ad ad

विचार


स्थानीय निर्वाचनमा एउटा चुक, अरु सबै ठिक

स्थानीय निर्वाचनमा एउटा चुक, अरु सबै ठिक

बालेन शाहले भोलि ठूलै माछो नमार्न पनि सक्छन्। माछा मार्न कहाँ सजिलो छ र?


सन्जय घिमिरे
जेठ ८, २०७९ आइतबार १६:२२, टेक्सास (अमेरिका)

टाढाबाट बडो रोमाञ्चित तरिकाले म नेपालको स्थानीय निर्वाचनका परिणामहरु हेरि/सुनिरहेको छु। 

टाढाबाट हेर्दा, अहिलेको निर्वाचन परिणाम अति स्वाभाविक लाग्छ। मेरो विचारमा जस्तो परिणाम आउनुपर्थ्यो, त्यस्तै परिणाम आएको छ। कहीँकतै चुक भएको एउटा कुरा छ, त्यो म अलि पछि भन्नेछु। 

त्यो भन्दा पहिले जे परिणाम आएको छ, त्यसका बारेमा म केही बुँदागत व्याख्या गर्न चाहन्छु।

एक– यो निर्वाचनमा नेपाली कांग्रेस पहिलो हुनै पर्थ्यो। नेपाल कम्युनिस्ट पार्टी एमाले त्यत्रोविधि छिन्नभिन्न भएको अवस्थामा पनि नेपालको राजनीतिको ‘मियो’ जस्तै मानिने कांग्रेस पहिलो नभएको भए सो पार्टी सिद्धिएको मानिन्थ्यो। कांग्रेसका अहिलेका सभापति शेरबहादुर देउवाका हजार अवगुणहरु होलान्, तर कांग्रेस सिद्धिएको सन्देश जानु नेपाली राजनीतिको दीर्घकालका लागि असाध्यै घातक हुन सक्थ्यो। यसो हुनुबाट यो निर्वाचनले जोगाएको छ। 

यसो भनेर म नेपाली कांग्रेस गुणवान छ भनिरहेको छैन। यति मात्र भनिरहेको छु– सभापति जस्ता होऊन्, आन्तरिक तथा बाह्य शक्ति सन्तुलनका लागि पनि नेपाली राजनीतिमा अहिले नै नेपाली कांग्रेस एकदमै कमजोर देखिनु हुँदैन। बडो सोचविचार गरिकन म यो कुरा भनिरहेको छु। पश्चिमाहरुले नेपालको एउटा बलियो प्रजातान्त्रिक शक्ति भनेर मान्ने नेपाली कांग्रेस असाध्यै कमजोर हुँदा नेपाललाई हेर्ने दृष्टिकोण र दबाबमा फरक पर्न सक्छ। यो धान्न सक्ने ताकत अहिले नै नेपालसँग छैन। 

दुई– यसपटकको निर्वाचनको परिणामलाई म यसकारण स्वाभाविक भनिरहेको छु कि यो निर्वाचनले कतै न कतै, कुनै न कुनै रुपमा एमालेका अध्यक्ष केपी ओलीको अहं र देवत्वकरणमा ‘ब्रेक’ लगाउनु पर्थ्यो। अध्यक्ष ओलीका कयौँ गुणहरु होलान् तर उनी भगवान चाहिँ होइनन् है भनेर बुझाउनु जरुरी भइसकेको थियो। यसपटकको निर्वाचनले यो जरुरत पनि पुरा गर्यो। खासमा, सयौँ उत्तेजना, मनोविज्ञान, स्वार्थ र घमण्डमा बाँच्ने कोही पनि औसत मान्छे देवता बन्नै सक्दैन। मैले यो सबै मान्छेको हकमा भनेको हो।

तीन– यो निर्वाचनले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र खासगरी प्रचण्डलाई अति निराश बन्न दिनु पनि हुँदैनथ्यो। जसले जे भने पनि आजको नेपालमा जस्तो शासन व्यवस्था छ, त्यसको मूल जस प्रचण्डलाई जान्छ, भलै अहिलेको शासन व्यवस्थामा अनेक विकृतिहरु छन्। गणतन्त्रले के नाप्यो भन्न सकिएला, तर गणतन्त्रलाई स्वीकार्ने हो भने प्रचण्डलाई नेपालको गणतान्त्रिक राजनीतिक इतिहासमा कहिल्यै पनि अस्वीकार गर्न सकिँदैन। भलै उनले अपनाएको बाटोमा अनेक त्रुटि थिए। यस्तो पात्रलाई कुनामा पारेर अहिले नै बिरालो कुटिएझैँ गरी कुटिनु हुँदैनथ्यो। यसपटकको निर्वाचन परिणामले यसो हुनबाट जोगाएको छ। 

चार– भर्खर जन्मेको वा अनेक तरिकाले जन्माइएको नेकपा एकीकृत समाजवादीमा केही न केही श्वास भर्नुपर्ने थियो। माधव नेपाल वा झलनाथ खनाल अहिले नै नामोनिसान हराउनुपर्ने पात्र होइनन्। यो निर्वाचनले बडो मुस्किलले जन्मिएको एकीकृत समाजवादी नामको बच्चामा पनि श्वास भरिदिएको छ। समयक्रममा कसरी बाँच्छ, उसको कुरा हो। 

अब  पाँचौ र अलि गाँठी कुरा– जति तारिफ र टिप्पणी गरिए पनि, माथि भनिएका ती सबै पात्र र चरित्रहरु नयाँ पुस्ताका लागि सिर्फ पुरातनपन्थी हुन। वि.सं. २०६० ताका जन्मिएको पुस्ताले नेपाली राजनीतिका ठूला आन्दोलन र ठूला नेतालाई जान्दैन। न गणेशमान सिंह चिन्छ, न कृष्णप्रसाद भट्टराई चिन्छ, न मनमोहन अधिकारी वा मदन भण्डारी चिन्छ, न उसलाई दस वर्षे द्वन्द्वको अनुभव छ। यो पुस्तालाई लामा, परम्परागत सिद्धान्त र आदर्शमा खासै रुचि छैन। रुचि हुने कुरा पनि भएन। यो त टेक र टिकटकको समय हो। 

केही दिनअघि एउटा हेर्ने कथा हेरिरहेको थिएँ, जहाँ डोल्पाका महिलाहरु जुम्लाबाट दुई दिन लगाएर हिँडेर डोल्पा फर्कंदै थिए। उनीहरु पनि टिकटकको कुरा गरिरहेका थिए। कल्पना गर्नुस् त, समयमा कति फेरो परिसक्यो? यो समय, तीस सेकेन्डको टिकटकको समय हो। तीस सेकेन्डमा जसले आज जे सशक्त ढंगले भन्न सक्छ, त्यसले लाखौँ दर्शक भेट्टाउँछ। 

यो समयमा तिमी सबै पुरातनपन्थीहरु केवल सिद्धान्तका कुरा गर्छौ, हामीलाई अलिकति नयाँ कुरा चाहिएको छ भन्नु थियो। यसपटकको निर्वाचनमा राजधानी काठमाडौँका मेयरका उमेदवार बालेन शाहलाई अत्यधिक मत दिएर जनताले यो पनि सन्देश दिएका छन्।

कमसेकम यसपटक भन्नु पर्ने थियो दलहरुलाई– तिमीहरुले अहिलेसम्म जे गरिरहेका छौ, त्यो ठिक गरिरहेका छैनौ। यसपटक यो पनि भनिदिए। भलै बालेन शाहले भोलि ठूलै माछो नमार्न पनि सक्छन्। माछा मार्न कहाँ सजिलो छ र? धेरै बन्दोबस्त मिलाउनु पो पर्छ त। झन् नेपाली राजनीति र समाजको खोलो त असाध्यै अक्कडो छ। जे भए पनि अहिलेलाई यो सन्देश नै काफी छ– अब परम्परागत राजनीति, गफ र शैलीले चल्दैन। 

कतिपय विश्लेषकहरुले भनेको सुन्छु– काठमाडौँका जनताले दलहरुलाई अस्वीकार गरे। एमाले वा कांग्रेसका मान्छेले पनि बालेनलाई मत दिए। 

ती खासमा साँच्चिकै कहिल्यै एमाले वा कांग्रेसका मान्छे थिए र? खासमा सैद्धान्तिक रुपमा कोही कसैको थिएन र होइन। 

नेपालमा मार्क्सवाद पढेर कम्युनिस्ट भएका र प्रजातान्त्रिक समाजवाद पढेर नेपाली कांग्रेस भएकाहरुको मतले मात्र कसले निर्वाचन जित्छ र? 

म त भन्छु– आजसम्म नेपाली राजनीति तीन चिजको वरिपरि अड्किएको छ– सम्बन्ध, ‘सर्कल’ र स्वार्थ। सिद्धान्तका लम्बेतान गफ सब बेकार हुन् हिजो पनि। झन् बेकार हुन्– आजको ‘हाइ स्पिड’ दुनियाँमा। 

आजका मान्छेलाई चाहिएको छ- ‘अपिल’, ‘ओथेन्टिसिटी’ र ‘इनोभेटिभ आइडिया’। मैले ठ्याक्क नेपाली शब्द नपाएकोले तीन अंग्रेजी शब्दहरु प्रयोग गरेँ। माफ गर्नुहोला। 

अँ, झण्डै बिर्सिएको सुरुमै भन्छु भनेको एउटा कुरा। कहिँकतै केही चुक भएको एउटा कुरा। त्यो कुरा के भने, यो निर्वाचनमा नेपाली कांग्रेस एक्लै लडनु पर्थ्यो। कांग्रेस एक्लै लडेको भए, एकादुई सिटमा फरक पर्दो होला तर एमालेले कांग्रेसलाई गठबन्धन गरेर पाएको सिट भनेर हिस्याउन र माओवादी वा समाजवादीले हामीले सहयोग गरेर पाएको सिट भनेर घमण्ड गर्न पाउने थिएनन्। यहाँनेर नेपाली कांग्रेस चुक्यो। नेपाली कांग्रेसले आफ्नो ताकतलाई आफ्नो हो भन्न पनि पाएन। 

बाँकी त यसपटकको निर्वाचनको परिणाम जे भयो, ठिकै भयो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .