ad ad

छापा खबर


चिनियाँ राष्ट्रपति भ्रमणः पहिलो पटक काठमाडौँ अवतरण हुँदैछ विशेष विमान

चिनियाँ राष्ट्रपति भ्रमणः पहिलो पटक काठमाडौँ अवतरण हुँदैछ विशेष विमान

नेपालखबर
असोज २४, २०७६ शुक्रबार २:४,

चिनियाँ राष्ट्रपति सी चीनफिङको भीभीआईपी उडानका कारण कम्तीमा दुई दिन शनिबार र आइतबार दर्जनौं अन्तर्राष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने छन्।

उनी सवार भीभीआईपी जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान नहुने खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबार हुने उडानबारे शुक्रबार बिहान नोटाम (नोटिस टू एयरमेन) जारी हुने बताए । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो।

विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि सार्नुपर्छ । अन्तर्राष्ट्रिय वायुसेवाका एयरपोर्ट स्टेसन म्यानेजरहरूको संस्था एयरलाइन्स अपरेटर्स कमिटी नेपालका एक पदाधिकारीकाले भने, ‘नोटामले नउड्न भनेको समयमा पर्ने उडानलाई अघि वा पछाडि सार्ने छौं।’

उनले उक्त समयमा प्रभावित हुने उडानका यात्रुहरूलाई टेलिफोन, एसएमएस वा इमेलबाट समय सारिएको जानकारी गराइने बताए । काठमाडौं विमानस्थलले बिहीबार बेलुकीसम्म नोटाम जारी गरी सक्नुपर्ने थियो तर अबेरसम्म कुनै निर्णय नभएको महाप्रबन्धक केसीले बताए।

चिनियाँ राष्ट्रपति सी दुइटा जेट विमान बोइङ ७४७–८ मा काठमाडौं आउन लागेको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएको छ । शनिबार आइपुग्ने ती दुई विमान आइतबारमात्रै चीन फर्कने छन् ।

काठमाडौं विमानस्थलमा एक पटकमा नौवटा मात्रै जेट विमान एप्रोनको पार्किङमा राख्न सकिन्छ । चिनियाँ राष्ट्रपतिका दुइटा जेट विमानले ६ वटा जहाजको पार्किङ क्षेत्र ओगट्ने भएपछि दुई दिनमा दर्जनौं अन्तर्राष्ट्रिय उडानको तालिका धकेलिने भएको हो।

विमानस्थलमा भएका नौवटा पार्किङवेमध्ये ४ देखि नौ नम्बरसम्मका ६ वटा पार्किङवेमा चिनियाँ राष्ट्रपतिका दुइटा जेट राखिने छन् । १ देखि ३ नम्बरका पार्किङवेमा अन्य व्यावसायिक जहाजलाई स्थान दिइने छ ।

१ देखि ३ नम्बरमा तीनवटा पार्किङवे वाइडबडी जहाज अटाउने पार्किङवे हुन् । तर, दुई दिन दुइटा मात्रै पार्किङवेमा जहाज राखेर यात्रु ओराल्ने र चढाउनुपर्ने भनिएको एक विदेशी वायुसेवाका प्रतिनिधिले बताए । चिनियाँ राष्ट्रपतिको आवागमनपछि हुने उडान प्रभावले बढीमा २४ घण्टासम्म तालिकामा असर पर्न सक्ने अर्को एक एयरलायन्सका स्टेसन म्यानेजरले बताए ।

काठमाडौंमा दैनिक ८० हाराहारी विदेशी उडान (आउने–जाने) हुन्छन् भने आन्तरिक २ सय ८० हाराहारी उडान हुने गरेका छन् । प्राधिकरणले राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिले ल्याउने विमान चारवटा इन्जिनयुक्त दुईतले (डबल डेकर) भएको बताएको छ । ती विमान यसअघि कहिल्यै काठमाडौंमा आएका थिएनन्।

‘चीनका राष्ट्रपति चढेर आउने विमान बोइङको ७४७–८ जेट विमान यसअघि काठमाडौंमा अवतरण भएको छैन,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘हामी यो प्रकारको जहाजलाई पहिलो पटक व्यवस्थापन गर्दैछौं ।’

एक विदेशी विमान सेवाका स्टेसन म्यानेजरका अनुसार बोइङको यही समूहको तर फरक खाले जहाज भूकम्पका बेला काठमाडौंमा राहत सामान ल्याएर आएको थियो ।

‘साउदी एयरलाइन्सले राहतको सामान लिएर आएको यही समूहको जहाज हो तर केही फरक थियो,’ काठमाडौं विमानस्थलमा लाामो समय बिताएका उनले भने, ‘कुनै बेला फुकेट एयर र एयर क्यानडाको पनि ७४७ नै काठमाडौंमा आएको थियो । तर भर्सन फरक थियो।’

राष्ट्रपति सी एयर चाइनाको जहाजमा काठमाडौं आउँदै छन् । ३ सय टनभन्दा बढी तौल भएकाले यी विमानलाई टर्मिनल भवनतर्फ नफर्काई उत्तर–दक्षिणतर्फ पार्किङ गरिने छन्।

यसो गर्नुको कारण काठमाडौं विमानस्थलमा यी विमानलाई धकेल्ने (पुसब्याक) उपकरण नहुनु हो । ‘हामीसँग २ सय ५० टनसम्मको जहाज धकेल्ने उपकरणमात्रै छ । त्यसैले धावनमार्गतर्फ जान सजिलो हुने गरी उत्तर–दक्षिण पर्किङ गर्न लागिएको हो,’ विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल वायुसेवा निगमका एक अधिकारीले भने।

चिनियाँ राष्ट्रपतिको उडानका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएपछि विमानस्थल व्यवस्थापनले शनिबार र आइतबार दुई दिन चौबिसै घण्टा विमानस्थल खुला राख्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .