छापा खबर


हुम्ला विमानस्थलमा महिला भरिया

हुम्ला विमानस्थलमा महिला भरिया

नेपालखबर
भदौ ८, २०७६ आइतबार १:३५,

सिमकोट गाउँपालिका–६ की ४० वर्षीया हसकला सुनार बिहानै घरबाट निस्किन्छिन्।

विमानस्थल नपुगुन्जेल भारी नपाइएला कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ । मौसम खराब भएर विमान नआएको दिन उनी निराश हुन्छिन् र रित्तो हात घर फर्किन्छिन् ।

‘भारी बोक्न नपाए बिहान–बेलुका हातमुख जोर्नै मुस्किल हुन्छ,’ उनले भनिन्, ‘यही हवाईजहाजको आस गरेर हाम्रो छाक टर्छ।’

जहाजले खाद्य संस्थानको चामल, साल्ट ट्रेडिङको नुन र स्थानीय व्यापारीको सामान ल्याउँछ । यही सामान बजार पुर्‍याएर गुजारा चलाउँछिन् हसकला ।

उनीजस्तै भारी बोकेर परिवार धान्ने सिमकोटमा धेरै छन् । तीमध्ये सबैजसो महिला छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा हुम्लाबाट नरजन तामाङले लेखेका छन्।

आर्थिक अवस्था कमजोर भएका ३३ महिला र तीनजना पुरुषले यही पेसा गरिरहेका छन् । उनीहरूले बजारसम्म सामान बोकेर पुर्‍याएको ५० देखि दुई सय रुपैयाँसम्म पाउँछन् ।

हावाहुरी आएको र बादल लागेको दिन भारी नपाएर चुलोमा आगो नबल्ने सिमकोट–४ की काली बोहरा बताउँछिन् । उनी चार वर्षदेखि भारी बोकिरहेकी छिन् । पति बितिसकेकाले चारजनाको परिवार धान्ने जिम्मा उनको थाप्लोमा छ।

आफ्नो बारीमा फल्ने अन्नले तीन महिना पनि नपुग्ने उनले बताइन् । ‘सुखदुःखको के कुरा गर्नु ’ काली भन्छिन्, ‘काम नगरी माम नपाइने रहेछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पिठ्युँमा भारी हुन्छ । त्यो नभए चुलामा आगो बल्दैन।’

हिराकली सुनार ४५ वर्ष पुगिन् । उनी पनि २५ वर्षदेखि भारी नै बोकिरहेकी छिन् । साहुले ज्याला जति दिए पनि लिनैपर्ने अवस्था रहेको उनको भनाइ छ ।

संविधानको धारा ३४ को उपधारा ९२० मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । तर, यी हुम्ली श्रमिकका लागि यो हकको कार्यान्वयन हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad