ad ad

विचार


कसरी गर्न सक्छन् युवाले राजनीतिमा रचनात्मक हस्तक्षेप?

कसरी गर्न सक्छन् युवाले राजनीतिमा रचनात्मक हस्तक्षेप?

प्रमिल अधिकारी
साउन २४, २०७९ मंगलबार १७:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री बन्न योग्य भएको दाबी गरेका छन्। यसले नेपाली कांग्रेसभित्र वैचारिक तथा सांगठनिक हिसाबले गगनले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा उभ्याएका छन्। उनले सोहीअनुरुप तयारी पनि गरेको देखिन्छ। उनको कदमलाई राजनीतिक नेतृत्वमा युवाहरूको प्रभावकारी हस्तक्षेपको रूपमा व्याख्या गर्न सकिन्छ। 

स्थानीय तहको चुनाव २०७९ को तथ्यांकले युवाहरू राजनीतिमा आकर्षित भएको देखाउँछ। ४१.१४ प्रतिशत स्थानीय जनप्रतिनिधि ४० वर्षमुनिका युवाहरू निर्वाचित भएर आए। अपेक्षाकृत यी युवाहरूले राजनीति र विकासमा सिर्जनशीलता ल्याउन प्रयत्न गर्ने छन् भन्ने विश्वास गर्न सकिएला। पछिल्लो चरणमा युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने सोच तथा अभियानलाई स्थानीय तहको चुनावमा स्वतन्त्र युवाहरूको प्रतिस्पर्धा र विजयले पनि उत्साहित बनाएको देखिन्छ।

नेपालको राजनीतिमा युवाहरूको परिभाषालाई राजनीतिकरण गरिएको छ। सैद्धान्तिक हिसाबले युवाको परिभाषालाई हेर्दा १६ देखि ४० वर्षसम्मको उमेर समूहलाई युवा हुन्। तर, ६० वर्ष कटेका नेता पनि आफूलाई युवा नै भएको दाबी गर्दछन्। यसले राजनीतिमा युवाको कुरा गर्दा उमेरलाई मापदण्ड बनाउने कि परिपक्वतालाई भन्ने द्विविधा देखिन्छ। न्युजिल्यान्ड, उत्तर कोरिया, आयरल्यान्ड, अस्ट्रिया, युक्रेनसहित १२ मुलकमा ४० वर्षमुनिका युवाहरूले राजनीतिक नेतृत्व गरेको देखिन्छ। उनीहरू कति सफल वा असफल भन्ने विवेचनाको विषय पनि होला। तर, ४० वर्षका युवाले देशको नेतृत्व गर्न सक्ने उदाहरण प्रशस्त देखिन्छ। 

राजनीतिमा युवाको परिभाषा देशको विकासमा व्यक्तिले गरेको योगदान र परिपक्वताको आधारमा हुनु पर्दछ भन्ने मेरो मान्यता छ। आफ्नो राजनीतिक अनुभवलाई राज्यको नीति तथा कार्यक्रममा प्रभावकारी रूपमा लागू गर्न सके मात्र युवालाई सफल भन्न सकिन्छ। तर, राजनीतिक आन्दोलन, जेलनेल सहेर, मान्छे मारेर, राजनीतिक परिवर्तनको नेतृत्व गरेको भन्दैैमा देशलाई कुसंस्कार, भ्रष्टाचार, अन्धकार तिर लैजान्छन् भने त्यस्ता नेताको औचित्य समाप्त गर्नु युवाको दायित्व रहन्छ। 

हरेक राजनीतिक परिर्वतनमा युवा नै सडकमा आउने गर्छन्। राजनीतिक नेतृत्वको कुसंस्कारको दुष्चक्रमा युवाहरूलाई फसाइयो। युवाको उर्जा र सिर्जनशीलतालाई नेतृत्वले राजनीतिक परिर्वतनको नाममा दुरूपयोग गरेको छ। 

दलका नेताबाट वितृष्णा जागेको बेला युवा नेतृत्व आउनु पर्छ भन्नु स्वाभाविक हो। सचेत युवाहरूको उर्जाशील र चेतनशील विचार तथा सोच राज्यको नीति निर्माण र कार्यक्रम बनाउने स्थानमा आउनु पर्दछ। राजनीतिक दलका नेतृत्वले युवालाई ढुंगा हान्न, सडक तताउन र आफू युवाहरूको टाउकोमा टेकेर लाजनीति गर्ने संस्कार सिकाए। जसले गर्दा युवाहरू नेतृत्वमा आउन सकेनन् र आएका पनि कुहिएको आलुमा मिसिए जस्ता भए। युवाहरू वृद्ध राजनीतिक दलका नेताहरूको स्खलित विचारमा सत्ता र शक्तिको मातको जञ्जिरमा फसे। 

स्थापित राजनीतिक दलका नेताहरूबाट राष्ट्रिय सम्प्रभुत्ता, स्वाधीनता र विकासमा जनअपेक्षित सफलता हात लाग्न सकेन। राजनीतिक दलको विरासतले नेतृत्वमा पुगेकाहरू वृद्ध नेताहरूले देशलाई थप अन्योल र अन्धकारतिर धकेलेका छन्। त्यसैले पनि नेपालको राजनीतिमा युवा धक्काको आवश्यकता छ। क्रमशः युवाहरूको राजनीतिप्रतिको अभिरूचिले आगामी दिन नेपालको भविष्य उज्वल देखिन्छ नै। साथै उत्तिकै खतरा पनि छ। राजनीतिक दलभित्र मौलाएको अवसरवाद र भ्रष्टतन्त्रले युवा पुस्तालाई पनि त्यस्तै बनाउने सम्भावना छ। साथै, राजनीतिक दलले युवाहरूलाई नेतृत्वमा नल्याउने खतरा पनि उत्तिकै देखिन्छ। केपी शर्मा ओलीले काठमाडौँको उपप्रमुखमा सुनिता डंगोललाई आश्चर्यजनक ढंगले उठाउँदा एमालेका युवाहरुमा उत्साह देखिन्छ। तर यसले आगामी दिनमा निरन्तरता पाउँछ कि पाउँदैन, मुख्य प्रश्न त्यो हो।

स्थानीय तहमा नवपुस्तामा धरान नगरपालिकाका प्रमुख हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आशाको किरण देखाएका छन्। तर, उनीहरु स्वतन्त्र पृष्ठभूमिबाट आएको कारण नेपालमा जकडिएको राजनीतिको जञ्जालले असफल हुने हुन् कि भनेर चिन्तित बनाएको छ। स्थापित राजनीतिक दलको आवरणमा आउनु पर्ने बाध्यता उनीहरुलाई समेत देखिन्छ। सोहीकारण हिजोआज बालेन शाह राजनीतिक दलमा प्रवेश गर्ने हल्ला चल्न थालेको छ। यी दुई व्यक्तिले भोगिरहेका समस्याले केही प्रश्न भने जबर्जस्त उठिरहेको छ। के स्वतन्त्र व्यक्तिहरूले सरकार सञ्चालन गर्न सक्दैनन्? स्वतन्त्रहरूको दर्शन के मा आधारित छ? स्थापित राजनीतिक दलसँग सहकार्य गर्न चुनौती छ? यी दुई पात्रको कार्यबाट युवा तथा स्वतन्त्रहरूप्रतिको धारणा धेरै हदसम्म निर्मित हुनेछ।

केही दिनअगाडि नेकपा एमालेका अध्यक्ष ओलीको वक्तव्यले स्वतन्त्र युवाहरूको राजनीतिक मार्गलाई चुनौती दिएको देखिन्छ। राजनीतिक दलको सञ्जालले युवाहरूलाई स्वतन्त्र भएर राजनीतिमा आउन चुनौती थपेको छ। उदाहरणको रूपमा हर्क साम्पाङले नियमित रूपमा कार्यपालिका बैठक राख्न नसक्नु र बालेन शाहले काठमाडौँको फोहोर व्यवस्थापन गर्न नसक्नुलाई लिन सकिन्छ। 

समग्रमा युवाहरू राजनीतिमा आउने विषयमा देशव्यापी रूपमा अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ। तर कस्ता युवाहरू राजनीतिमा आउने भन्ने सवाल पनि महत्वपूर्ण हुनेछ। आलोचनात्मक चेत भएको, देशभक्त, देशको विकास, नेपालको मौलिकता तथा विश्वपरिवेशमा नेपालको गरिमामय उपस्थिति गराउन सक्ने युवा राजनीतिको आवश्यकता हो। नेपालमा युवाहरूलाई राजनीतिमा स्थापित गरेर ६० वर्षमाथिका नेताहरुलाई सम्मानजनक रूपमा विदाई दिने आवश्यक छ। तर, तत्काल यो सम्भव देखिँदैन।

अहिले समाजिक सञ्जाल तथा सञ्चार क्षेत्रमा बहसको विषय नै वृद्ध नेतृत्वको सम्मानजनक विदाई हो तर त्यो असम्भव देखिएकोले विकल्प भनेको नै युवाहरूको नीति तथा संरचनामा प्रभावकारी हस्तक्षेप हो। साथै, ती वृद्ध नेताहरुलाई हरेक क्षेत्रमा चुनौती दिन आवश्यक छ। अन्याथा युवाहरूको भूमिका कमजोर हुनेछ। 

मुख्यतः नेपालको राजनीतिमा युवाहरूको प्रभावकारी हस्तक्षेप राजनीतिक सुशासन, विकास, उद्यमशीलता, नीति निर्माण, भ्रष्टाचार अन्त्य, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका क्षेत्रमा आवश्यक छ। राजनीतिले सबै नीति तथा अभ्यासलाई डोर्याउने भएकोले पनि अनुकरणीय अभ्यासहरू युवाहरूबाट अपेक्षित रहन्छ। विकासमा जनतालाई डोर्याउने हर्क साम्पाङ मोडेल युवाहरूबाट अपेक्षित छ।

पक्कै पनि राजनीतिमा नवप्रवेशी युवाहरूलाई सुरूवाती अवस्था चुनौतीपूर्ण रहन्छ तर लक्ष्यप्रति निष्ठा र इमान्दारी देखाई आफू उर्जाशील भए सफल बन्न सकिनेछ। विचलित विचार, संस्कार र व्यवहार नवप्रवेशी युवाहरूका लागि घातक हुन सक्छ। युवाहरूबाट अपेक्षित अर्को महत्वपूर्ण सवाल भनेको भ्रष्टाचारमुक्त समाज तथा शासन प्रणाली हो। जवाफदेही तथा जनताप्रति उत्तरदायी शासन प्रणाली हो। जनतालाई साझेदार बनाई उत्पादनशीलता बढाउनु हो। आफ्नो मौलिक पहिचान र संस्कृतिलाई प्रबद्र्धन गर्नु हो।

अन्त्यमा, राजनीतिमा युवाहरूको आकर्षण बढ्नु देशको लागि सकारात्मक पक्ष हो तर ती युवाहरूले राजनीतिक चेत र सकारात्मक आलोचना सहित विकासमा निष्ठा र इमान्दारिता देखाउन सक्छन् सक्दैनन् भन्ने चुनौती भने रहिरनेछ। युवा हुनेबित्तिकै विकास हुने होइन। उनीहरूले कस्ता प्रगतिशील र जनअपेक्षित कार्य गर्न सक्छन् र  स्थापित राजनीतिक दललाई कति चुनौती दिएर आफू स्थापित हुन सक्छन् भन्ने कुरा महत्वपूर्ण रहन्छ। समग्रमा युवाहरू राजनीतिमा आउने वा स्वतन्त्र भएर राजनीतिमा आउनेहरूको भविष्य निर्धारण अहिलेका विजयी युवा राजनीतिज्ञहरूको प्रगति र व्यवहारले तय गर्नेछ। प्रदेश तथा संघको चुनावमा सचेत युवाहरूको विजय होस्, जसले राज्यको नीति तथा संरचना बनाउन प्रभावकारी हस्तक्षेप गर्न सकून्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .