छापा खबर


सवारी दुर्घटनाको कारण भेटिन्छ, तर समाधान खोजिन्न

सवारी दुर्घटनाको कारण भेटिन्छ, तर समाधान खोजिन्न

नेपालखबर
असोज ५, २०७६ आइतबार २:१२,

मुलुकभर सवारी दुर्घटनाबाट दिनहुँ ७ जनाको मृत्यु हुने गरेको छ ।

गत आर्थिक वर्षमा मात्रै मुलुकभर १३ हजार ४२१ दुर्घटनामा २ हजार ७६२ जनाको मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार तीमध्ये ९ हजार ९४० दुर्घटनाको कारण चालकको लापरबाही हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन्।

पछिल्ला ८ वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ४६ हजार दुर्घटना भए । त्यसमा १ हजार २३६ जनाले ज्यान गुमाए । २ हजार १४५ जना गम्भीर र ३२ हजार ६९५ जना सामान्य घाइते भए । गत वर्षका ८ हजार सवारी दुर्घटनामा ५०८ जनाले ज्यान गुमाए । यसअनुसार उपत्यकामा मात्रै दुर्घटनाबाट दिनहुँ एकभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

०७०–७१ मा भएका ८ हजार ४०६ दुर्घटनामध्ये ६ हजार ५ र ०७१–७२ मा ९ हजार १४५ दुर्घटनामध्ये ६ हजार ६०९ मा चालकको लापरबाही कारण थियो । पछिल्लो ५ वर्षयता दुर्घटनाबाट बर्सेनि २ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा दुर्घटना हुनुको कारण के हो भन्नेसमेत विश्लेषण गरेको छ । त्यसमा चालकको लापरबाहीलाई पहिलो कारण देखाइएको छ ।

उपत्यकामा आठ वर्षमा भएका ४६ हजार दुर्घटनामध्ये ४० हजार ४०८ दुर्घटना चालकको लापरबाहीले भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिए । महाशाखाले दुर्घटना हुनुका ९ कारण पत्ता लगाएको छ ।

दुर्घटनाको दोस्रो कारणमा तीव्र गति, तेस्रोमा मादक पदार्थ सेवन, चौथोमा सवारी साधनको यान्त्रिक गडबडी, पाँचौंमा ओभरटेक, छैटौंमा पैदल यात्रुको लापरबाही छ । सातौंमा तोडफोड, आठौंमा सडकको अवस्था र नवौं कारणमा मौसम एवं चौपाया हुने गरेको पाइएको छ ।

‘दुर्घटनाको कारणसहित समाधानका लागि हामीले नीति निर्माण तहमा पठाउँछौं । यसबारे सबैलाई जानकारी पनि छ तर सुधारको नीतिगत व्यवस्था भएको छैन,’ नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘प्रहरीले गर्दा सुधार हुने काममा भने कमी गरेका छैनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad