छापा खबर


अनलाइन प्रणाली प्रभावकारी : सजिलै हुन थाल्यो सरकारी कर्मचारीको सरुवा

अनलाइन प्रणाली प्रभावकारी : सजिलै हुन थाल्यो सरकारी कर्मचारीको सरुवा

नेपालखबर
माघ १७, २०७७ शनिबार १:७,

विराटनगरको भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा विजय गौतमले काठमाडौँमा रहेको केन्द्रीय तथ्याङ्क विभागमा सरूवा माग गर्दै एक महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिए।

अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिएको दुई हप्तामै गौतमलाई मन्त्रालयबाट तपाईँले रोजेकै कार्यालयमा सरूवा भयो भनेर फोन आयो। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

गौतम जस्तै महोत्तरी, जलेश्वरको हुलाक कार्यालयबाट निजामती कितावखानामा सरूवाका लागि निवेदन दिएका खरिदार सावित्रा अधिकारीको पनि अनलाइनबाट निवेदन दिएको केही दिनमै मन्त्रालयले सरूवा भएको जानकारी दियो।

‘खाली ठाउँ कहाँ छ भन्ने खोज्दै जाँदा निजामती किताबखानामा खरिदारको पद खाली भएको पाइयो । अनलाइनबाट निवेदन दिएँ । निवेदन दिएको चार दिनमै तपाईँको काम भयो भनेर मन्त्रालयबाट फोन आयो,’ अधिकारीले भनिन्।

अनलाइन प्रणालीबाट सरूवा गर्दा विना भनसुन र विना झन्झट रोजेकै कार्यालयमा सरूवा भएको उनले बताइन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरु गरेको अनलाइन सरूवा प्रणाली प्रभावकारी बन्दै गएको छ। यसअघि भौतिक रूपमै उपस्थित भएर सरूवाका लागि निवेदन दिँदा एक महिनामा तीन सयदेखि चार सय निवेदन आउने गरेकोमा अनलाइन प्रणाली लागू भएपछि आठ सय पुगेको छ।

निवेदन दिएकामध्ये एक महिनामा ७२ जनाको सरूवा अनलाइन प्रणालीबाट भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत पुस १ गतेदेखि सबै कर्मचारीको सरूवा प्रणाली अनलाइनबाटै गर्न थालेको हो।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजिव पोखरेलले भने, ‘अहिले दुर्गम क्षेत्रका कर्मचारीले सरूवा निवेदन बोकेर मन्त्रालयसम्म आइरहनु पर्दैन, अनलाइनबाट आफ्नै कार्यालय वा घरबाटै निवेदन दिनसक्छन् । मन्त्रालयका कर्मचारीको अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा समय खर्चनु नपर्ने भएको छ।’

अनलाइन सरूवा प्रणाली सुरू भएपछि दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई झनै सजिलो भएको छ । सरूवाकै लागि भनेर राजधानी आउँदा–जाँदा हुने पैसा खर्च र समय जोगिएको छ । यसले गर्दा सेवा प्रवाह पनि प्रभावित नहुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad