छापा खबर


स्कुल छाडी किन सानैमा बिहे रोज्छन् छात्राहरू?

स्कुल छाडी किन सानैमा बिहे रोज्छन् छात्राहरू?

नेपालखबर
भदौ २१, २०७६ शनिबार १:१,

सिन्धुपाल्चोकको एक गाउँको स्कुलमा पढाउँदा स्कुल छाडेर बिहे रोज्ने छात्राहरू प्रशस्त भेटेँ ।

पहिला–पहिला यो घटना सुन्दा विश्वास लाग्दैन थियो । जब आफैँले कक्षा ९ मा पढाएकी छात्राले भागेर बिहे गरिन्, त्यसवेला म अचम्ममा परेँ ।

आजको नयाँ पत्रिकामा प्रकाशित यो सामग्री सिन्धुपाल्चोकका शिक्षक मोइन उद्दिनले लेखेका हुन्।

त्यसवेला हामी पिकनिक गएका थियौँ । त्यो माघ महिनाको कुरा थियो । केही दिनअघि ल्होछारमा स्थानीयसँगै ती विद्यार्थीलाई देखेको थिएँ । तर, दोस्रो दिनदेखि उनी स्कुल आइनन् ।

उनकी एक साथीलाई सोध्दा भनिन्, ‘ह्लोछारमा एकजना केटासँग बोलेकी थिइन् । त्यही दिन उनीहरू त्यहाँबाट भागेर बिहे गरे ।’

कहिलेकाहीँ साथीहरूले उनलाई बाइकमा मेलम्चीतिर गइरहेको देखेका थिए रे १ साथीहरूले देख्दा ती छात्रा लुक्थिन् रे १ मैले पहिलोपटक त्यो घटना देखेँ । त्यो क्रम रोकिएन । समयक्रमसँगै त्यही कक्षाकै अन्य पा“चजना विद्यार्थीले बिहे गरे । उनीहरूले स्कुल पनि छाडे ।

अर्को घटना पनि भयो । हालसालै कक्षा सातकी एक छात्रा घरमा चिठी लेखेर बेपत्ता भइन् । चिठीमा आफूलाई नखोज्नु भनेकी थिइन् । ती छात्राको दाइ र बहिनीका अनुसार उनी आमाको मोबाइल लिएर राति–राति कुनै केटासँग कुरा गर्थिन् ।

परिवारले उनी बेपत्ता भएपछि पुलिसलाई रिपोर्ट ग–यो । तर, उनी अहिलेसम्म भेटिएकी छैनन् । उनले भाग्दा आमाको एक हजार रुपैयाँ पनि लिएर भागेकी थिइन् । उनी चञ्चले स्वभावकी थिइन् । तर, पढाइमा भने अब्बल थिइन् ।

एकजना छात्रा बिहेपछि पनि स्कुल आइरहेकी थिइन् । बिहेपछि स्कुल आउने उनीजस्ता छात्रा बिरलै छन् । अर्की एक छात्राको खबरले पनि मलाई अचम्मित बनायो । आठ कक्षा पढ्दापढ्दै अघिल्लो साल बिहे गरेकी उनी गर्भवती छिन् र अहिले माइतीमा बसिरहेकी छिन् भन्ने खबर मलाई उनका साथीहरूले सुनाए ।

उनी पनि एकदमै राम्ररी पढ्थिन् । उनी शिक्षक बन्ने सपना देख्थिन् । उनले मलाई भनेकी थिइन्, ‘मोइन सर तपाईं मेरो बेस्ट सर हुनुहुन्छ । म पनि तपाईं जस्तै टिचर बन्न चाहन्छु ।’ उनको आमासँग भेट्दा अघिल्ला दुई छोरीजस्तै उनी पनि भागेर बिहे गर्ने हुन् कि भन्दैमा चिन्तित थिइन् ।

ती छात्रा भागेर विवाह गर्नुहुन्न र दुःख पाइन्छ भन्ने कुराको हेक्का भएर पनि किन आफ्नो खुट्टामा आफैँले बन्चरो हानेका होलान् ? म कक्षाकोठामा सधैँजसो सम्झाउँछु । कुरा सुनिन्जेल मानेकोजस्तो गर्छन् तर व्यवहारमा उतार्दैनन् । उनीहरूलाई त्यसरी भाग्नुको कारण सोध्दा उनीहरूले भने, ‘हाम्लाई के थाहा सर?’

के हो कारण ?
स्कुल तहबाटै छात्राहरू त्यसरी भाग्नुको केही कारण देखिए । के देखियो भने त्यसरी भाग्ने छात्राका आमा विदेशमा छन् ।

घरमा बुबाले दुःख दिइरहँदा दुःख सहन नसकेर पनि उनीहरू भागेका छन् । अर्को कारण घरको आर्थिक अवस्था दयनीय भएर र घरमा कति बोझ भएर बस्ने एकदिन बिहे गरेर जानै छ भनेर पनि स्कुल पढ्दापढ्दै भागेको देखियो ।

घरमा धेरैजना बच्चाबच्ची हुने र आफूलाई माया नगरेको महसुस भएपछि पनि उनीहरू भाग्ने गरेको थाहा पाइयो । अर्को कारणचाहिँ केही छात्रा प्रेम सम्बन्ध हुँदै यौन सम्बन्धसम्म पुग्ने र गर्भवती भएपछि समाजको डरले स्कुल छाडेर भाग्ने गरेको पनि देखियो । केही छात्रा परीक्षामा अनुत्तीर्ण हुँदा पनि भागेका छन् ।

त्यसरी स्कुल छाड्नुमा साथीसंगीको प्रभाव पनि उत्तिकै छ । ‘मेरो ब्वोइफ्रेन्ड छ, तेरो छैन’ भन्ने जस्ता खिसी गर्ने भावनाले पनि काम गरेको छ ।

ब्वोइफ्रेन्ड नहुने केटी साथीहरूको समूहमै नपरिने हो कि भन्ने धारणा पनि देखियो । ‘फलनाकी छोरी त भागी, अब यसको पनि भर छैन’ भन्दै परिवारमा कलह हुँदा पनि छात्राहरूको मनोविज्ञानमा असर परेको देखियो ।

त्यहाँ अर्को डरलाग्दो घटनाचाहिँ सामाजिक सञ्जालको दुरुपयोग भएको देखियो । सामाजिक सञ्चालको कुरालाई पछि ‘ब्लाकमेलिङ’को माध्यम बनाउने र त्यसैबाट छात्राहरूलाई स्कुल छाड्न बाध्य बनाइएको पनि देखिन्छ ।

माथिका घटना केलाइरहँदा यी सबै घटनाको दोषी जानी–नजानी हामी आफैँ पो हौँ कि जस्तो पनि लाग्छ । छात्राहरूलाई स्कुल छाड्न बाध्य गराउने सामाजिक परिवेश तयार गर्न हामीले कतै न कतै भूमिका खेलिरहेका त छैनौँ?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad