छापा खबर


खानेतेलको मूल्य अझै बढ्ने, किन भइरहेको छ यस्तो?

खानेतेलको मूल्य अझै बढ्ने, किन भइरहेको छ यस्तो?

नेपालखबर
पुस २६, २०७७ आइतबार १:५१,

बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ।

अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका खबर आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन्।

उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार गएको भदौदेखि नै खाने तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ।

भदौ दोस्रो सातादेखि अहिलेसम्म सबैभन्दा बढी भटमासको तेलको मूल्य बढेको छ । भटमासको तेलको मूल्य ५० प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य १८ प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय ५० रुपैयाँसम्म पर्न थालेको छ।

प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्ने सनफ्लावर तेलको मूल्य २९ प्रतिशतले वृद्धि भई प्रतिलिटर २ सय २५ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी अमृत तेलको मूल्यमा पनि १७ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ८० रुपैयाँबाट २ सय १० रुपैयाँ पर्न थालेको छ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै ठूला व्यापारीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको जानकारी दिए । उनका अनुसार अबको एक साताभित्र बजारमा खाने तेलको मूल्य अझै बढ्न सक्छ।

तेलको कारोबार गर्ने ठूला व्यापारी, बिचौलिया र उद्योगीहरूको मिलेमत्तोमा बजारमा भटमास र सनफ्लावर तेलको कृत्रिम अभाव भइरहेको उनको दाबी छ । ‘यी दुईथरी तेलहरू बजारमा पाउनै मुश्किल छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad