ad ad

छापा खबर


किन झस्किए नेताहरू? के चिहानको हड्डी सलबलाएकै हो?

किन झस्किए नेताहरू? के चिहानको हड्डी सलबलाएकै हो?

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १:३८,

हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा सुरक्षासहित बस्ने अधिकार दिएका छौं। हामीले उदारतापूर्वक लोकतान्त्रिक प्रणालीभित्र बस्न दिएको त अहिले ८–१० वर्ष बित्न नपाउँदै संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष नपुग्दै उनीहरूले जे बकवास गर्न थालेका छन्, बकबास गर्न बन्द गरे हुन्छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल, १९ साउनमा रामेछापमा आयोजित कार्यक्रममा

सरकारको उदारता र संयमलाई हेरेर केही तत्व बढ्तै हौसिएको देखिन्छ। म भन्न चाहन्छु– संविधानसम्मत ढंगले चल्ने कुरामा, संवैधानिक दायरामा चल्ने कुरामा यो सरकार अत्यन्त प्रसन्नतापूर्वक विरोधको पनि स्वागत गर्दछ। तर सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्य हुँदैन।

जुन संस्था र निकायका कुरा गर्नेहरू ती संस्था जिउँदै हुँदा हामीले ठेगान लगाएका छौं। अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पनासमेत गरेर उफ्रिएको देखिन्छ। यो बेमौसमको बाजा नबजाए हुन्थ्यो।
प्रधानमन्त्री केपी ओली, १ भदौमा संसद् बैठकमा

प्रणालीकै विरुद्धमा आवाज उठ्न थालेका छन्। यो दुस्साहस कहाँबाट कसरी आयो रुबढ्ढो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिने रु लोकतन्त्रको आधारभूत सवाल र संविधानलाई बलियो बनाउने विषयमा हामी सबै एक ठाउँमा किन नहुने?
केपी ओली, ३ भदौमा आयोजित सर्वदलीय बैठकमा

सत्तारूढ नेकपाका दुई अध्यक्षका पछिल्ला अभिव्यक्ति हुन् यी। झन्डै दुई तिहाइको सत्तारूढ दलका अध्यक्षद्वयका किन एकै समयमा यस्ता अभिव्यक्ति आए?

उनीहरूले भनेजस्तै अहिले संविधान र गणतन्त्रविरुद्ध खतरा देखिएकै हो त? यतिबेला नेपाली राजनीतिक वृत्तमा चर्चा भइरहेको विषय हो यो।

नेताहरूले कोठे बैठकमा षड्यन्त्र सुरु भएको बताउन छाडेका छैनन्। सार्वजनिक रूपमा बोल्दा भने उनीहरू व्यवस्थाविरुद्ध कसैले चलखेल गर्न नसक्ने दाबी गर्छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

नेकपा प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ गणतन्त्र खतरामा नपरेको तर्क गर्छन्। ‘गणतन्त्र खतरामा पर्‍यो भनेर किन बोल्दै हिँड्न परेको हाम्रा वरिष्ठ नेताहरूलाई? कुनै पनि प्रणाली त्यतिबेला खतरामा पर्छ, जतिबेला हामी राम्रो काम गर्दैनौं। जनताको आकांक्षा पूरा गर्न सक्दैनौं।’

काम भएको अनुभूति जनताले नपाउने हो भने कुनै पनि प्रणाली खतरामै पर्ने उनले बताए। श्रेष्ठले भने, ‘ठूलो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जाऊँ भन्ने मेरो धारणा हो। म अहिल्यै गणतन्त्र खतरामा परेको देख्दिनँ। हामी कामै गर्न नसक्ने, जताततै अलमलमा पर्ने हो भने त्यो सम्भावना बढ्दै जान्छ।’

उनले यतिबेला राजतन्त्रै नआए पनि अन्य शक्तिहरू हाबी हुन सक्ने बताउँछन्। उनले भने, ‘दलहरूले यस्ता विषयमा बेलैमा सोच्नुपर्छ। जनतालाई अलमलमा परेर यस्तो खतरा उस्तो खतरा भन्नु हुन्न।’

महासचिव विष्णु पौडेल पनि नेताहरूले समग्र विषयमा कुरा गर्दा यस्ता चलखेल पनि हुन सक्छ है भनेर संकेत मात्र गरेको बताउँछन्।

‘संविधान र व्यवस्थाविरुद्ध खतरा भयो भन्ने नेताहरूको धारणा होइन। चलखेल गर्न सक्छन् भन्ने संकेत मात्र गर्न खोज्नुभएको हो,’ महासचिव पौडेलले भने, ‘नेताहरूले यो विषय त्यति गम्भीर भएर उठाएका हैनन्।’

पार्टीका आन्तरिक छलफल र बैठक बाहिर नेताहरुले यस विषयमा सामान्य टिप्पणी मात्र गरिएको बताए पनि भित्री रूपमा भने चलखेल बढेको भन्दै गम्भीर छलफल चलाएको देखिन्छ।

सामाजिक सञ्जालमा पार्टी नेतृत्व र सरकारविरुद्ध गरिएको प्रचारबाजी, जनतामा बढ्दो निरासा र सामान्य घटनालाई पनि ठूलो बनाउन गरिएको अनेक खाले चलखेल लगायतलाई आधार मानेर नेकपाले यसभित्र व्यवस्थाविरोधी शक्तिहरूको चलखेल रहेको ठानेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .