ad ad

छापा खबर


गृहमन्त्री बादलका भाइ फिरौतीमा पक्राउ, सार्वजनिक भयो प्रहरीले अति गोप्य राखेको घटना !

गृहमन्त्री बादलका भाइ फिरौतीमा पक्राउ, सार्वजनिक भयो प्रहरीले अति गोप्य राखेको घटना !

नेपालखबर
भदौ २५, २०७६ बुधबार २३:४८,

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन्।

उनी ग्रहमन्त्री रामबहादुर थापा (बादल)का साइँला भाइ हुन्। यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

 नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ ।

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआईबीले गत साउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् ।

स्रोतका अनुसार, गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ । अनुसन्धान अधिकारीले यो ‘मिलेर’ काम गर्नुलाई समीरकै योजनाअनुसार व्यापारी र व्यवसायीलाई धम्काएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन् ।

सीआईबी स्रोतले ती अभियुक्तहरूसँग बारम्बार सम्पर्कमा रहेर बसेको भेटिएपछि नरेशलाई पक्राउ गर्नुपरेको उल्लेख गर्‍यो ।

प्रहरीका उच्च अधिकारीहरूले नरेश पक्राउको पुष्टि गरे तर त्यसबारे खुलेर प्रतिक्रिया दिन चाहेनन् । भारतीय सेनाबाट अवकाश प्राप्त नरेशको घटनामा कुन तहसम्मको संलग्नता हो र उनले फिरौती रकम ‘डिल’ गरेका हुन् कि हैनन् भन्नेबारे सीआईबीले कुनै सूचना सार्वजनिक गरेको छैन।

गृहमन्त्रीकै भाइ पक्राउ परेको घटना सार्वजनिक हुँदा ‘अप्ठ्यारो पर्ने’ भन्दै प्रहरीले यस मामिलालाई अति गोप्य राख्न चाहेको छ ।

स्रोतका अनुसार करिब एक साताअघि ब्युरोले अनुसन्धानका लागि भन्दै नरेश थापालाई महाराजगन्जस्थित आफ्नो कार्यालयमा बोलाएको थियो ।

घटनाक्रमको गम्भीरताले गर्दा नरेशलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भएपछि उनको नाम थुनुवा सूचीमा समेत चढिसकेको थियो । भाइ पक्राउ परेको विषय गृहमन्त्री थापासमक्ष तुरुन्तै पुग्यो ।

त्यसपश्चात् नरेशलाई बिरामी भएको कागजपत्र बनाएर प्रहरीले बोलाएको बखत उपस्थित हुने गरी हिरासतमुक्त गरेको स्रोतको दाबी छ । तर सीआईबीका उच्च अधिकारीहरू भने नरेश अझै थुनामा रहेको जिकिर गर्छन् ।

सीआईबीका प्रवक्ता एसपी दीपक रेग्मीले पक्राउ परेका पवन खड्का र सुरेन नगरकोटीलाई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा चलाउने गरी आइतबार मात्रै सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको बताए । घटनामा नरेशको संलग्नताबारेको प्रश्नमा उनले भने, ‘मलाई ठ्याक्कै यसबारेमा थाहा भएन । अर्को पिलरले गरेको अनुसन्धान हो ।’

सीआईबीमा अपराधको वर्गीकरण गरी त्यसको अनुसन्धानका निम्ति बनाइएका छुट्टाछुट्टै इकाईलाई ‘पिलर’ भन्ने गरिन्छ । जानकार स्रोतका अनुसार आइतबार सरकारी वकिलको कार्यालयमा पठाइएको मुद्दाको फाइलमा नरेशको नाम पनि समावेश छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .