ad ad

समाज


जंगली जनावरबाट बाली जोगाउन रातभर खेतमै बास

जंगली जनावरबाट बाली जोगाउन रातभर खेतमै बास

नेपालखबर
असोज ८, २०७६ बुधबार ३:५८,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउँने हात्ती, बँदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसान खेतमै डेरा हालेर बस्न बाध्य भएका हुन्।

“जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले भने, “जनावर भगाउन अनिदोमै रात बित्ने गरेको छ, आँखा लाग्नेबित्तिकै जनावर खेतमा छिरेर एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले सुत्न पाउँदैनौँ।’

स्थनीयको पाक्नै लागेको धान आधा बढी जनावरले खाइसकेको अर्का किसान नारायणसिंह महराले बताए। “थोरै धान जोगाउन पाए पनि केही महीना खान पुग्ने भएकाले खेतमै रातभर बस्नुपरेको छ,” महराले भने।

जङ्गली जनावरकै कारण यस क्षेत्रका किसानले वर्षेनी खेतमा लगाएको पूरै बाली भित्र्याउन पाएका छैनन् । वर्षात्का बेला चित्तल र बदेलले धानबाली खाएर हैरान पार्ने गरेका छन् भने हिउँदमा नीलगाईलगायतका जनावरले गहुँबाली खाएर किसानलाई मर्कामा पार्ने गरेका छन्।

जनावरबाट बालीनाली जोगाउन खेतमै डेरा हालेर दुई सातादेखि बस्दै आएको अर्का स्थानीय रामबहादुर ऐरले बताए।

बस्तीको माथिल्लो र तल्लो भेगमा जङ्गली जनावर रोक्नका लागि ‘फेन्सिङ’ गरिएको भए पनि दुई किलोमिटरको क्षेत्रमा जङ्गली जनावर रोकथामका लागि कुनै उपाय गरिएको छैन।

निकुञ्जको विस्तारित क्षेत्रबाट यस क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई दुई दशकअघि पुनः स्थापन गरिएको थियो।

हात्तीले उखु र धानबाली नोक्सान
शुक्लाफाँटा नगरपालिका–१२ का ३० परिवारले लगाएको उखु र धानबालीमा जङ्गली हात्तीको बथानले नोक्सानी पु¥याएको छ।

लगातार चार दिनदेखि हात्तीको बथान खेतमा छिरेर बालीमा नोक्सानी पु¥याउँदै आएको छ । साँझ नपर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथान भगाउनका लागि स्थानीय बासिन्दा रातिका बेला पालैपालो जाग्रामसमेत बस्दै आएका छन्।

केही दिनअघि मात्रै हात्तीको आक्रमणबाट चन्द्रबहादुर चौधरीको गोठमा बाँधेको गोरुसमेत मरेको स्थानीय मङ्गल चौधरीले बताए ।

स्थानीयले पटाका पडकाएर, साइरन बजाएर र थाली बजाएर हात्ती भगाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .