छापा खबर


ओलीलाई व्यंग्य गर्दै कवि श्रवण मुकारुङले भने- उनलाई भन्दा मलाई दोब्बर बढी उखान आउँछ 

ओलीलाई व्यंग्य गर्दै कवि श्रवण मुकारुङले भने- उनलाई भन्दा मलाई दोब्बर बढी उखान आउँछ 

नेपालखबर
फागुन १, २०७७ शनिबार ३:४,

एउटा शव थियो, शवलाई मलामीले बोकिरहेका थिए । मलामीले सेतो कपडा लगाएका थिए।

माघ २१ मा बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याको विरोधमा प्रतीकात्मक शव बनेकी थिइन् अभियन्ता अंशु खनाल । उनी शव बोक्ने खटमा निश्चल थिइन् । उनलाई पहेँलो कपडा ओढाइएको थियो।

शव बोकेर मलामी दिउँसो २ बजे वसन्तपुर दरबारबाट हिँडे, गन्तव्य थियो सिंहदरबार । मार्चमा थिए सयौँको संख्यामा युवा महिला । उनीहरू बलात्कृत युवतीको शव देशका प्रधानमन्त्री केपी ओलीलाई देखाउन चाहन्थे ।

भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक बनेर युवा महिलाको टोली सिंहदरबारतर्फ मार्च गर्दा देशका प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यालय नटेकेको १० महिना भइसकेको छ । हो, कार्यकारी प्रमुखले देश आफ्नै निवासबाट चलाइरहेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवीन प्यासीले लेखेका छन्।

संविधानविरोधी अध्यादेश ल्याउनेदेखि जननिर्वाचित संसद् विघटन गर्नेसम्म उनले बालुवाटारबाटै गरिरहेका छन् ।

प्रधानमन्त्रीले ११ महिनादेखि एक पाइला पनि नटेकेको सिंहदरबारतिर प्रधानमन्त्रीलाई भेट्न उनीहरू गइरहेका थिए । हो, यस्तै विडम्बनाको प्रतीक बनेको छ देश ।

खटमा लमतन्न बनेकी अंशु नै यो ‘पर्फर्मेन्स आर्ट’की परिकल्पनाकार हुन् । उनीहरूको टिम ‘आभा फर क्रियटिभिटी’मार्फत सामाजिक मुद्दाहरूमा सडकमा कार्यक्रम गरिरहेको छ।

शवयात्रामा मार्च गरिरहेका रसिक राजले हामीसँग भने, ‘यो पर्फर्मेन्स आर्ट हो, तर यो केवल नाटक मात्र होइन । व्यवस्थालाई कुल्चिदिएका तानाशाहहरूले हामीलाई यसो गर्न बाध्य गराए । यतिखेर हामी चुप रह्यौँ भने भोलि हाम्रा सन्ततिहरूले पनि यो दुःख र ज्यादती भोग्न बाध्य हुनुपर्छ । त्यसका लागि हामीले यो प्रदर्शन गरेका हौँ ।’

शव बनेकी अंशु आफैँले पछि भनिन्, ‘यो त प्रतीकात्मक प्रस्तुति थियो, तर मलाई उकुसमुकुस भयो, खटमा सुतिरहेको वेला बलात्कार, दुव्र्यवहार र हत्याका घटना मात्र आँखाअघि डुलिरहे । यो परिकल्पना नै यति भयंकर छ, तर हाम्रा दिदीबहिनी दिनहुँ यही नियतिको सिकार भइरहेका छन्।’

शुक्रबार दिउँसो १२ बजे भृकुटीमण्डपबाट साङ्लोमा बाँधिएका कलाकारहरू अघि लागेपछि स्रष्टाहरूको मार्च वसन्तपुर पुगेको थियो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधस्वरूप हातमा साङ्लो बाँधेर स्रष्टाहरू वसन्तपुर हिँडेका थिए । वसन्तपुरमा कोणसभामा बोल्दै कवि श्रवण मुकारुङले भने, ‘महाकाव्य लेखिरहेका कविहरूको महाकाव्य यहाँ नआइपुगी पूरा हुनेछैन । संगीत भरिरहेका संगीतकारहरूको संगीतमा यहाँ नआइपुगी सुर भेटिने छैन।’

उनले प्रतिगमनको विरोध गर्न केही स्रष्टाले अझै पनि राजनीतिक पार्टीका नेताहरूको आदेश कुरिरहेकाले उनीहरूको सिर्जनामाथि प्रश्न गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई १२ सय १३ वटा उखान आउँछ भने मलाई २६ सय १३ वटा उखान आउँछ । तर, हामीले उनलाई उखान भन्न त्यहाँ पठाएका होइनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad