दशकौंदेखि काम र नाम दुवैमा ओझेलमा परेको धरान अहिले एक व्यक्तिका कारण संसारभर नेपालीमाझ चर्चामा छ। परम्परागत शक्तिशाली राजनीतिक दलहरूलाई नमीठो पराजयको स्वाद चखाउँदै स्वतन्त्रबाट अप्रत्याशित रूपमा मेयर पद जितेपछि चर्चामा आएका हर्क साम्पाङ अहिले धरानको विकास निर्माणमा दत्तचित्त भई लागेका कारण सबैको नजर उनमा परेको छ।
धराने जनतालाई नियमित रूपमा विकासका काममा श्रमदान गराउन सफल साम्पाङको अहिले प्रशंसक दिन दुईगुणा रात चारगुणा बढिरहेको छ। सँगसँगै उनको लोकप्रियताबाट आत्तिएर आलोचना र विरोध गर्नेहरूको संख्या पनि बढिरहेको छ।
साम्पाङको निष्ठा र इमान्दारितामा कसैले शंका नगरे पनि उनको कार्यशैलीको आलोचना बढ्ने क्रम जारी छ। विशेषगरी भावनामा बगेर घण्टैपिच्छे फेसबुक स्टाटस लेखेर आफ्ना आलोचकहरूलाई चिढ्याउने र निहुँ खोज्ने काम अपरिपक्व देखिन्छ।
हर्कले राम्रो काम गरिरहेको कुरा सबैसामु देखिएकै छ तर प्रशंसक र फलोअरहरूलाई नै झर्को लाग्नेगरी आफूले आफूलाई महान् देखाउने खालको स्टाटस फेसबुकमा आइराख्नुले भविष्यमा उनको लोकप्रियता कतै फेसबुके मात्र हुने हो कि भन्ने चिन्ता पनि छ।
अर्को गम्भीर पक्ष – साम्पाङका समर्थकहरूको उत्तेजित र अराजक भावना – जुन उनका लागि मर्न र मार्न तयार हुने खालका प्रतिक्रियाबाट बुझ्न सकिन्छ। जुन सभ्य र शान्त समाजका लागि अशोभनीय र खतरनाक देखिन्छ। उनको बारेमा कसैले आलोचना गरे कि उनका समर्थक गालीगलौज र हिंस्रक तरिकाले प्रस्तुत हुन्छन्। हर्क यसलाई आफ्नो सफलता ठान्छन् र फेसबुकमा यसलाई झन् मलजल गर्दै स्टाटस लेख्छन्। यसले समाजमा विखण्डन ल्याउँछ। दण्डहीनता र हिंसालाई प्रोत्साहन गर्छ। यस्तो प्रवृत्तिले आलोचकलाई ठेगान लगाउन तानाशाह जन्मिन्छ। हामी कोही पनि हर्क साम्पाङलाई त्यो बाटोमा गएको हेर्न चाहँदैनौं। अहिलेको शिक्षित र खुला समाजमा यो सम्भव पनि छैन।
अहिले परम्परागत पार्टीका नेता/कार्यकर्ता हर्कको उदयबाट तर्सिएका छन्। धरानमा एकछत्र राज गरेका राजनीतिक दलहरूका लागि हर्कको यसप्रकारको लोकप्रियता उनीहरूको अस्तित्व र राजनीतिक भविष्यका खतराको घण्टी बनेको छ। त्यसमा हर्कको ती पार्टीका नेता/कार्यकर्तालाई उडाउने खालका फेसबुके अभिव्यक्तिले उनीहरू हर्कविरुद्ध कुनै पनि बेला जाइलाग्न सक्ने संकेत देखा पर्न थालेको छ। बराहको घटनालाई उदाहरण मान्न सकिन्छ।
आमनिर्वाचन नजिकिँदै गरेकोले राजनीतिक दल र हर्कका अरु आलोचक पर्ख र हेरको अवस्थामा छन्। निर्वाचन सकिएलगत्तै हर्कको विरोधमा आउन सक्ने बाढीको रोकथाम गर्न र लड्न हर्क कत्तिको तयार छ, त्यो हेर्न बाँकी छ। उनको अहिलेको क्रियाकलापले त्यस्ता विरोधको बाढी रोकिने होइन बढ्ने लक्षण देखिएको छ।
कार्ययोजना बनाउँदा प्रायः एक्लै निर्णय गर्ने र म एक्लैले धरानको विकास गर्न सक्छु भन्ने भावना बोकेका हर्कसँग धरानका अन्य विकासप्रेमी सहकार्य गर्न असजिलो महसुस गर्छन्। अरूका कुरा नसुन्ने र रुखो बोली/व्यवहारका कारण पनि धरानका विज्ञ समूह हर्कसँग टाढिएको छ। तटस्थ भइबसेका धरानका समाजसेवी, बुद्धिजीवी, विज्ञ हर्कका अपरिपक्व स्वभाव, रुखो बोली/व्यवहार र सबै काम आफैं गर्ने, एक्लै हिँड्ने प्रवृत्तिको भनेर आलोचना गर्न थाले भने हर्कले सोचेको विकासको गतिमा ‘ब्रेक’ लाग्न सुरु हुन्छ। उनलाई चौबीसै घण्टा विरोध र आलोचनाविरुद्ध फेसबुकमा स्टाटस लेख्न भ्याईनभ्याई हुन्छ। विकासका लागि सञ्चित शक्ति फेसबुकले सकिदिन्छ। यस्तो कुरामा हर्क अहिलेदेखि नै सचेत हुन जरुरी छ।
यसरी तरबारको धारमा हिँडेका हर्कको एकातिर उत्तेजक समर्थक छन् भने अर्कातिर प्रहार गर्न पर्खेर बसेका राजनीतिक दलका नेता÷कार्यकर्ता र विरोधी छन्। हर्कका ‘डाइहर्ट फ्यान’ उनका विरुद्ध एक शब्द पनि आलोचना सुन्न सक्दैनन्। मर्न र मार्न तयार हुन्छन्। यो आक्रोशित जत्थालाई समयमै नियन्त्रण नगरी यसको वाहवाहीमै रमाउँदै उत्तेजक प्रवृत्तिलाई प्रोत्साहन गर्नु भनेको धरानको शान्ति सुरक्षामा ठूलो चुनौती हो, हर्ककै राजनीतिक भविष्यमा पनि प्रश्न चिह्न हो।
यसले निम्त्याउने भनेको अराजकता हो। एउटा असल नेताले आलोचनालाई सकारात्मक रूपमा लिन्छ र विरोधीको स्वरलाई जनप्रिय कामले मत्थर पार्छ। हर्कले गरिरहेको जनप्रिय कामलाई उनकै उत्तेजक फेसबुके अभिव्यक्तिले ‘न्युट्रल’ गरिरहेको छ।
संयमता अपनाउँदै आफ्ना समर्थक र प्रशंसकलाई सकारात्मक सोचका साथ नेतृत्व प्रदान गर्ने दायित्व बहन गर्दै अघि बढे नेपालले हर्कको रूपमा एउटा राजनेता पाउनेछ। राजनेताले विरोधी र आलोचक सबैलाई समेटेर दिर्घकालीन गुरु योजनाहरू बनाउँछ र कार्यान्वयन गर्छ। आशा गरौं– हर्कमा राजनेताका गुण देख्न पाइयोस्।
Shares
प्रतिक्रिया