प्रहरीले दुई वर्षयता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका आठ सय ४६ नेता कार्यकर्ता पक्राउ गरेको छ।
गत २९ फागुनमा पार्टीमाथि प्रतिवन्ध लगाइएपछि देशभरबाट विप्लव समूहका सात सय ६१ पक्राउ परेका छन्।
त्यसअघि ८५ नेता कार्यकर्ता पक्राउ परेका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओली र टेकराज थामीले लेखेका छन्।
प्रहरीकाअनुसार पक्राउ गरिएकामध्ये सात सय ९२ विरुद्ध मुद्दा चलेको छ।
एक सय २४ जना पुर्पक्षका लागि जेलमा छन्। ६२ माथि अनुसन्धान जारी छ।
सबैगरी विप्लवका एक सय ८६ जना नेता कार्यकर्ता सरकारको नियन्त्रणमा छन्।
बाँकी तारेखमा रिहा भएका छन्। विप्लवका पाँच केन्द्रीय नेता पनि पुर्पक्षका लागि जेलमा छन्।
सरकारले प्रतिवन्ध लगाएयता विप्लवका नौजना नेता कार्यकर्ताको मृत्यु भइसकेको छ।
तीमध्ये तीन जना प्रहरी कारबाहीमा मारिएका हुन् भने ६ जना आफैँले बोकेको बम बिस्फोटमा मारिएका हुन्।
विप्लवको सबैभन्दा राम्रो प्रभाव प्रदेश ४ र ५ मा छ।
पार्टीका महासचिव विप्लवले शक्ति आफूमा केन्द्रीकरण गर्दै लगेका छन्।
उनले स्थायी र पोलिटव्युरो विघटन गरेका छन्। १८ जना केन्द्रीय सदस्यलाई जिम्मेबारीमुक्त गरिएको छ।
सबै निर्णय चारजनाको हेडक्वार्टरबाट हुन थालेको छ।
आफू शक्तिशाली हुनेगरी उनले पार्टीको संरचना बदलेका हुन्।
हेडक्वार्टरमा उनीबाहेक खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर मात्रै छन्।
सरकारले वार्ताको नाममा आफूहरुलाई सिध्याउन खोजेको विप्लवले बताउने गरेका छन्।

प्रतिक्रिया