सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ।
पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न गाउँपालिकाले सूचना जारी गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरिसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौं,’ उनले भने।
स्थलगत अनुगमनमा एकल महिला र पुरुषको उस्तै अवस्था देखिएपछि जनप्रतिनिधिबीचको छलफलबाट यो निर्णय गरिएको हो।
झन्डै १८ हजार जनसंख्या भएको गाउँपालिकामा हेलम्बु, किउल, पाल्चोक, इचोक र महांकाल गरी ७ वडा छन् । ‘एकल महिलासँगै पुरुषको अवस्था दुःखलाग्दो देखिएपछि पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौं,’ उनले भने।

प्रतिक्रिया