ad ad

छापा खबर


नेकपाले ‘सी विचारधारा’ कक्षा लिएपछि कांग्रेसलाई यस्तो आशंका

नेकपाले ‘सी विचारधारा’ कक्षा लिएपछि कांग्रेसलाई यस्तो आशंका

नेपालखबर
असोज ७, २०७६ मंगलबार ४:३४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका नेताका लागि भइरहेको चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारामा आधारित ‘कक्षा’प्रति शंका व्यक्त गरेको छ।

कांग्रेसले चिनियाँ राष्ट्रपति सीको बटमलाइनअनुसार नै नेपालमा सत्तामा रहेका दलका नेतालाई प्रशिक्षण हुन लागेको र सो प्रशिक्षण नेपालको हितमा नरहने जनाएको हो।

नेपालमा सुदृढ बन्दै गएको लोकतन्त्र, मौलाएको प्रजातन्त्र, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, मानवअधिकार र नेपालमा विद्यमान अवस्थामा रहेको संसदीय व्यवस्थालाई नै सी ‘कक्षा’ ले भविष्यमा असर गर्न सक्ने कांग्रेसले जनाएको छ।

चीनमा एक दलीय व्यवस्था रहेको र नेपालमा चीनको भन्दा फरक राजनीतिक अवस्था रहेका कारण चीनको अर्थनीतिबाहेकको प्रशिक्षणले नेपाललाई फाइदा नगर्ने कांग्रेस नेताहरूले बताए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनको नीति नै राजनीतिमा उदारता नभएकाले सी विचारधारा नेपालको हितमा नहुने र यसको असर बिस्तारै देखिने बताए।

‘चीनको नीति अर्थतन्त्रमा उदार छ, यो बाटोले त फाइदा पनि गर्ला तर राजनीतिमा उदारनीति छैन। राजनीतिमा उदार नीति भएको देशमा सी विचारधाराले नेपालका कम्युनिस्टलाई पनि सोही विचारधारातर्फ लैजान सक्छ। यसले हाम्रो मोडलको लोकतन्त्रसहित शासन व्यवस्थामा नै असर गर्न सक्छ। यो प्रशिक्षण हाम्रो देशको हितमा छैन,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतले लेखेका हुन्।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार संविधानभन्दा बाहिरबाट हिँड्न खोजेकाले यस्ता घटना देखिन थालेको बताए।

‘सरकार संविधान बाहिरबाट हिँड्न खोज्दै छ, यस घटना त्यसको प्रारम्भिक बिन्दु हुन सक्छ। भोलिका दिनमा सरकारका काम कारबाही हेरेर अरू प्रस्ट हुन सकिन्छ,’ सिटौलाले भने।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सी विचारधाराबारे नेपालमा सुरु भएको प्रशिक्षण अलोकतान्त्रिक र आपत्तिजनक भएको बताए। उनले नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक मोडालिटीमा नेकपालाई अघि बढाउने सोचसाथ प्रशिक्षण आयोजना गरिएको दाबी गरे।

‘कुनै पार्टीसँग भाइचारा सम्बन्ध हुन सक्छ, देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध हुन्छ तर त्यो मुलुकमा जस्तो खालको शासन व्यवस्था छ, हुबहु अर्को मुलुकमा हुनुपर्छ भन्ने मान्यता नै अलोकतान्त्रिक हो, अप्रजातान्त्रिक हो,’ नेता खाँडले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .