विचार


पृथ्वी मर्दैछ, अमेरिकाको हारजितले केही फरक पार्दैन

पृथ्वी मर्दैछ, अमेरिकाको हारजितले केही फरक पार्दैन

अरुन्धती रोय उपन्यासकार र निबन्धकार हुन् (Dan Williams/The Economist)

फेब्रुअरी १९८९ मा अन्तिम सोभियत ट्यांक अफगानिस्तानबाट बाहिरियो। झण्डै एक दशक लामो युद्धमा सोभियत सेना मुजाहिद्दिनहरूबाट निर्णायक रुपले पराजित भएको थियो। जसलाई अमेरिकी र पाकिस्तानी गुप्तचर निकायले तालिम, हतियार र पैसा उपलब्ध गराएका थिए। सोही वर्षको नोभेम्बरसम्ममा बर्लिन पर्खाल ढलिसकेको थियो र सोभियत संघको पतन तीव्र भएको थियो। 

शीतयुद्धको समाप्तिपछि अमेरिकाले आफ्ना लागि एक ध्रुवीय विश्वव्यवस्थाको शीर्षमा स्थान सुरक्षित गर्यो। त्यसबेलासम्म विश्व शान्तिका लागि सबैभन्दा ठूलो खतरा कम्युनिजमलाई मानिन्थ्यो। क्षणभरमै त्यसको स्थान कट्टरपन्थी इस्लामले लियो। सेप्टेम्बर ११ को आक्रमणपछि राजनीति यसकै वरिपरि घुम्न थाल्यो। र, त्यसको केन्द्रविन्दु बन्यो– अफगानिस्तानको दुर्गम पहाड।

अहिले अमेरिका लज्जास्पद तरिकाले अफगानिस्तानबाट बाहिरिरहँदा अमेरिकी शक्तिको क्षय, चीनको उदय र त्यसले बाँकी विश्वमा पार्ने प्रभावबारे अचानक चर्चा चुलिएको छ। 

युरोप र खासगरी बेलायतका लागि अमेरिकाको आर्थिक र सैन्य शक्तिले एक किसिमको सांस्कृतिक निरन्तरताको काम गरेको थियो। अमेरिकाको कारण आफ्नो शक्ति क्षय भए पनि ती मुलुक यथास्थितिमा रहन पाएका थिए। एउटा नयाँ र कठोर शक्तिले अमेरिकाको ठाउँ लिन लाग्नु उनीहरूका लागि पक्कै पनि ठूलो चिन्ताको स्रोत हुनुपर्छ। 

तर, यथास्थितिले अकथनीय पीडा निम्त्याएको विश्वका अन्य भागमा भने अफगानिस्तानको खबरले ठूलो भय उब्जाएन।

काबुलमा तालिबान प्रवेश गरेको दिन म कस्मिरस्थित टोसा मैदानको पहाडमा थिएँ। भारतीय सेना र वायु सेनाले सो स्थानलाई दशकौँसम्म तोप पड्काउने र विमानबाट बम बर्साउने अभ्यास स्थलका रुपमा प्रयोग गरेका थिए। घाँसे मैदानको एक छेउबाट तल उपत्यका थियो। जहाँ आत्मनिर्णयको अधिकारका लागि लड्दालड्दै मारिएका दसौँ हजार कस्मिरी मुस्लिमको चिहान देखिन्थे। 

भारतमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सेप्टेम्बर ११ पछि विश्वमा व्याप्त मुस्लिम–घृणाको दोहन र मुस्लिमविरोधी रक्तपातपूर्ण नरसंहारको लहरमा टेकेर सत्तामा पुग्यो। जसमा हजारौँको हत्या भयो। भारत आफूलाई अमेरिकाको कट्टर समर्थक मान्छ। तालिबानको विजयले यो क्षेत्रको विषाक्त राजनीतिमा संरचनागत परिवर्तन ल्याउनेमा भारतको सुरक्षा संस्थापन सचेत छ। यो मामिलामा तीन आणविक शक्ति संलग्न छन्ः भारत, पाकिस्तान र चीन। र, यी तीनको कुस्तीको मैदान कस्मिर बनेको छ। 

भारतीय सुरक्षा संस्थापनको नजरमा तालिबानको विजय उसको प्रधान शत्रु पाकिस्तानको विजय हो। अमेरिकाविरोधी २० वर्षे युद्धमा तालिबानलाई पाकिस्तानले गुप्त सहयोग प्रदान गरेको थियो। भारतको साढे १७ करोड मुस्लिम जनसंख्यामाथि यसअघि चरम क्रुरता प्रदर्शन गरिएको छ। उनीहरूलाई अलग बस्ती बसाउन बाध्य पारिएको छ। ‘पाकिस्तानी’ भनेर विभेद गरिएको छ। अहिले उनीहरूलाई ‘तालिबानी’ भन्न थालिएको छ। उनीहरू विभेद र उत्पीडनको अझ ठूलो खतरामा छन्। 

भारतको धेरैजसो मूलधारका सञ्चारमाध्यम लज्जास्पद रुपले भाजपाको सेवक बनेका छन्। तिनले तालिबानलाई आतंकवादी समूह भन्ने गर्छन्। तर, पाँच लाख भारतीय सैनिकका बन्दुकमुनि दशकौँ बाँचेका थुप्रै कस्मिरी यो खबरलाई अलग तरिकाले पढ्छन्। लालचका साथ। आफ्नो अन्धकार र तिरस्कृत संसारमा उज्यालो आउने सानो छिद्र खोजिरहेका छन् उनीहरू।

अफगानिस्तानमा वास्तवमा के भइरहेको छ, त्यसको विवरण अझै अलिअलि गर्दै आइरहेको छ। मैले कुरा गरेका केही कस्मिरीले भने यसलाई विश्वको सबैभन्दा शक्तिशाली सेनामाथि इस्लामले हात पारेको विजयका रुपमा हेरेका छन्। अरुहरू यसलाई स्वतन्त्रताको वास्तविक संघर्षलाई पृथ्वीको कुनै पनि शक्तिले दमन गर्न नसक्ने तथ्यको प्रमाण मान्छन्। उनीहरू विश्वस्त थिए– विश्वास गर्न चाहन्थे– तालिबान पूर्ण रुपमा बदलिएको छ, तिनले फेरि पहिलेजस्तै क्रुरता अपनाउने छैनन्। 

क्षेत्रीय राजनीतिमा ठूलो परिवर्तन आएको कस्मिरीहरूले पनि देखेका छन्। यसले आफूहरूलाई केही हदसम्म सास फेर्ने ठाउँ दिने, इज्जतसाथ बाँच्ने सम्भावना दिने उनीहरूको आशा छ। 

तर, बिडम्बना के थियो भने हामी यो संवाद त्यो घाँसे मैदानमा बसेर गरिरहेका थियौँ, जुन मैदान बम विस्फोटपछिको खाल्डाहरूले भरिएको थियो। भारतमा स्वतन्त्रता दिवसको दिन थियो त्यो। र, कस्मिरमा विरोध प्रदर्शन रोक्न लकडाउन गरिएको थियो। एकातिर सीमामा भारत र पाकिस्तानका सैनिकबीच तनाव थियो। अर्कोतिर लद्दाखनजिकै चिनियाँ सेनाले सीमा पार गरेर भारतीय भूमिमा शिविर स्थापना गरेको थियो। अफगानिस्तान नजिकै छजस्तो लाग्थ्यो। 

दोस्रो विश्वयुद्धपछि आफ्नो आधिपत्य स्थापना गर्न अमेरिकाले सैन्य अभियान सुरु गर्यो। सो क्रममा अमेरिकाले एकपछि अर्को मुलुक (श्वेतबाहेक) लाई ध्वस्त पार्यो। ती मुलुकमा मिलिसिया परिचालन गर्यो, करोडौँको हत्या गर्यो, नवलोकतन्त्रहरूको घाँटी निमोठ्यो, तानाशाहरूलाई भरथेग गर्यो र सैनिक उतारेर कब्जामा लियो। बेलायती औपनिवेशिक भाष्यको आधुनिक संस्करण तयार गर्यो र आफू स्वार्थरहित सभ्यता स्थापनाको अभियानमा रहेको दाबी गर्यो। अमेरिकाले भियतनाममा त्यही गरेको थियो, अफगानिस्तानमा पनि त्यही गर्यो।  

सोभियत, अमेरिका र पाकिस्तान समर्थित मुजाहिद्दिन, तालिबान, नर्दन एलायन्स, क्रुर युद्ध सरदारहरू र अमेरिका अनि नेटो, जसलाई हेरे पनि तिनले अफगानी जनको ज्यान लिएका छन्, रगत बगाएका छन्। यी सबैले बिनाकुनै अपवाद मानवताविरोधी अपराध गरेका छन्। सबैले त्यहाँको माटो र मौसमलाई अल कायदा, इस्लामिक स्टेट र तिनका सहयोगीहरूका लागि उर्बर बनाउन योगदान गरेका छन्। 

यदि महिलाहरूको सशक्तीकरण र उनीहरूलाई आफ्नै परिवार र समाजबाट बचाउने असल ‘नियत’ ले सैन्य आक्रमणलाई अलि कम पीडादायी बनाउन सक्छ भने सोभियत र अमेरिकी दुवैले यसको दाबी गर्न सक्छन्। किनभने उनीहरूले सहरी अफगान महिलाहरूको एउटा सानो हिस्सालाई शिक्षित र सशक्त तुल्याए। तर, पछि फेरि मध्ययुगीन स्त्रीद्वेष भकभक उम्लिरहेको कराहीमा उनीहरूलाई खसाएर हिँडे। तर, लोकतन्त्र र महिलावादलाई कुनै मुलुकमा बमजसरी खसाउन सकिँदैन। अफगान महिलाले आफ्नो स्वतन्त्रता र सम्मानका लागि आफ्नै तरिकाले लडेका छन् र लडिरहने छन्। 

अफगानिस्तानबाट अमेरिका फिर्ता हुनु उसको प्रभुत्व अन्त्यको सुरुवात हो? के अफगानिस्तान फेरि अर्को  साम्राज्यको चिहान साबित होला? सायद नहोला। काबुल विमानस्थलको भयानक दृश्यका बाबजुद पराजित भएर अफगानिस्तानबाट अमेरिका फिर्ता हुनु उसका लागि त्यति ठूलो धक्का साबित नहुन सक्छ, जति अनुमान गरिँदैछ।

अफगानिस्तानमा खर्च भएको भनिएको कयौँ ट्रिलियन डलरमध्ये अधिकांश फर्केर अमेरिकै पुगेको छ। हतियार उत्पादक, निजी भाडाका सैनिक, बन्दोबस्तीका सामान उत्पादक, पूर्वाधार कम्पनी र गैरनाफामूलक संस्थाहरूमा ती रकम खर्च भए। ब्राउन युनिभर्सिटीका अनुसार अमेरिकी आक्रमणमा करिब एक लाख ७० हजारको ज्यान गएको छ। तीमध्ये धेरैजसो अफगान नागरिक थिए। पक्कै पनि आक्रमणकारीको नजरमा तिनको गिन्ती हुने भएन। उसो त गोहीका आँसुलाई छाड्ने हो भने मारिएका २४ सय अमेरिकी सैनिक पनि खास गिन्तीमा आउँदैनन्।

तालिबानले अमेरिकालाई अपमानित गरिदियो। २०२० मा शान्तिपूर्ण शक्ति हस्तान्तरणका लागि दुवै पक्षले हस्ताक्षर गरेको दोहा सम्झौता यसकै प्रमाण हो। तर, तीव्र गतिमा बदलिँदो विश्वमा पैसा र सैन्य शक्ति अझ राम्ररी कसरी खर्च गर्ने भन्ने विषयमा अमेरिकी सरकारले कठिन हिसाबकिताब गरेको पनि यो फिर्तीले देखाउँछ। कोरोना भाइरस र लकडाउनका कारण अर्थतन्त्र डामाडोल भएको बेला र नयाँ खालको युद्धका लागि प्रविधि, विशाल तथ्यांक र कृत्रिम बौद्धिकता तयार भइरहेको सन्दर्भमा जमिन कब्जा गरिराख्नु पहिलेजति आवश्यक नहुन सक्छ। 

आसन्न अनिकाल, आर्थिक पतन र त्यसमाथि गृहयुद्धको सम्भावना– अफगानिस्तानको पासोमा रुस, चीन, पाकिस्तान र इरानलाई किन नछाडिदिने? त्यसको सट्टा ताइवानको विषयमा चीनसँग सम्भावित सैन्य टक्करका लागि अमेरिकी फौजलाई तयार किन नराख्ने?

अमेरिकाको वास्तविक दुखान्त अफगानिस्तानमा बेहोरेको पराजय होइन। बरु, त्यो पराजयको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनु हो। युद्ध जित्न नसकेर भियतनामबाट फिर्ता हुँदा अमेरिकामै व्यापक युद्धविरोधी प्रदर्शन भएको थियो। सेनामा जबर्जस्ती भर्ना हुनुपर्ने कारणले त्यो प्रदर्शन अझ चर्किएको थियो। 

मार्टिन लुथर किङले पुँजीवाद, नश्लवाद र साम्राज्यवादबीचको सम्बन्ध उजागर गरेर भियतनाम युद्धविरुद्ध बोलेपछि उनको चर्को निन्दा गरियो। मोहम्मद अलीले इमानका कारण आफूले सेनामा भर्ती हुन अस्वीकार गरेको घोषणा गरेपछि उनको बक्सिङको उपाधि खोसियो र जेल हाल्ने धम्की दिइयो। अफगानिस्तान युद्धले अमेरिकी सडकमा यस्तै आक्रोश पैदा नगरे पनि ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका थुप्रैले त्यसको विरोध गरेका थिए। 

केही दशकमै अमेरिकामा श्वेतको भन्दा अश्वेतको संख्या बढी हुनेछ। काला अफ्रिकीमाथि लादिएको दासत्व र अमेरिकी आदिवासीहरूको नरसंहार तथा विस्थापनको विषय अहिलेका लगभग सबै सार्वजनिक संवादमा उठ्ने गरेको छ। यी कथाहरू अमेरिकी युद्धले निम्त्याएको विनाश र कष्टको कथाहरूसँग गाँसिने निश्चितप्रायः छ। त्यसलाई राष्ट्रवाद र सर्वोच्चतावादले रोक्न सक्ने सम्भावना छैन। 

अमेरिकाभित्र विद्यमान ध्रुवीकरण र विवादले कुनै समय सार्वजनिक व्यवस्थामा गम्भीर खलल निम्त्याउन सक्छ। त्यसका सुरुवाती लक्षण हामीले देखिसकेका छौँ। अर्को मोर्चामा त्योभन्दा बिल्कुल अलग संकट देखापरेको छ।

शताब्दियौँसम्म अन्यत्रबाट आफ्नै आरामदायी भूगोलमा फर्किने विकल्प अमेरिकासँग थियो। जमिन र स्वच्छ पानी पर्याप्त थियो। छिमेकमा कुनै शत्रु मुलुक थिएन। दुवैतिर महासागर थिए। देशभित्रै पर्याप्त इन्धन पनि उत्पादन भएको थियो। तर, अमेरिकाको यो प्राकृतिक वरदानले पनि अब ‘अमेरिकी जीवनशैली’ अर्थात् युद्धलाई धान्न नसक्ने भएको छ। (न त चीनको भूगोलले नै ‘चिनियाँ जीवनशैली’ धान्न सक्छ)।

समुद्र सतह बढ्दैछ। तट र तटीय क्षेत्र असुरक्षित छन्। जंगलमा डढेलो लागिरहेको छ, सभ्यातालाई छेउछेउबाट ज्वालाले निल्दैछ। नदी सुक्दै छन्। हराभरा उपत्यका खडेरीको मारमा पर्दैछन्। आँधी र बाढीले सहरमा उत्पात मच्चाउँदै छन्। जमिनमुनिको पानी सुकेसँगै क्यालिफोर्निया डुब्दैछ। चार करोड मानिसलाई स्वच्छ पानी आपूर्ति गर्ने कोलोराडो नदीको हुभर ड्याम चिन्ताजनक दरमा सुक्दै छ।

आफ्नो प्रभुत्व कायम राख्न साम्राज्य र उसका बाहिरी चौकीहरूले यदि पृथ्वी लुट्नै पर्छ भने त्यो लुटपाट अमेरिकी, युरोपेली, चिनियाँ वा भारतीय राजधानी, जहाँबाट निर्देशित भए पनि कुनै फरक पर्दैन। त्यसैले यतिबेला हामीले गर्नुपर्ने छलफल यो होइन। किनभने हामी कुराकानीमा व्यस्त रहँदा पृथ्वी मर्दैछ। 

(दि इकोनोमिस्टबाट। अरुन्धती रोय उपन्यासकार र निबन्धकार हुन्)

भदौ २१, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .