ad ad

विचार


दक्षिण एसियालाई अस्थिर तुल्याउँदै भारतको हिन्दु राष्ट्रवादी नीति

दक्षिण एसियालाई अस्थिर तुल्याउँदै भारतको हिन्दु राष्ट्रवादी नीति

ज्ञानेश कामत
कात्तिक २२, २०७८ सोमबार २२:९, काठमाडौँ

भारत हिन्दु बहुसंख्यकवादी मुलुक बन्ने दिशामा छ। यसले दक्षिण एसियालाई नै अस्थिर तुल्याउने खतरा छ।

२०१४ मा सत्तामा आएको भारतीय जनता पार्टी (भाजपा) को सरकारले शृंखलाबद्ध रुपमा विभाजनकारी हिन्दु–राष्ट्रवादी घरेलु नीति अपनाएको छ। ती नीति भारतको धर्मनिरपेक्ष संविधानको खिलाफमा मात्र छैनन्, तिनले भारतले अँगाल्दै आएको विदेशनीतिसम्बन्धी अडानमा समेत धक्का पुर्याउन थालेका छन्।

यसले छिमेकीहरुसँग भारतको तनाव सिर्जना गरिरहेको छ। त्यसभन्दा खराब कुरा, दक्षिण एसियाको सर्वशक्तिमान मुलुक भारतको छिमेकीहरुमाझ निकै ठूलो प्रभाव छ। त्यसैकारण भारतमा हावी भएको बहुसंख्यकवादले नयाँ दिल्लीसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने छिमेकी सरकारका लागि समेत समस्या खडा गरिरहेको छ।

२०१९ मा दोस्रो कार्यकालका लागि भारी मतसहित विजयी भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले मुलुकभर नागरिकहरुको संख्या गणना गर्ने घोषणा गर्यो। पहिले त्यो कानुन आसाममा लागू गरिएको थियो। सो कानुनअनुसार थुप्रै गरिब (त्यसमा पनि ठूलो संख्यामा मुस्लिम) हरु नागरिकताबाट वञ्चित हुने थिए।

त्यसपछि छिमेकी मुलुकबाट आएका शरणार्थीहरुलाई फास्ट ट्रयाकबाट नागरिकता दिने कानुन सरकारले ल्यायो। तर, सर्त के छ भने मुस्लिमबाहेकका शरणार्थीले मात्रै नागरिकता पाउनेछन्।

यी दुई कानुन क्रमबद्ध रुपमा एकअर्कासँग सम्बन्धित भएको गृहमन्त्री अमित शाहले बताएका थिए। जसले मुस्लिमहरुलाई मताधिकारबाट वञ्चित गर्ने खतरा छ। सबै ‘अवैध’ आप्रवासीलाई ‘बंगलादेशी’ भन्न थालियो। 

वरिष्ठ मन्त्रीहरुले नै घृणा फैल्याउने गरी भाषणबाजी गर्न थाले। अवैध आप्रवासीलाई उनीहरु ‘धमिरा’ भन्न थाले।

यी कानुनको विरोधमा भारतभर प्रदर्शन भयो। किनभने तिनले नागरिकताको परिभाषा नै बदल्ने जोखिम थियो। सो कानुनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सरकारलाई समेत समस्यामा पार्यो।

सीमापारिबाट ‘बंगलादेशी’प्रति फ्याँकिएको घृणाका कारण ढाकामा आफूलाई भारतको मित्रका रुपमा चिनाउने हसिना अप्ठेरोमा परिन्। उनको मन्त्रिपरिषदका वरिष्ठ सदस्यले भारत भ्रमण रद्द गरे। मार्चमा मोदी बंगलादेश भ्रमणमा जाँदा बंगलादेशमा हिंसा फैलियो। त्यो हिंसा हिन्दु मन्दिरप्रति लक्षित थियो।

पछिल्लो समय फेरि बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि चरम हिंसा भयो। धार्मिक उत्सवका बेला हिन्दु मन्दिरमा इस्लामको निन्दा गरिएको हल्ला चलेपछि कयौँ दिनसम्म सो हिंसा भएको थियो। 

हसिना भारतीय समकक्षी मोदीजसरी चुप बसिनन्। उनले तत्काल हिंसाको भर्त्सना गरिन् र दोषीलाई पक्रिन प्रहरीलाई निर्देशन दिइन्। उनको पार्टी अवामी लिगले राजधानी ढाकामा शान्ति र्याली नै आयोजना गर्यो। यद्यपि सोही पार्टीको विद्यार्थी संगठनमाथि हिंसामा सहभागी भएको आरोप पनि छ। 

हसिनाले तुरुन्तै भारततिर औँला तेर्स्याइन्। भारतमा फैलिएको मुस्लिमविरोधी भावना र हिंसाका कारण बंगलादेशमा हिन्दुविरुद्ध हिंसा चर्केको उनको भनाइ थियो।

सीमाको एकातिर फैलिएको हिंसाको जवाफमा अर्कोतिर चर्केको प्रतिहिंसा मात्र होइन यो। भारतलाई हिन्दु बहुसंख्यकवादी राज्य बनाउने मोदी सरकारको हतारोले १६.५ करोड जनसंख्या भएको बंगलादेशलाई अशान्त तुल्याउन सक्छ।

हसिनाको पछिल्लो वक्तव्यका बाबजुद उनले सार्वजनिक रुपमा भारतको मित्रका रुपमा आफूलाई उभ्याएकी छन्। उनको अवामी लिगले बंगलादेशमा आफूलाई धर्मनिरपेक्षताको रक्षक र हिन्दुहरुको सुरक्षा सुनिश्चितता गर्ने शक्ति मान्छ।

हसिनाले व्यवहारिक रुपमा बंगलादेशलाई एकदलीय राज्यमा परिणत गरेकी छन्। संवैधानिक अंकुशहरुलाई हटाएकी छन्, विपक्षी दलका नेताहरुलाई जेलमा कोचेकी छन् र असन्तुष्ट समूहहरुलाई अपराधीकरण गरेकी छन्।

यसले उनको राजनीतिक विपक्षीलाई इस्लामिस्ट कित्तामा धकेलेको छ। जसलाई हसिनाले बेलाबखत नामेट पार्ने कोसिस गरेकी छन्। तर, फेरि मुस्लिम मत प्राप्त गर्न तिनलाई पनि रिझाउनुपर्ने बाध्यता उनलाई छ।

यी सबै कारणहरुले गर्दा पहिलेदेखि त्रसित बंगलादेशको हिन्दु अल्पसंख्यक झनै कमजोर बनेका छन्। सधैँ राजनीतिक उदेश्यले यो समुदायमाथि आक्रमण हुँदै आएको छ। जुन हसिना सरकारमाथिको आक्रमण पनि हो।

त्यसैकारण उनले हिन्दुमाथिको आक्रमणको निन्दा गरेकी हुन्। र, दोष भारतको थाप्लोमा हालेर उनले चेतावनी दिन पनि खोजेकी छन्।

यदि भारत बहुसंख्यकवादको बाटोमा अघि बढिरह्यो, राज्यको प्रोत्साहन पाएर मुस्लिमविरोधी विषाक्त भाष्य र हिंसाबाट सार्वजनिक वृत्त भरिभराउ भइरह्यो भने हसिनाका विपक्षीले बंगलादेशका हिन्दुमाथि आक्रमण गरेर उनको सरकारलाई कमजोर तुल्याउने मौका पाइरहनेछन्।

बंगलादेशमा अस्थिरता छायो भने त्यसको धक्का पुरै क्षेत्रमा पर्नेछ। बंगलादेशको हिंसालगत्तै भारतको त्रिपुरा राज्यमा कट्टरपन्थी हिन्दु समूहहरुले मुस्लिममाथि हिंसा गरे। 

हिंसा र प्रतिहिंसाको यस्तो चक्रले सिंगो क्षेत्रलाई अस्थिर तुल्याउनेछ। दक्षिण एसियाका सीमा रेखा भाग्दै गरेका औपनिवेशिक शासकहरुले रक्तपातको बीचमा मनपरी ढंगले कोरेका थिए। ती सीमारेखाले एक मुलुकमा फैलिएको जातीय र धार्मिक हिंसालाई अर्को मुलुकमा जानबाट रोक्न सक्दैनन्।

भारत गुरुत्वाकर्षणको केन्द्र हो– दक्षिण एसियामा नयाँ दिल्लीको परम्परागत विदेशनीति यही धारणामा आधारित रहँदै आएको थियो। तर, भारतको घरेलु बाध्यताले विदेशनीतिका स्वार्थलाई समेत हानि पुर्याइरहेको छ।

कुनै अन्तर्राष्ट्रिय समस्याबिनै भारतमा बहुसंख्यकवादी घरेलु नीतिलाई अघि बढाउन सकिन्छ भन्ने नयाँ दिल्लीको सरकारले ठानेको देखिन्छ। तर, हसिनाले लगाएको आरोपबाट के पुष्टि हुन्छ भने विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने यो क्षेत्र हतास हुँदै गइरहेको छ। सिन्डिकेसन ब्युरोबाट। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .