ad ad

विचार


देशलाई श्रम निर्यातमा कहिलेसम्म टेको लाउने?

देशलाई श्रम निर्यातमा कहिलेसम्म टेको लाउने?

सीमा बन
असार २८, २०७९ मंगलबार १७:३४, काठमाडौँ

सामान्य अर्थमा विप्रेषण भन्नाले कुनै पनि व्यक्तिले आफ्नो रोजगारी वा व्यापार व्यवसायको सिलसिलामा आर्जन गरेको रकमलाई आफ्नो आफन्त एवं अन्य कुनै लेनदेन गर्नुपर्ने व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँ पठाउने प्रक्रियाका रुपमा बुझिन्छ। विप्रेषणलाई आन्तरिक र बाह्य गरी दुई भागमा विभाजन गरिएको हुन्छ।

देशको कुनै एक ठाउँबाट अर्को ठाउँमा नगद रकमान्तर गर्नुलाई राष्ट्रिय विप्रेषण भनिन्छ। त्यस्तै कुनै पनि वैदेशिक रोजगारीको क्रममा अन्य मुलुकमा गई आर्जन गरी बचत भएको रकमलाई स्वदेशमा आफ्ना आफन्तलाई पठाउने कार्यलाई अन्तर्राष्ट्रिय विप्रेषण भनिन्छ। अन्तर्राष्ट्रिय विप्रेषणबाट स्वदेशमा रकमान्तर गर्दा देशको राष्ट्रिय आय वृद्धि हुनका साथै पुँजीको मात्रा बढ्छ।

सन् १९८० को दशकदेखि लागू भएको आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणले वैदेशिक रोजगारीलाई थप सहज बनाएको छ। नेपालमा पनि विगत दुई दशकयता वैदेशिक रोजगारीका लागि जानेको संख्या र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै आएको छ। रोजगारीका अवसर तथा तलबभत्ता एवं सेवा सुविधामा भिन्नता हुने भएकोले श्रमिकहरु कम अवसर तथा सेवा सुविधा हुने मुलुकहरुबाट कामको पर्याप्त अवसर भएका र तलब सुविधा राम्रो भएका मुलुकमा जाने गर्दछन्।

देशको अर्थतन्त्रलाई क्रियाशील बनाउन आय तथा रोजगारीको महत्वपूर्ण भूमिका रहन्छ। देशभित्र रोजगारीका अवसरहरु पर्याप्त मात्रामा उपलब्ध नहुनाले वैदेशिक रोजगारी नै नेपालका युवाहरुका लागि रोजगारीको प्रमुख श्रोत बनेको छ। नेपालमा विप्रेषण औपचारिक तथा अनौपचारिक दुवै माध्यमबाट भित्रिने गरेको पाइन्छ। अनौपचारिक माध्यमबाट भित्रिने विप्रेषणको अद्यावधिक एवम आधिकारिक तथ्याङ्क नभए पनि यस्तो माध्यमबाट उल्लेख्य मात्रामा विप्रेषण भित्रिने गरेको अनुमान छ।
 
विश्वमा आर्थिक उदारीकरणपूर्व सीमित नेपालीहरु मात्र वैदेशिक रोजगारीमा जाने गरेकोमा आर्थिक उदारीकरण पश्चात यो प्रवृत्ति बढेको छ। नेपालले हाल संस्थागत रुपमा वैदेशिक रोजगारीका लागि १११ देशहरु खुल्ला गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ६८ हजार ४ सय ३३ नेपाली श्रमिकहरुले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए।

आर्थिक वर्ष २०७७/७८ मा १ लाख ६६ हजार ६ सय ९८ नेपाली श्रमिकहरुले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। आर्थिक वर्ष २०६७/६८ देखि २०७७/७८ सम्म करिब ४४ लाख युवाहरु श्रम स्वीकृति लिएर विदेश गएको देखिन्छ।

त्यसैगरी चालु आर्थिक वर्षको जेठ महिनामा मात्र कुल ६२ हजार ३ सय ४९ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् भने गत वर्षको सोही अवधिमा यो संख्या जम्मा ५ हजार ६ सय ७६ जना मात्रै थियो।

हाल दैनिक दुई हजारको हाराहारीमा युवा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको लागि विदेशिने गरेका छन्। वैदेशिक रोजगारीबाट सामान्यतया २ देखि ३ वर्षमा स्वदेश फर्कने भए तापनि फर्किएका श्रमिकको अद्यावधिक अभिलेख उपलब्ध नभएकाले हाल विदेशमा कार्यरत नेपालीहरुको संख्या यकिन गर्न कठिन छ। तथापि, वैदेशिक रोजगारीका उदेश्यले विदेशमा कार्यरत नेपालीहरुको संख्या करिब ५० लाख रहेको अनुमान गरिएको छ।  
नेपालको बाह्य क्षेत्र सन्तुलनको प्रमुख आधारको रुपमा विप्रेषण आप्रवाह रहँदै आएको छ। विगत दस वर्षमा जीडीपीमा विप्रेषणको औसत अनुपात २५ प्रतिशत छ। नेपालको गरिबी न्यूनीकरण लगायत सामाजिक एवं मानव विकास सूचकाङ्कमा भएको उल्लेख्य सुधारमा समेत वैदेशिक रोजगारीमा गएकाहरुको आर्जनको महत्वपूर्ण योगदान छ।
 
तथ्याङ्क अनुसार कुल रोजगारीमा जाने कामदारमध्ये करिब ७५ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् भने खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण कुल विप्रेषणको करिब ५० प्रतिशत छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७१/७२ मा १६ जिल्लाका जम्मा ३२० घरपरिवारमा गरेको स्थलगत सर्वेक्षण र सोका आधारमा तयार गरिएको अध्ययन ‘विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति’ अनुसार विप्रेषण रकमको २५.३ प्रतिशत अंश ऋण तिर्नमा, २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यमा र ३ प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग गर्ने गरेको देखिएको छ भने विप्रेषण रकमको २८ प्रतिशत बचत र १.१ प्रतिशत मात्र उत्पादन मूलक क्षेत्रमा लगानी भएको देखिएको छ। 

विप्रेषणका रुपमा भित्रिने रकमको अधिकांश हिस्सा उपभोग्य वस्तुमा खर्च भइरहेको छ। नेपालको अर्थतन्त्र र आम नेपालीको जन–जीविकामा ठूलो महत्व रहेको विप्रेषणलाई आधिकारिक मात्रामा औपचारिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरु विस्तारमा जोड दिने हो भने घट्दै गरेको विप्रेषण आय निकट भविष्यमै बढ्न गई वैदेशिक मुद्रा आर्जनमा समेत टेवा मिल्ने देखिन्छ।

    
विप्रेषणले उपभोगवादी प्रवृत्तिमा वृद्धि गर्छ। जसबाट आयातमा वृद्धि हुन जान्छ। यसले राजस्व संकलनमा समेत सकारात्मक असर पार्दछ। नेपालमा लामो समयसम्म सशस्त्र द्वन्द्व तथा राजनीतिक अस्थिरता भएको अवस्थामा पनि गरिबीको मात्रा नबढ्नु र महामारीका समयमा समेत विप्रेषण आयले खेलेको भूमिका महत्वपूर्ण छ। बालश्रममा कमी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिने खर्चमा वृद्धि, जीवनस्तरमा भएको सुधार आदिलाई वैदेशिक रोजगारी तथा विप्रेषणको सकारात्मक योगदानको रुपमा लिन सकिन्छ।
 
तथापि, वैदेशिक रोजगारीका नकारात्मक पक्षलाई नजरअन्दाज गर्न सकिँदैन। विप्रेषणले एकातिर खर्चयोग्य आम्दानीमा वृद्धि गर्छ। यसले गर्दा विप्रेषण प्राप्त गर्ने परिवारका सदस्यहरु विस्तारै विलाशी जीवनतर्फ आकर्षित हुन्छन्, शहर केन्द्रित बसाइ रोजाइमा पर्छ, पूर्ववत् मेहनत गर्ने बानीमा कमी आउनुको साथै काम गर्नुपर्ने बाध्यात्मक स्थिति नहुँदा देशको कुल श्रम आपूर्तिमा ह्रास आउने सम्भावना रहन्छ। परिणामस्वरुप ज्यालामा वृद्धि हुने, देशको उर्वरभूमि बाँझो रहने, आयात र उपभोगमा वृद्धि हुने, स्वदेशी उत्पादनमा ह्रास आउने लगायतका समस्या देखा पर्दछन् भने अर्कोतिर परिवार अलग अलग भएका छन्, बच्चाहरु स्कुलको चौघेरा भित्र सीमित भएका छन, आफन्तजन बिरामी हुँदा अस्पतालमा कुरुवाको अभाव छ।

सन्तानको अभावमा कष्ट मान्दै जीवन सकिएपछि कैयौँ आमाबुबा सन्तानको पर्खाइमा शवगृहमा निदाएका छन्। गाउँ खाली हुन थालेका छन्, मर्दाका मलामी र पर्दाका इष्टमित्रको अभाव छ। त्यतिमात्रै नभई हरेक दिन बन्द बाकसमा शव आइरहेका छन्। वास्तवमा विप्रेषण प्राप्त गर्ने परिवारका सदस्यले पारिवारिक र सामाजिक मूल्य गुमाएका छन्।
 
अल्पकालमा विप्रेषण कम हुँदा आर्थिक क्रियाकलाप संकुचित हुन्छन्। तथापि, दीर्घकालका लागि यो भरपर्दो साथी होइन। यसको विकल्प खोज्नै पर्छ। नेपालमा विप्रेषणलाई नीतिगत, कानुनी तथा व्यावहारिक रुपमा व्यवस्थित गर्न विविध प्रयास गर्दागर्दै पनि विप्रेषणको अनौपचारिक कारोबार र अनुत्पादक प्रयोगलाई न्यूनीकरण गर्न कठिनाइ भइरहेको देखिन्छ।  

वैदेशिक रोजगारीको क्रममा हासिल गरेको सीप, ज्ञान र उधमशीलता स्वदेशमा उपयोग गरी स्वरोजगार र रोजगारका अवसर विस्तार गर्न अनुकूल वातावरण सिर्जना गर्ने, वैदेशिक रोजगारीमा जाने कामदार तथा तिनको परिवारलाई वित्तीय साक्षरता प्रदान गरी विप्रेषण आयको उपयोग प्रभावकारी बनाउने, विप्रेषणलाई आधिकारिक माध्यमबाट पठाउन उत्प्रेरित हुने गरी विशेष प्याकेज कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ। विप्रेषकका परिवारले समेत वैदेशिक रोजगारीका लागि आफ्नो परिवारको सदस्यको त्याग र समपर्णलाई आत्मसात गर्दै विप्रेषण आयलाई पुनः आयमुलक क्षेत्रमा लगानी गरी परिवारको भविष्य सुनिश्चित गर्नेतर्फ स्वयं उत्प्रेरित हुनु जरुरी छ।
 
वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले वास्तविक अर्थमा विदेशी विनिमयको अधिमूल्यन र स्वदेशी मुद्राको अवमूल्यन भई निकासीको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास गराउँछ। यो एक नीतिगत चुनौती पनि हो। यी नकारात्मक प्रभावबाट बच्न देशमा लगानीको वातावरण र रोजगारीको अवसर सिर्जना गर्न जरुरी छ।

श्रम निर्यात गरेर मात्रै देशमा समृद्धि प्राप्त हुन सक्दैन। कहिलेसम्म श्रम निर्यातमा देशलाई टेको लाउने? विप्रेषणको निर्भरतालाई खुकुलो पार्दै अर्थतन्त्रको रुपान्तरण गर्नेतर्फ बेलैमा सोच्नुपर्ने देखिन्छ। दिगो र गतिशील अर्थतन्त्रका लागि आन्तरिक उत्पादन, निर्यात प्रवद्र्धन, उधोगधन्दा तथा पर्यटन प्रवर्द्धनजस्ता उपाय अपनाएर तिनलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउन नीति निर्माताहरु केन्द्रित हुन जरुरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .