छापा खबर


धनाढ्यको भान्छामा सिस्नु, दैनिक ५ जनाले पाए रोजगारी

धनाढ्यको भान्छामा सिस्नु, दैनिक ५ जनाले पाए रोजगारी

नेपालखबर
भदौ २१, २०७६ शनिबार ०:५८,

‘हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले।’

स्व.महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित चर्चित खण्डकाव्य मुनामदनका यी पंक्तिले सिस्नुलाई मानिसको गरिबीसँग दाँजिएको छ।

तर अहिले गरिबले उपभोग गर्ने खाद्यान्न धनाढ्यको भान्छामा समेत सिस्नुको परिकार पाक्ने गरेको छ।

सिस्नु अहिले औषधिको रूपमा र ब्याक टु नेचरको सिद्धान्तअनुरुप अर्गानिक खाद्यन्नका लागि धनाढ्यको घरमा समेत सुप वा दाल बनाउन प्रयोग गर्ने गरिएको छ। यो खबर दोलखाबाट रवीन्द्र गौतमले आजको अन्नपूर्ण पोस्टमा लेखेका हुन्।

सिस्नुको नियमित सेवनले उच्च रक्तचाप, मधुमेह, रक्तअल्पता, पिसाब र पेटसम्बन्धी रोग, हड्डी चर्केमर्केका बिरामी र गर्भवती महिलालाई समेत फाइदा पु¥याउने गरेको कारण धनाढ्यको रोजाइमा परेको हो। हेमोग्लोबिनको मात्रा सिस्नुमा बढी पाइने हुनाले मानव शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने विज्ञको भनाइ छ।

बैरीलाई ‘तेरो घरमा सिस्नु उम्रियोस्’ भनेर सराप्नेहरू अहिले आफ्नै घर वरपर सिस्नु उम्रेको मन पराउन थालेका छन्। घरछेउमा सिस्नुको बोट राख्नु हुँदैन भन्ने प्रचलनका कारण सिस्नुको बोट फाँड्नेहरू अहिले त्यसको गुण र स्वादका कारण पारखी बनेका छन्।

दुहुना गाईभैंसीबाट दूध बढी उत्पादन गर्न सिस्नुलाई दानाको रूपमा पनि खुवाउने गरिन्छ। विगतमा अपराधी तथा भनेको नमान्ने बालबालिकालाई सिस्नुपानी लगाउने चलन रहे पनि कतिपयले सिस्नुलाई अहिले आयआर्जनको माध्यम बनाएका छन्।

खेर गइरहेको सिस्नुबाट बनेको पाउडर सदरमुकाम चरिकोटको केही पसलमा पाइन थालेपछि स्थानीय तथा आन्तरिक पर्यटकले खरिद गर्ने गरेको पाइएको छ। यो व्यवसाय असोजदेखि पुस र चैतदेखि जेठसम्म दुई सिजन सञ्चालन हुन्छ। प्राकृतिक रूपमा नै सिस्नुको मुना र फूल संकलन गरी पखालेर घाममा सुकाएपछि ग्रान्डर मेसिनमा पिसेर पाउडर बनाइन्छ।

गौरीशंकर गाउँपालिका(६ चंखुमा रहेको माउन्टेन नेचुरल फुड प्रडक्सन प्रालिले सिस्नुको पाउडर उत्पादन गर्दै आएको छ। दोलखाको विभिन्न पसलमा मासिक ३०÷४० हजारको पाउडर बिक्री हुन थालेपछि माउन्टेन नेचुरल फुड प्रडक्सन प्रालिका सञ्चालक जंग गुरुङले उत्पादन बढाउने योजना रहेको बताए।

सञ्चालक गुरुङका अनुसार सिस्नु टिप्नका लागि दैनिक ५ जनाले रोजगारी पाइरहेको छन्।

मासिक २ सय किलोसम्म उत्पादन हुने सिस्नुको पाउडर हङकङ, कोरिया, जापान तथा खाडी मुलुकमा निर्यात गर्ने गरेका छन्। घरमा सूप वा दाल बनाउन र आफन्तलाई कोसेलीका रूपमा सिस्नुको पाउडर बिक्री हुने गरेको व्यापारीहरू बताउँछन्।

२ सय ग्राम, ५ सय ग्राम र १ किलो गरी ३ प्रकारको तौलमा सिस्नुको पाउडर पाइने गरेको छ। २०६२ सालदेखि उत्पादन सुरु गरेका गुरुङले खर्च कटाएर मासिक २५ हजारको हाराहारीमा नाफा कमाउने गरेका छन्।

सामान्यतया दुईचम्चा सिस्नुको पाउडरमा फापर, आलु, मकै वा गहुँको एकचम्चा पिठो मिसाएर दुई चिया गिलास पानीमा करिब १०/१५ मिनेट उमालेपछि सूप तयार हुन्छ। आआफ्नो स्वादअनुसार नुन, खुर्सानी, लसुन, टिमुर आदि मसला राख्न सकिन्छ। यसको साथै सिस्नुको पाउडरको दाल बनाइ खानासँग पनि खान सकिन्छ।

उच्च पहाडी भेगको सिस्नु बढी गुणस्तरीय हुने उत्पादकहरू दाबी गर्छन्। सर्वसुलभ सिस्नुको उत्पादन बढाउन सके आयआर्जन बढाउन र स्थानीय स्रोतसाधनको प्रवद्र्धन हुने निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad