सुन प्रतितोला ७० हजार रुपियाँ पुगेको छ। नेपालको इतिहासमा पहेँलो धातुको मूल्य यति उच्च बिन्दुमा पुगेको यो पहिलो पटक हो।
बुधबार एकै दिनमा एक हजार पाँच सय रुपियाँले महँगिएको सुन बिहीबार नेपाली बजारमा पाँच सयले बढेर ७० हजार पुगेको हो।
सुनसँगै डलरको भाउ उकालो लाग्दा नेपाली अर्थतन्त्रमा अनेक प्रभाव पार्न सक्ने आजको गोरखापत्रमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन्।
साउनमा मात्र प्रति अमेरिकी डलर चार रुपियाँले बढेको छ।
मङ्गलबार प्रतितोला ६८ हजार रुपियाँमा कारोबार भएको सुन बुधबार एक हजार पाँच सय रुपियाँले बढेर ६९ हजार पाँच सय रुपियाँको ऐतिहासिक रेकर्ड कायम गरेको हो ।
साउन महिना लागेसँगै उच्च दरले सुन महँगिँदै गएपछि सुनको कारोबार भने घटेको छ ।
साउन १ गते ६४ हजार पाँच सय रुपियाँमा सीमित रहेको सुनको मूल्य साउन २३ गते ७० हजार पुगेको हो।
सामान्य अवस्थामा दैनिक ३५ किलो सुन खपत हुने गरेकामा अहिले प्रतिदिन १० किलोभन्दा कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुन पसलहरूमा अहिले सुन किन्नेभन्दा आफूसँग बेच्न चाहने मात्र आउने गरेका छन्। सर्वसाधारणले महँगो मूल्य पाउने देखेर आफूसँग भएको सुन बेच्न चाहेको देखिन्छ।
सुनचाँदी व्यवसायीहरूले आर्थिक क्षमताले भ्याएसम्म खरिद गरेका छन् तर यो अवस्था पनि निरन्तर गर्न समस्या परेको व्यवसायी बताउँछन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी तेजरत्न शाक्य महँगो भएपछि सुन खरिद गर्न पनि समस्या परेको बताउँछन्।
“बिक्री छैन, महँगो दरमा खरिद मात्रै गर्नुपर्दा व्यवसायीसँग नगद नै नहुने अवस्था आएको छ”, उनले थपे, “अवस्था अझै यस्तै भए व्यवसाय नै बन्द गर्नुपर्ने खतरा छ । ”

प्रतिक्रिया