ad ad

छापा खबर


महरामाथि सूक्ष्म अनुसन्धानः विज्ञ भन्छन्- बलात्कार प्रमाण देखिए मुद्दा मोड्न मिल्छ

महरामाथि सूक्ष्म अनुसन्धानः विज्ञ भन्छन्- बलात्कार प्रमाण देखिए मुद्दा मोड्न मिल्छ

नेपालखबर
असोज २४, २०७६ शुक्रबार २:२६,

यौन दुर्व्यवहार आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रूपमा अनुसन्धानमा जुटेका छन्।

पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान गरी तथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो।

महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा यम विरहीले लेखेका छन्।

‘प्रहरी र सरकारी वकिलको समन्वयात्मक अनुसन्धान सुरु भएको छ। अहिले घटनासम्बद्ध प्रमाण संकलन गरिँदै छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले अन्नपूर्णसँग भने, ‘अनुसन्धान सुरु भएको छ। कहिले सकिन्छ भनेर अहिल्यै भन्न सकिन्न।’

जिल्ला न्यायाधिवक्ता खनालका अनुसार जाहेरीअनुरूप यौन दुर्व्यवहार भएनभएका विषयमा निक्र्योलमा पुग्न केही समय लाग्नेछ। मुलुकी फौजदारी संहिताअनुसार अनुसन्धान शंकारहित तबरमा बलियो पार्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिन सक्छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले सरकारी वकिलसहित सबैतिर समन्वयात्मक रूपमा अनुसन्धान अघि बढिरहेको बताए। ‘अनुसन्धानकै विषयमा सरकारी वकिलसँग बिहीबार दिनभर छलफल भएको छ,’ बोगटीले भने, ‘अनुसन्धानका सबै पक्ष भन्न मिल्दैन।’

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि महराले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत शुक्रबार जाहेरी दिएकी थिइन्। असोज १२ गते साँझ रक्सी बोकेर तीनकुनेस्थित कोठामा गएका महराले कुटपिट गर्दै जबरजस्ती यौन दुर्व्यवहार गरेको आरोप शाहीको छ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबरजस्ती करणी प्रयास भएको शाहीको उजुरीमा उल्लेख छ।

फौजदारी अपराध संहिताअनुसार मुद्दा चलाउन प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो।

फौजदारी संहिताको दफा २२४ (१) कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन नहुने व्यवस्था गरेको छ।

यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना किटान गरिएको छ। यस्तै दफा २२८ मा पीडितलाई मनासिब क्षतिपूर्ति भराइदिन सकिने भनिएको छ। अनुसन्धानका क्रममा घटनासम्बद्ध प्रमाण लोप वा नाश हुन नदिन प्रहरीले सचेतना अपनाएको छ।

शाहीको तीनकुनेस्थित कोठाबाट प्रहरीले फुटेको चस्मा, चुरा, पुरुष व्यक्तिले लगाउने जुत्ताको भित्री तलुवा, बिस्तरा र पीडितको घाउचोटको तस्बिरलगायत सबुत संकलन र घटना प्रकृति मुचुल्का उठाएको छ।

फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले किटानी जाहेरीमा पीडित महिलाले यौन दुर्व्यवहार भने पनि अनुसन्धान गर्दै जाँदा बलात्कार देखिएमा सोहीअनुरूप मुद्दा चलाउन बाधाअड्चन नपर्ने बताए।

‘पीडितले जाहेरीमा यौनजन्य दुर्व्यवहार भने पनि छानबिन गर्दै जाँदा तथ्य प्रमाणले बलात्कार देखिएमा जाहेरीअनुरूप नै हुनुपर्छ भन्ने छैन। बलात्कारमा पनि मुद्दा चलाउन मिल्छ। यसरी मुद्दा चलेका थुप्रै उदाहरण छन्,’ मैनालीले भने, ‘तर तथ्य प्रमाणले पुष्टि हुनुपर्छ।’

महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले फौजदारी आरोपमा पक्राउ परी थुनामा राखेपछि सांसद पद कानुनबमोजिम स्वतः निलम्बन हुने बताए।

प्रहरी अनुसन्धानको विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुगमन सुरु गरेको छ। गत शुक्रबार आयोगले महरा प्रकरणमा गृहमन्त्री र प्रहरी प्रधान कार्यालयसँग छानबिन प्रगतिबारे जानकारी मागेको थियो।

आयोगले अनुगमन गरी सत्यतथ्य बाहिर ल्याउन तीन सदस्यीय अनुगमन समिति गठन गरेको छ। आयोग सचिव वेदप्रसाद भट्टराईले घटनायताका सूचना अनुगमन गरिरहेको बताए।

‘आयोगले गृहमन्त्री, आईजीपी र महानगरीय प्रहरी परिसरसँग अनुसन्धान र छानबिनको प्रगति विवरण मागेको छ,’ सचिव भट्टराईले भने, ‘सात दिनभित्रै विवरण पेस गर्न भनिएको छ। निर्मला पन्त हत्या प्रकरणमा जस्तै प्रमाण नष्ट हुन्छ कि भनेर सतर्क हुनुपर्ने अवस्था छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .