विचार


राजा ‘डुबे’, नेताहरू ‘डुब्दैछन्’

राजा ‘डुबे’, नेताहरू ‘डुब्दैछन्’

१० जुन २००४ मा राजा ज्ञानेन्द्रसँग सपथ लिएपछि आफ्ना मन्त्रीहरूलाई सपथ गराउँदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा (प्रतिकात्मक तस्बिर)

केही साताअघि म बसेकै अमेरिकी शहर डयालसमा नेपालका फरक क्षेत्रका दुई चर्चित व्यक्तिहरू आए। पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल र डा. गोविन्द केसी। 

दुबैले नेपालमा सुशासनको अभावको कुरा गरे। 

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालसँग प्रत्यक्ष गफिने अवसर मिल्यो, एक अपरान्ह। झण्डै डेढ घण्टाको गफमा उनले कतिपय सन्दर्भमा राजा महेन्द्रको नाम लिए– महेन्द्र यस्ता थिए, उस्ता थिए। 

कटुवाल भनिरहेका थिए– राजा महेन्द्र जो, आफ्ना आलोचकहरूलाई समेत आफ्नै वरिपरि राखिरहन्थे। दरबारका पारिवारिक जमघटहरूमा समेत उनले राजेश्वर देवकोटा वा कीर्तिनिधि विष्टलाई एउटा कुनामा बस्न लगाउँथे। अरूहरू ह्विस्की पिइरहेका हुन्थे। देवकोटा भने कुनामा चुपचाप बसेर घोत्लिइरहेका हुन्थे, चिया लिएर। जब जमघट सकिन्थ्यो, अनि महेन्द्र देवकोटालाई सोध्थे– ल भन, तिमीलाई के भन्नु छ?

देवकोटा जवाफ दिन्थे– सरकार, यो यो कुरा त ठिकै हो, तर यो यो कुरा त गर्नु हुँदैन सरकार। 

राजेश्वर देवकोटाको यस्तै ‘आलोचनात्मक चेत’ बाट प्रभावित भएर होला शायद, महेन्द्रले दियालो बंगलामा जानु र मृत्युवरण गर्नुअघि वीरेन्द्र लगायत राजपरिवारका अन्य सदस्यहरूलाई भनेका थिए– जब देशमा ठूलो आपत विपत आउँछ, तब राजेश्वर देवकोटा र कीर्तिनिधि विष्टसँग सल्लाह लिनु। 

शायद आफ्ना पिताको त्यही सल्लाह सम्झेर ज्ञानेन्द्रले आफुले शासन लिएपछि कीर्तिनिधि विष्टको सल्लाह र सहयोग लिन खोजे पनि, जुन सफल भएन। समय फरक परिसकेको थियो वा यसो पनि हुनसक्छ– जतिबेला ज्ञानेन्द्रले सत्ता हातमा लिए र विष्टमा भर परे, त्यतिबेला विष्टले देवकोटाको जस्तो ‘आलोचनात्मक चेत’ गुमाइसकेका थिए। 

कटुवालको विचारमा महेन्द्र जस्तो आफ्ना आलोचकहरु व गाली गर्ने मान्छेहरू आफ्ना वरिपरी नराखेकै र उनीहरूका कुरा नसुनेकै कारण ज्ञानेन्द्र ‘डुबे’। 

कटुवाल आफुले भने ‘चिफ’ हुँदा आफुलाई गाली गर्ने एउटा टोली नै बनाए। उनकै भनाइमा गाली गर्ने टोलीमा राजनीतिज्ञ, पत्रकार, कुटनीतिज्ञ, अर्थविद र व्यापारी एक–एक जना थिए। उनी साताको एकपटक उनीहरूबाट गाली सुन्थे रे। 

उनी मसँग भनिरहेका थिए, ‘मलाई मनमा लागेको एउटा कुरा के भने नेतृत्वमा बस्नेका लागि एउटा गाली गर्ने टोली असाध्यै जरुरत र महत्वपूर्ण हुनेरहेछ। गाली सुन्ने गुण नेतामा हुनुपर्छ। तर नेपालमा ठूलो मान्छेलाई नराम्रो कुरा सुनाउँदै नसुनाउने चलन छ।’ 

मन्त्री बिरवलले राजा अकबरलाई सभामा गाली गर्ने गरेको र त्यसलाई अकबरले सहज रुपमा लिने गरेको प्रसङ्गहरू पनि कटुवालले कोट्याए।

संयोग भनौं कि के भनौं, कटुवालको कुुरा सुनेको एक साता नबित्दै नेपालमा एमालेको विधान महाधिवेशनमा देवत्वकरण गरिएका र पोलदेखि बोत्तलसम्म टाँसिएका खड्गप्रसाद ओलीका तस्वीरहरू देखें। मलाई थाहा छैन– ठूला साना पोष्टरहरूमा समेत टाँसिन रमाउने ओलीले कति गाली सुन्ने धैर्यता राख्छन्? सुन्ने भनेको सुन्ने मात्र होइन, त्यसलाई मनन गर्ने र सच्याउने पनि हो। नेपालमा आजसम्म कुनै नेताले गल्ती भयो भनेर आत्मालोचना गरेको मलाई थाहा छैन। अक्सर नेपाली नेताहरूले गल्तीहरूमा पनि लिंडेढिपि गरेको देखेको र सुनेको मात्र छु। गल्ती भएको स्वीकार्नै परे, ‘फरक सन्दर्भ’ भनेर ती आफ्नो अहमको अझै वचाव गर्छन्।

एकछिन है त, प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर गल्ती गरियो चाहिँ प्रष्ट भनेका छैन है। यो एउटा मात्र उदाहरण हो, जुन मेरो नोटिसमा छ। 

प्रधानमन्त्री पत्नी आरजु राणाले कतै भनेको पढिरहेको थिएँ– शेरबहादुर देउवाको छिट्टै रिसाउने बानी छ।

हो त, प्रधानमन्त्री देउवा त झन ‘झोकी’ छन्। यिनले गाली के, सुझाव के समेत छुट्याउन सक्दैनन्। 

जो गाली र सुझाव छुट्याउन सक्दैन र जसले आफ्ना वरिपरी भजन मण्डली खडा गरेर रात दिन धुनी जगाउँछ, उसको नियति भनेको ‘डुब्ने’ नै हो।

हो, कटुवालले ठिक भनेका हुन्, आफुले सचेत गराउने मान्छे वरिपरी नराखेकै कारण ज्ञानेन्द्र ‘डुबे’का हुन्।

सन् २००६ मा बंगलादेशको ढाकामा भएको सार्क सम्मेलनमा भाग लिने सरकारी टोलीमा ‘काकताली’ ले म पनि  थिएँ, जसको नेतृत्व गरेका थिए तत्कालीन राजा ज्ञानेन्द्रले। सम्मेलनको उद्घाटन सत्र सकिएको साँझ राजा ज्ञानेन्द्रले टोलीमा समावेश पत्रकारहरूलाई भेट्न चाहे। पंक्तिवद्ध रुपमा हामी बस्यौं। एक एक गर्दै उनले हामीलाई भेट्दै गए। र, कुरा सुन्दै गए। त्यहाँ सबैजसोले राजा जे सुन्न चाहन्थे, त्यही सुनाए। आफुले सुन्न चाहेको कुरा सुन्न पाएर राजामा जुन भाव देखिन्थ्यो, त्यसले बताउँथ्यो कि उनी यस्तै प्रशंसाको भ्रम र रागमा छन्। त्यही भ्रम र रागले उनीसँगै राजतन्त्र गयो।

मिडियासँग ‘डिल’ गर्ने मामिलामा नेपालको ‘पर्फमेन्स’ कमजोर देखियो भनेर मैले गरेको टिप्पणीलाई लिएर टोलीमा सहभागी कतिपयले ‘राजाको अगाडि परराष्ट्र मन्त्री र राजदूतलाई अप्ठ्यारो पार्ने गरी कुरा उठाउने’ भनेर मेरो आलोचना गरे। त्यो बेला राजासँग साथमा थिए परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे र बंगलादेशका लागि नेपाली राजदूत भगिरथ बस्नेत।

म त्यहाँ देशको कुरा गरिरहेको थिएँ, मान्छेहरू त्यसलाई व्यक्तिसँग जोडिरहेका थिए। 

राजा यसै डुबेका होइनन्। 

राजा डुब्नुमा राजा स्वयं जति जिम्मेवार छन्, व्यक्तिको अहम र महत्वाकांक्षालाई अनावश्यक मलजल गर्ने र शक्तिलाई खुशी पार्ने नेपाली मनोबृत्ति पनि उत्तिकै जिम्मेवार छ। 

तपाइँहरू जो यो पढिरहनु भएको छ, ठान्दै हुनुहोला राजा मात्र अहम, महत्वाकांक्षा र आत्मरतिमा रमाउने एक मात्र पात्र थिए र हुन्। होइन। त्यस्तै अहम, महत्वाकांक्षा र आत्मरति तपाइँ अहिलेका सबै जसो नेताहरूमा पाउनु हुन्छ। चाहे शेरबहादुर देउवा होऊन् वा खड्गप्रसाद ओली, गाली त के प्रत्यक्ष आलोचना सुन्ने र मनन गर्ने आँट समेत गर्दैनन्। 

राजा जसरी डुबे, उसरी नै एक एक गरी नेपाली नेताहरू डुब्दै गैरहेको म टाढाबाट देखिरहेको छु। यस्तो लाग्छ– नेपाली नेताहरू एक पछि अर्को गरी डुब्ने पालो पर्खेर बसिरहेका छन्। यिनले आफु र सँगसँगै नेपाली जनतालाई पनि उतार्ने ल्याकत गुमाउँदै गइरहेका छन्। 

नेताहरू मात्र किन, तपाइँ हामी पनि, जब आफ्नो अहम, महत्वकांक्षा र आत्मरतिबाट मुक्त हुन सक्दैनौँ, तब हामीले पनि पर्खने भनेको आफु ‘डुब्ने’ दिन नै हो। 

एकादुइ छोडेर अक्सर हामी डुब्ने दिन पर्खिरहेका छौँ। राजा होऊन् कि नेता–कार्यकर्ता वा जनता, यी सूर्य जस्ता होइनन्, जो आज ‘डुबेर’ भोली सजिलै उही राप र तापका साथ उदाउँछ। 

दसैंका बेला जति/जस्ता सन्देश दिएपनि राजाहरू सूर्य जस्ता होइनन्, जो फेरि उसैगरि उदाउँछन्। नेताहरू पनि कहाँ सूर्य जस्ता हुन् त नि, जो प्रत्येक बिहान उही चमक, उही राप, उही सौन्दर्य बोकेर लोभलाग्दो गरी उदाउँछन्?

ती फेरि उदाऊन् वा नउदाऊन् केही थिएन। 

नेपाल अँध्यारै भैरहन्छ कि, चिन्ता यत्ति हो। 

 

असोज ३१, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .