ad ad

छापा खबर


गम्भीर बिरामी राखिने एचडियू खरिदमा समेत भ्रष्टाचार

गम्भीर बिरामी राखिने एचडियू खरिदमा समेत भ्रष्टाचार

नेपालखबर
असार ५, २०७८ शनिबार २३:३८,

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारी आन्दोलनमा छन्।

आर्थिक अनियमितता गर्दै आएका उपकुलपति डा.ज्ञानेन्द्र कार्कीले कोभिड महामारीका वेला स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लागेको छ । गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा समेत भ्रष्टाचार गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले स्थानीय व्यापारी चेतन अग्रवालसँगको मिलेमतोमा सार्वजनिक खरिद नियमावलीविपरीत सामान खरिद गरेर अस्पताललाई घाटामा पारेको भन्दै एक डाक्टर र एक कर्मचारीले राजीनामा दिएका थिए । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेका अग्रवालका दुई फर्म प्रेसिजन र सर्जिकेमबाट तीन करोड २६ लाखको सामान खरिद गरिएको थियो।

उपकुलपति गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साहले अग्रवालसँगको मिलेमतोमा त्यस्तो निर्णय गरेको कर्मचारीहरू बताउँछन् ।

त्यसका लागि गत १८ जेठमै अग्रवालको कम्पनीलाई एक करोड २५ लाख भुक्तानी गरिसकिएको थियो । त्यसमध्ये २५ वटा एचडियू बेड बजार मूल्यभन्दा २६ लाख बढी राखेर खरिद गरिएको थियो । खरिदका लागि सुरक्षित चलान र कागजपत्र स्टोरको दाखिला नै छैन ।

उपकुलपति भएपछि गिरीले गत वर्षको लकडाउनमा काठमाडौंस्थित पार्क भिलेज रिसोर्टमा बिपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बसाएका थिए । उनले प्रतिष्ठानका नाममा काठमाडौंको बाँसबारीमा रहेको सात रोपनी, भक्तपुरमा रहेको १२ रोपनी, धरानको छाताचोकमा रहेको ६ कट्ठा, मोरङको सुन्दरहरैँचामा रहेको १४ बिघामध्ये ६ बिघा जमिन निजी क्षेत्रलाई ३५ वर्षसम्मका लागि लिजमा दिने निर्णय गराएका थिए ।

तर, चिकित्सक, प्रतिष्ठानका सिनेटरदेखि सर्वसाधारणसम्मले विरोध गरेपछि सो निर्णय कार्यान्वयन हुन सकेको छैन । यस्तै, अक्सिजन प्लान्ट मर्मतमा आफूनिकटलाई दिएर पूर्ण क्षमतामा नचलाई प्रतिष्ठानलाई क्षति पुर्‍याएको पनि चिकित्सक र कर्मचारीको आरोप छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा धरानबाट देवेन्द्र कार्कीले लेखेका छन्।

शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई व्यवस्थापन पक्षले मलजल गरेको आरोप लगाउँदै बिपी स्वास्थ्य प्रतिष्ठान सुधार सञ्जाल गठन गरेर नागरिक समाज पनि आन्दोलनमा उत्रिएको छ । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा.राजेन्द्र शर्माको नेतृत्वमा बिपी प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीविरुद्ध निरन्तर आन्दोलन चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .