कसैले मलाई भन्न सक्छ– चुनाव यस्तै त हो नि ब्रो। 

म पनि भन्न सक्छु– चुनाव यस्तै हुन्छ। तर यत्तिसारो पनि हुनुहुँदैन ब्रो! 

जरालाइ सधैँ हल्लाइरहने र रुखलाई (कांग्रेसको चुनावचिह्न होइन है) बलियो हुन नदिने खेल पो कसैले खेलिरहेको छ कि ब्रो? सोच्नु पर्ने विषय यतातिर छ। 

सरकार बनाउने गणित आफ्नो ठाउँमा छ तर यो गणितमा खेल्नेहरुको दाउ अर्कै हुनसक्छ। 

त्यसकारण कृपया मेरो आग्रह छ– कमजोरहरुले कमजोरहरुलाई कमजोर बनाउने खेल नखेल्नुहोला। सबै मिले सबै बलियो भइन्छ। 

टाढाबाट नमागेको एउटा सुझाव दिउँ– अब नेपाली कांग्रेस र एमाले मिलेर पाँच वर्षको स्थिर सरकार दिउन्। र, रविको राष्ट्रिय स्वतन्त्र पार्टी र राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीहरु बलिया प्रतिपक्ष भएर रहुन। यसो भए न गणितको समस्या, न गणितसँग खेल्नेहरुको लफडा।

नयाँ अनुहार, स्वरुप र स्पिरिटको सच्चिएको कांग्रेस– एमालेको बलियो सरकार। 

यो मेरो राजनीतिक कुरा होइन। टाढाबाट देखेको दृश्यका आधारमा भन्दैछु। होइन भने न भगवान, न मन्दिर। घण्टीको त के कुरा? 

होइन भने दाउ खेल्नेभन्दा च्याँखे थाप्नेहरुले खाइदेलान् है।

यो लेख अन्त्य गर्नुअघि सदाझैँ म एउटा कौडा गीतको बोल उधृत गर्न चाहन्छु– 

डरलाग्दो भीरैमा रहरलाग्दो छ फूल 
हो हो माया 
फूल देखी नहोऊ चुलबुल।

कृपया कोही पति चुलबुल नहुनुहोला। 

फेरि पनि दोहोर्याएर भन्छु एउटा महत्वपुर्ण वाक्य– नेपाल महाभारत युगमा फेरि प्रवेश गर्यो। अर्थात् ग्रे एरियामा। पाण्डवहरु त्यहाँ छन्, कौरवहरु त्यहाँ छन्। शकुनी, अर्जुन र कृष्णहरु त्यहाँ छन्। धृतराष्ट्र र गान्धारीहरु त्यहाँ छन्। 

सुरु भयो महाभारत। यसका जटिलताहरुमाथि म फेरि लेख्नेछु। 

मंसिर १९, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.