छापा खबर


आज पार्टी विभाजन हुने, कता खुल्लान् वामदेव र बादल?

आज पार्टी विभाजन हुने, कता खुल्लान् वामदेव र बादल?

नेपालखबर
पुस ६, २०७७ सोमबार २३:२३,

मंगलबारबाटै पार्टी औपचारिक रूपमा विभाजन हुने निश्चित देखिए पनि सोमबार रातिसम्म उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली खेमा कतै खुलेका छैनन्।

गौतमसँग नाम जोडिएका सबैजसो सांसदले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । तर, ओली र गौतमसँग समदूरीमा रहेका स्थायी कमिटी सदस्य तथा सांसद रघुवीर महासेठले भने आफूहरूलाई साथ दिने वरिष्ठ नेता माधवकुमार नेपालले दाबी गरेका छन्। उनीसँग जोडिएका केन्द्रीय सदस्यहरू बलराम बाँस्कोटा, हरि पराजुली, राधा ज्ञवालीलगायत केही अझै गौतमकै कारण कतै नखुलेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रतिनिधिसभा विघटनको विरोध गरेका गौतम दुवै पक्षको भेला र छलफलमा सामेल छैनन् । मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा भने उनी कता जान्छन्, सबैको चासो भएको छ । तर, गौतमले सोमबार औपचारिक भनाइमार्फत आफू फुटको साक्षी नबस्ने बताएर दुवैतिरको बैठकमा नजाने प्रस्ट संकेत गरेका छन्।

‘अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु,’ उनले भनेका छन् ।

उता, गौतमजस्तै गृहमन्त्री बादल कता लाग्लान् भन्ने विषय पनि नेकपापंक्तिमा चासो बढेको छ । उनको समूहमा रहेका स्थायी कमिटी सदस्य देव गुरुङ र पम्फा भुसालसहित करिब दुई दर्जन केन्द्रीय सदस्यमध्ये अधिकांशले पुल्चोकस्थित क्वार्टरमै पुगेर बादललाई प्रचण्ड–नेपालको पक्षमा खुल्न र विघटनको समर्थन गरेर प्रतिक्रान्तिको बाटोमा नहिँड्न दबाब दिएका छन्।

यद्यपि, उनकै समूहका केन्द्रीय सदस्य कुलप्रसाद केसीसहित आधा दर्जनजति केन्द्रीय सदस्य भने उनी अन्तिममा जता खुल्छन् त्यतै लाग्ने मनस्थितिमा देखिएको स्रोतले जनाएको छ । ‘हामीले उहाँलाई भेटेर दबाब दिएकै हो, अन्तिममा उहाँले तपाईंहरूको भावनाको सम्मान गर्दै अब उचित निर्णय लिन्छु, ढुक्क हुनुस्, प्रतिक्रान्तिको बाटोमा लाग्दिनँ भन्नुभएको छ,’ उनीनिकट एक स्थायी कमिटी सदस्यले भने।

उनीनिकट स्रोतका अनुसार बादलले प्रधानमन्त्री र प्रचण्ड दुवैलाई आफूले अन्तिममा साथ दिने आश्वासन दिएका छन् । बादलले दुवै अध्यक्षसँग बेग्लाबेग्लै भेट पनि गरेका थिए।

‘प्रधानमन्त्री महाधिवेशनसम्म अहिलेकै जनताको जनवादको कार्यदिशालाई बोकेर जाने र महाधिवेशनमा मात्रै बहस ओपन गर्ने, अहिलेलाई जबज नबोक्ने लिखित समझदारीमा तयार हुनुभयो भने त्यतातिर समर्थन गर्ने सम्भावना पनि छ, उहाँ अझै सोच्ने तहमै हुनुहुन्छ, अन्यथा उहाँले बहुसंख्यककै निर्णयअनुसार प्रचण्ड–नेपाललाई नै साथ दिनुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो । उनी पनि दुवै पक्षको भेलामा सामेल छैनन्।

केन्द्रीय सदस्यहरूसँगको भेटमा भने बादलले देशी–विदेशी प्रतिक्रियावादीहरूले नेकपा विभाजनका लागि कोसिस गर्दै आएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहले उनीहरूको चाहनालाई पूरा गर्ने गरी पार्टी विभाजन गर्न खोजेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad