छापा खबर


प्रधानमन्त्री नियमित काममा, तर धेरै धपेडी नगर्न डाक्टरको सल्लाह

प्रधानमन्त्री नियमित काममा, तर धेरै धपेडी नगर्न डाक्टरको सल्लाह

नेपालखबर
भदौ २२, २०७६ आइतबार २३:५५,

दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवैतर्फका काम सुस्तरी अघि बढाएका छन् ।

उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन्। आइतबार उनले बालुवाटारमै मन्त्रिपरिषद् बैठक डाके।

त्यहाँ केही सचिव बढुवा र चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा हुने एजेन्डासम्बन्धी विषयमा छलफल गरे।

आइतबार नै सरकारले आयोजना गरेको निजामती सेवा दिवससम्बन्धी औपचारिक कार्यक्रम थियो । विगतमा प्रधानमन्त्री नै त्यो कार्यक्रममा जान्थे । यस पटक प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्रीलाई पठाए।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पनि ओली गएका छैनन् । हुन त यसअघि पनि प्रधानमन्त्री सिंहदरबारस्थित कार्यालय दैनिक जाँदैनथे। बालुवाटारस्थित निवासमै मन्त्रिपरिषद् बैठकदेखि भेटघाटलगायतका काम गर्ने छुट्टै कार्यालय छ।

यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

प्रधानमन्त्री ओलीले औपचारिकताका लागि भेट्न आउने केही व्यक्तिलाई पनि समय दिए । श्रीलंकाका लागि राजदूतमा सिफारिस नारद भारद्वाज प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न र औपचारिकताका लागि म गएको थिएँ,’ भारद्वाजले भने, ‘राजदूतमा सिफारिस भएपछि उहाँसँग भेट भएको थिएन, त्यसैले गएको हुँ, उहाँको स्वास्थ्य अवस्था राम्रो पाएँ।’

स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग दिनहुँ भेटघाट गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग सोमबार साँझ ५ देखि ५ः४५ बजेसम्म बालुवाटारमै औपचारिक भेट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चिकित्सकले ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि सल्लाह दिएका छन्।

सिंगापुरमा ओलीको शरीरबाट ‘एन्टिबडी’ हटाउन प्लाज्माफेरेसिस गरेपछि पुनः एन्टिबडी उत्पादन हुन नदिन नयाँ औषधि चलाइएको छ।

औषधिका कारण साइड इफेक्ट हुन सक्ने भएकाले केही सतर्कता अपनाउन चिकित्सकले भनेका छन् । त्यसैले उनले अझै केही दिन बालुवाटारबाटै नियमित काम गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad