राजनीति


वाङको सुरक्षामा चीनका राष्ट्रपति भ्रमणको ‘पूर्व अभ्यास’

वाङको सुरक्षामा चीनका राष्ट्रपति भ्रमणको ‘पूर्व अभ्यास’

नेपालखबर
भदौ २२, २०७६ आइतबार १६:४६,

आइतबार साँझ काठमाडौं उत्रेका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीलाई सरकारले ‘जेड’ तहको सुरक्षा व्यवस्था गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले काठमाडौंमा करिब ४५ घण्टा रहँदा वाङको सुरक्षा प्रबन्ध गर्नेछ।

चीनका विदेशमन्त्री वाङ करिब एक महिनापछि हुने राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका क्रममा नेपाल आएका हुन्। सुरक्षा अधिकारीहरुले वाङको भ्रमणलाई ‘राष्ट्रपति भ्रमणको पूर्व अभ्यास’ का रुपमा हेरेका छन् र त्यसै अनुसारको तयारी गरेका छन्।

राष्ट्रपति सी दसैं लगत्तै नेपाल भ्रमणमा आउने करिब निश्चित भएको छ।

गृह मन्त्रालयले विशिष्ठ ब्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार विदेशी विशिष्ठ पाहुनाका लागि दिने उच्च तहको सुरक्षा प्रबन्ध वाङका लागि गरेको हो। नेपालमा जेड तहको सुरक्षा अन्तर्गत एकजना सिनियर अफिसर बडि गार्ड र पाँचदेखि सातजना विशेष कमाण्डोले वरिपरिबाट सुरक्षा दिनेछन्।

विदेशमन्त्री वाङलाई नेपाल प्रहरीले पहिलो घेरा र सशस्त्र प्रहरीले दोस्रो घेरामा रहेर सुरक्षा दिइरहेका छन्।

‘यो भ्रमण देशका लागि महत्वपूर्ण मध्येको एउटा हो’, नेपाल प्रहरीका एक जना वरिष्ठ अधिकारी भन्छन्, ‘यसलाई चीनका राष्ट्रपतिको भ्रमणको पूर्व अभ्यास ठानेका छौं।’

ती प्रहरी अधिकारीका अनुसार वाङलाई हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको विश्लेषणपछि सुरक्षा योजना बनाइएको थियो। सोही अनुसार वाङको नेपाल भ्रमण अवधिभर सुरक्षा व्यवस्थापन हुनेछ। वाङसँग चीनबाट सँगै आएका उनका नीजि सुरक्षाकर्मी समेत रहनेछन्।

Yiii

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सशस्त्र प्रहरी ९ नम्बर बाहिनी बलम्बुले वाङको सुरक्षा प्रबन्ध गरिरहेको छ।

प्रहरीले वाङको कारगेट, ब्यक्तिगत सुरक्षा र महत्वपूर्ण भेटघाटहरूमा भित्री सुरक्षा दिनेछ। सशस्त्र प्रहरीले निवास, भेटघाट र कार्यक्रम स्थल, कारगेटमा पर्ने पुलपुलेसाको सुरक्षा गर्नेछ। वाङको भ्रमण अवधिमा उनको आवागमन हुने रुटका अग्ला भवनमा समेत सशस्त्रले निगरानी राख्नेछ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङ चढने कारको तालिमप्राप्त कुकुरबाट जाँच गराएपछि मात्रै कारगेट चलाएको थियो। उनी हिँडने रुटमा दोहोरो तर्फ सुरक्षाकर्मी तैनाथ थिए भने सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो।

वाङको नेपाल भ्रमण अवधिभर प्रहरी र सशस्त्रको ‘इन्टेलिजेन्स’ ले शंकास्पद स्थानको चेकजाँच गर्नेछ र शंका लागेका ब्यक्ति नियन्त्रणमा लिनेछ। वाङलाई नेपालमा भौतिक रुपमा कुनै सुरक्षा चुनौती नरहेको सुरक्षा विश्लेषण गरिएको छ।

सुरक्षाकर्मीहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुबाट हुन सक्ने बिरोधलाई नै सुरक्षा चुनौतीका रुपमा विश्लेषण गरेका छन्।

विदेशमन्त्री वाङले नेतृत्व गरेको चीनको १२ सदस्यीय भ्रमण दल पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमा आइतबार साँझ काठमाडौं आइपुगेको हो। उच्च तहको यो भ्रमण दल मंगलबार अपरान्ह स्वदेश फर्कने छ।

विदेशमन्त्री वाङको टोलीमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्तर्राष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङछी लगायत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad