पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन्।
एकीकरणपूर्व अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ।
बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षतामा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताए।
सांगठनिक एकीकरणको काम अन्तिम चरणमा पुर्याएका अध्यक्षद्वय ओली र प्रचण्डबीच सरकारको नेतृत्वमा पनि सहमति भएको बताइएको छ।
प्रचण्डले आफूलाई अध्यक्षको जिम्मेवारी दिए प्रधानमन्त्री ओलीलाई आगामी चार वर्षका लागि प्रधानमन्त्रीमा निरन्तरता दिन सकिने बताउँदै आएका थिए।
नेकपाले सांगठनिक एकीकरणको काम सम्पन्न गरेर एक साताभित्रै देशव्यापी अभियान सञ्चालन गर्ने योजना यसअघि नै तय गरिसकेको छ।
सचिवालय बैठकले केन्द्रीय विभाग गठन गर्दै जिम्मेवारी तोकेकाले सांगठनिक कार्य अगाडि बढाउने तयारी प्रचण्डले गरेका छन्।
संगठन विभाग प्रमुख वामदेव गौतमले सांगठनिक कामले अब देशव्यापी गति लिने बताउनुभयो। उनले आफूलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान संशोधनपछि मात्र कार्यान्वयनमा आउने जानकारी दिए।
गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई पार्टीमा उपाध्यक्ष बनाउन स्थायी कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो। पार्टीले गौतमलाई संगठन विभागको प्रमुख र अखिल नेपाल किसान महासंघको इन्चार्जको जिम्मेवारी तोकेको छ।
नेपालको प्रस्ताव अस्वीकृत
नेकपाको सचिवालयमा तत्काल थप सदस्य नथपिने भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा तीन जना सदस्य थप्न गरेको प्रस्ताव सचिवालय बैठकले अस्वीकृत गरेको हो।
यही भदौ १ गते बसेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन एमाले उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा राख्नुपर्ने प्रस्ताव गरेका थिए।
उक्त बैठकमा अध्यक्षद्वयपछिको पहिलो वरिष्ठ नेतामा झलनाथ खनाल र त्यसपछिको वरिष्ठमा नेता आफू रहने निर्णय भएसँगै नेपालले सातबुँदे ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो। नेपालले एक पद, एक जिम्मेवारीको वकालत गर्दै अाएका छन्।
संगठन विभाग प्रमुख गौतमले सचिवालयमा सदस्य थप्ने सोचाइ नरहेको र प्रवक्ता श्रेष्ठले नेपालको फरक मतमाथि बैठकमा छलफल नहुने बताए।
Shares

प्रतिक्रिया