ad ad

छापा खबर


नेकपा-सीपीसी भाइचाराले कांग्रेसभित्र तरंग

नेकपा-सीपीसी भाइचाराले कांग्रेसभित्र तरंग

नेपालखबर
असोज ८, २०७६ बुधबार ४:२०,

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेकपाबीच राजधानीमा मंगलबार सम्पन्न सी विचारधाराबारे छलफलले प्रमुख प्रतिपक्ष कांग्रेसभित्र तरंग पैदा गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ विचारधारा लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको भन्दै कांग्रेस नेताहरूले सार्वजनिक रूपमा टीकाटिप्पणी सुरु गरेका छन् ।

दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार देशभरका विरोधसभामा कांग्रेस नेताहरूले सी विचारधाराप्रति नेकपाको झुकावलाई लिएर आलोचना गरेका खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।

आर्थिक, राजनीतिक, सांस्कृतिक विविधितासँगै भूराजनीतिक संवेदनशीलता रहेको नेपालमा सी विचारधाराको नक्कल असम्भव रहेको भन्दै कांग्रेसले नेकपाको लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ।

सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओको उपस्थितिमा भएको सी विचारधारामाथिको छलफलमा नेकपाका नेताहरूले सी विचारधाराको प्रशंसा गर्दै यही अवधारणाअन्तर्गत चीनसँग विकासको साझेदारी अघि बढाउन सकिने बताएका थिए । यी दुई पार्टीबीच भाइचाराको सम्बन्ध स्थापित भएको छ।

कांग्रेस नेताहरूले नेपालको भूराजनीतिक एवं भूरणनीतिक संवेदनशीलतालाई नबुझी नेकपाले सी विचारधारा पछ्याउन खोज्दा अस्थिरता आउन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।

चीन र भारतबीचको सन्तुलित एवं सहकार्यमा आधारित सम्बन्धले मात्रै नेपालमा स्थिरता कायम हुन सक्ने बुझाइ कांग्रेस नेताहरूमा छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेकपाका नेताहरूले आफूलाई कम्युनिस्ट सिद्ध गर्न उनको विचारधाराको नक्कल मात्रै गर्न खोजेको हो वा साँच्चै यही दर्शनलाई पछ्याउन खोजेको हो भन्नेबारे केही समय पर्खनुपर्ने बताएका छन् ।

पछिल्लो दशकमा चीनले उदार अर्थनीति अवलम्बन गरे पनि राजनीतिक रूपमा ‘एक पार्टी राज्य’ व्यवस्था अँगाल्दै आएको छ ।

‘राजनीतिमा चीन अझै कठोर छ । कुनै किसिमको राजनीतिक स्वतन्त्रता छैन, त्यसैको नक्कल गरेर नेपालमा आर्थिक विकास हासिल गर्छु भन्ने नेकपाले सोचेको हो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ,’ पार्टी कार्यक्रममा रुकुम पुगेका पौडेलले कान्तिपुरसँग भने, ‘साँच्चै सी विचारधारा नक्कल गर्न खोजियो भने मुलुक अधिनायकवादतर्फ उन्मुख हुन्छ । यसले द्वन्द्व निम्त्याउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .