ad ad

विचार


देउवालाई नचिढ्याउने दिल्लीको संकेत, पहिलो चरणमै होलान् सभापति?

देउवालाई नचिढ्याउने दिल्लीको संकेत, पहिलो चरणमै होलान् सभापति?

डा. उद्धव प्याकुरेल
मंसिर १९, २०७८ आइतबार २०:३९, काठमाडौँ

लामो रस्साकस्सीबीच नेपाली कांग्रेसले चौधौं महाधिवेशन गर्दै छ। मुख्य तीन दलले एकैसाथ जस्तो महाधिवेशन गर्दैरहेको देखिए पनि कांग्रेसको महाधिवेशन अरू दलको भन्दा बढी चर्चामा देखिन्छ। 

दलहरूको सांगठनिक संरचनामा सबभन्दा तल्लो तह मानिने वडा अधिवेशन नै कांग्रेसका सन्दर्भमा अन्य दलका महाधिवेशनसरह हुन पुग्यो। नेकपा एमाले र माओवादी केन्द्रले एक दिनमै सकाएका वडा तहका अधिवेशन कांग्रेसले तीन महिनामा पनि सल्टाउन सकेको छैन। यसको एउटा कारण कांग्रेसमा सहमति खोज्ने नभई आफ्नालाई सदस्यता दिलाउनेमै होडबाजी देखियो।

दलभित्रको आन्तरिक समूहबीचको प्रतिस्पर्धा त नौलो भएन, देशमा रहेका सामाजिक समूह पनि आफ्ना आवाजसहित कांग्रेसको अधिवेशनलाई आफ्नो समुदायअनुकूल बनाउन लागिहाले। वडा अधिवेशन नै सुरु नहुँदै दलित समुदायले वडा तहदेखि नै समावेशी समिति बनाउन दबाब दियो, केही दिनको छलफलपछि त्यस विषयलाई सम्बोधन गरेर कांग्रेस अगाडि बढेको देखिन्छ। 

योसँगै सामाजिक समुदाय खासगरी महिला, मधेसी, दलित, जनजातिलगायत सीमान्तकृतलाई वडा तहदेखि नै नेतृत्वमा ल्याउन नीतिगत निर्णयमा यसपटक कांग्रेस एक कदम अगाडि देखिन्छ। त्यसो त विभिन्न सामाजिक समूहको आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री बनाउनेगरी विधानमा गरिएको व्यवस्थाले केन्द्रीय पदाधिकारीमा पनि सबैको प्रतिनिधित्व गराउने निर्णयलाई समानुपातिक समावेशिताको बाटोमा अघि बढिरहेको सन्देश दिन खोजेको भन्न सकिन्छ।  

हेर्दा कार्यकर्तामा आधारित जस्तो नलाग्ने कांग्रेसमा पनि नेतृत्व चयनका लागि क्रियाशील सदस्यताको प्रावधान छ र त्यसैका आधारमा नेतृत्व चयन हुन्छ। आम जनता वा ‘मास’मा आधारित दलको चरित्र देखिने कांग्रेसले नेतृत्वका लागि क्याडरका आधारमा मान्ने परम्पराले कतै कांग्रेस कमजोर त भएको छैन भनेर प्रश्न उठेका छन्। यस प्रावधानले गर्दा सक्रिय र मतदातालाई प्रभावमा पार्नसक्ने स्थानीयभन्दा नेतृत्वमा जान आफू वा आफ्ना गुटलाई सहयोग गर्ने व्यक्ति कांग्रेस नेताका रोजाइमा पर्ने गरेको भनेर आलोचना पनि भइरहेको पाइन्छ।

जब दलभित्रको नेतृत्वको होडमा राम्रा मान्छे पाखा पर्छन्, तब आम निर्वाचनमा उनीहरूको सक्रियता पनि कमजोर हुँदै जाने अवस्थाको अनुभव स्थानीय रूपमा चर्चा भइरहन्छ। विधानमा व्यवस्था गरिएको समावेशी प्रावधानका लागि क्रियाशील सदस्यको संख्यामा पनि महिला, दलितलगायत अरू थप गर्नुपर्ने अवस्थामा अब कांग्रेस नेतृत्व ‘हाम्रा’भन्दा दलका लागि आम निर्वाचनमा मत ल्याउने ‘राम्रा’ अर्थात् समाजले पत्याएकाहरूतर्फ लाग्नपर्ने देखिन्छ।

केन्द्रमा कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित भए पनि क्रियाशीलमा २५ प्रतिशत रहेको महिला सदस्यता संख्या कसरी थप्ने भन्ने विषयमा सोच्नपर्ने एकातिर देखिन्छ भने अर्कातिर १८ देखि ४० वर्षका क्रियाशील सदस्य एकतिहाइ देखिइरहँदा केन्द्रीय नेतृत्वमा उक्त उमेर समूहलाई कसरी स्थान दिने भन्ने अर्को चुनौती थपिएको देखिन्छ। २५ वर्षभन्दा कम उमेर समूहका सदस्य राम्रो संख्यामा देखिनु उक्त दलका लागि सुखद समाचार त्यतिखेर हुन्छ, जतिखेर त्यो समूहको संख्या क्रियाशील सदस्यतामा मात्र होइन, जिल्ला, प्रदेश र केन्द्रीय तहमा पनि अरू बढेर जान्छ। पहिलोपटक देखिएको उक्त उमेर समूहको उल्लेख्य सक्रियतालाई यस महाधिवेशनले कहाँ, कसरी व्यवस्थापन गर्छ, त्यसैले आगामी दिनमा उनिहरूको संख्या बढ्ने वा घट्ने अवस्था आउने पक्का छ।  ​

तीनचौथाइ जिल्ला अधिवेशनको परिणाम आइसकेका कारण अब केन्द्रीय नेतृत्वको अनुमान सुरु हुनु स्वाभाविक हो। सरसर्ती हेर्दा विभिन्न चरणमा चुनिएर आएका प्रतिनिधिको आकर्षण शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला, गगन थापालगायतमा रहेको देखिन्छ। विगतको महाधिवेशनमा पहिलो चरणमा ५० प्रतिशत ल्याउन नसके पनि पहिलो भएर दोस्रो चरणमा बहुमतमा पुगेका देउवा अहिले आफ्नै विगतका सारथि विमलेन्द्र निधिका कारण केही कमजोर अवश्य देखिन्छन्। 

तर संस्थापन इतर भनिएका कोइराला, सिंह, पौडेल, सिटौला र निधि सबैले एक्लैले पाउनेभन्दा बढी मत देउवाका लागि आज पनि सुरक्षित देखिन्छ। डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, पूर्णबहादुर खड्कालगायत नेताहरूले देउवालाई सभापति बनाउने एक मात्र रणनीतिमा काम गरिदिएका कारण अन्य प्रभावशाली नेताहरू भन्दा देउवा एक्लै शक्तिशाली देखिनु अस्वाभाविक होइन। संस्थापन इतरमा एकल उम्मेदवार छैन र हुन सक्दैन भन्ने सन्देश बाहिरिइरहेका कारण पनि केही समयअघिको तुलनामा देउवा अरू शक्तिशाली भइरहेका देखिन्छन्। आफैंमा अरूभन्दा बलिया भएर सभापति भएका देउवाका पक्षमा सशक्त रणनीतिसहित काम गर्ने समूहको निरन्तरको सक्रियताका बीच देउवालाई ‘च्यालेन्ज’ गर्नेहरू आपसमा कसरी जाने भनेर योजना बनाउन पनि एक ठाउँमा बस्न नसक्ने आजको अवस्था आफैंमा देउवाको सफलता देखिन्छ। हामी एक भयौं, यसरी पद विभाजन गरेर अघि बढ्यौं भनेर देउवाबाहेकको पक्ष अगाडि आएको भए परिस्थिति अर्को हुने विश्लेषण कांग्रेसभित्र र बाहिर देखिन्छ।​

शुभेच्छुकहरूका अनुसार संस्थापन इतरका खेमामा एकल मत दुई कोइरालामध्ये एक जना उठ्दा उनीहरूका पक्षमा अलिक धेरै देखिएला, तर अरूलाई साथ लिन नसके एक्लैले जित्न त्यो मत पर्याप्त देखिन्न। काठमाडौं र बागमती प्रदेशमा राम्रो प्रभाव रहेका प्रकाशमान सिंहको स्थिति पनि जित्ने सन्दर्भमा उस्तै हो। कोइरालाहरूलाई कुनै हालतमा सहमति नदिने उनको भनाइ आफैंमा एक समूह हो भन्नेमा बाधक देखिन्छ। यी दुवै खेमाले आफ्नो दोस्रो रोजाइमा रामचन्द्र पौडेल राखेको देखिन्छ, तर उनको व्यक्तिगत मत कम आकलन गर्दै।

कोइराला समर्थक र सिंह समर्थक दुवै थरीका धारणामा पौडेल नेता हुन्, तर कमजोर छन्, उनले अब पार लगाउन सक्दैनन्। उमेरका हिसाबले जीवनको उत्तराद्र्धमा देखिए पनि राजनीतिक सक्रियता, संविधानका पक्षमा वकालत गर्ने साहस र सरल जीवनशैली पौडेलका सबल पक्ष हुन्। विषम परिस्थितिमा र लामो समय कांग्रेसको वैचारिक धारको नेतृत्व गरेका पौडेललाई गुट बनाउन कमजोर देखिए भन्दैमा यसरी पाखा लगाउन खोज्दा उनले पनि देउवा इतरको गुटका नाममा सती जानुपर्छ भन्ने छैन भन्नेहरू पनि कांग्रेसमा देखिन थालको छन्। यो परिस्थितिमा देउवा इतरको धार अरू कमजोर भई देउवालाई पहिलो चरणमै निर्वाचित हुने माहोल नबन्ला भन्न सकिन्न।

नेपाली कांग्रेसभित्र चल्ने अर्को बहस भनेको दक्षिणको छिमेकी। उसको वडादेखि चुनिएर आएका मतदातामा कस्तो प्रभाव होला, त्यो बेग्लै अध्ययनको विषय हो। तर नेता/कार्यकर्ता तहमा भारतले कसलाई सघाउँछ, त्यसैका आधारमा आगामी नेतृत्व आउने हो भन्ने बहस कांग्रेसभित्र देखिन्छ। अहिलेको संविधानका अवयव अक्षरशः वकालत गर्नेहरू अहिलेको भारतीय संस्थापनको रोजाइमा नपर्ने भएकाले देउवा, पौडेल, निधिलगायतलाई यसपटक सजिलो छैन भन्नेहरूको तर्क आफैंमा अनर्थ होइन।

कतिपयले अहिलेसम्म पनि यही आशयमा धारणा बनाइरहेको देखिन्छ। तर जित्न भरथेगको सहयोग गर्न कसैलाई सक्ला, तर कसैका आडभरोसाका आधारमा मात्र नेपाली कांग्रेसको वा अरू कुनै दलको निर्वाचन जितिन्न भन्ने कुरा दक्षिणले पनि बुझेको हुनुपर्छ। यस अवस्थामा विभाजित र नजित्नेका पक्षमा लागेर सरकार हाँकिरहेका र बिस्तारै दलभित्र अरू बलिया भएर गइरहेका देउवालाई चिढ्याउने भारतीय संस्थापनको नीति नहुने संकेत त नेकपा विवादमा अन्तिम समयसम्म संस्थापनमा रहेका ओलीलाई भारतले दिएको साथबाट पनि अनुमान गर्न सकिन्छ। 

सारमा भन्नुपर्दा रातारात केही भएमा बाहेक यसपटक सभापतिमा नयाँ अनुहार आउने सम्भावना ज्यादै कम देखिन्छ। तर विमलेन्द्र निधि, प्रकाशमान सिंहजस्ता दोस्रो पुस्ता बनेर बसेकाहरूको खबरदारीसहितको सभापतिमा उम्मेदवारीले नेताहरूको पटकपटक सभापति बन्ने चाहनालाई अब स्थान नरहने प्रशस्त आधार भने खडा गर्नेछ। मतलब अबको महाधिवेशनसम्म त्यसपछिको पुस्ताका भनिने डा. प्रकाशशरण महत मात्र होइन, विश्वप्रकाश शर्मा र गगन थापाजस्ता नेताहरू सभापति पदका लागि बलियो दाबेदार भइसकेका भेटिनेछन्। मतलब अध्यक्षमा दोस्रोपटकमै ‘च्यालेन्ज’ गर्ने यही संस्कृति बचाउन सके आगामी नेतृत्व एकैचोटि ६० र त्यसभन्दा तलको उमेर समूहमा आउने देखिन्छ। 

तर सोच्नपर्ने के देखिन्छ भने आज ६० वर्ष र त्यसमाथिका पदाधिकारीका आकांक्षी हेर्दा धेरै त कांग्रेसले लडेर ल्याएको संविधानका अवयव जसले दल र समाजलाई अरू लोकतान्त्रिक बनाउन मद्दत गर्छ, त्यसलाई पनि अपनत्व लिन हिच्किचाउनेहरू छन्। आफैंले संघर्षमार्फत ल्याएको संविधान त नबुझ्ने वा बुझ्न नखाज्नेले छिमेक नीति, विदेश नीति र सम्बन्धका अवयव बुझ्ने कुरै भएन। 

त्यसैले सभापतिमा जसले आफ्नो पल्ला भारी गरे पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिसमेत बुझेर देश, जनता र बाह्य दुनियासँग बहस गर्न काबिल व्यक्तिहरू यसपटक पदाधिकारी विशेषगरी महामन्त्री चुन्नपर्ने देखिन्छ। र, मतदाताहरूको हाउभाउले त्यो संकेत पनि देखाइसकेको छ। 

पहिलोचोटि पदाधिकारीमा समावेशी चरित्र देखाउन सिर्जना गरिएको आठ क्लस्टरबाट आउने सहमहामन्त्री पदमा संविधानवाद र लोकतन्त्रका सवालमा चिन्ता गर्ने ४० वर्ष नपुगेको पुस्तालाई ल्याउन सके कांग्रेसमा पुनर्जागरण सम्भव देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .