सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध खोपको खरिद, व्यवस्थापन र वितरण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ।
सरकारले कोभिड–१९ स्वास्थ्य क्षेत्र दु्रत कार्ययोजना तयार गरी पहिलो चरणका लक्षित समूहलाई माघसम्म खोप लगाउने गरी तयारी गरेको खबर आजको कारोवार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिकदेखि माघसम्मका लागि सार्वजानिक गरेको ४ महिनाको कोभिड १९ स्वास्थ्य क्षेत्र दु्रत कार्ययोजनामा खोपसम्बन्धी क्रियाकलापहरूका लागि १० अर्ब २५ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको जनाएको छ।
कार्ययोजनाबमोजिम खरीद गर्नु पर्ने खोपसहितका अन्य अत्यावश्यक सामग्री, औषधि तथा उपकरणहरूका लागि छुट्याइएको बजेटमध्ये संघीय सरकारले ६५ प्रतिशत खर्च गर्ने छ। जसमध्ये ५० प्रतिशत सम्बन्धित अस्पतालहरूलाई प्रतिकेस व्यवस्थापन गरे वापत शोधभर्ना गरिने छ।
आकस्मिक प्रयोजनको लागि खरिद गर्न १५ प्रतिशत संघ र ५–५ प्रतिशतका दरले हरेका प्रदेशमा उपलब्ध गराइने उल्लेख छ।
संक्रमणको जोखिममा रहेका मानिसलाई खोप दिनका लागि माघ महिनाको पहिलो हप्तादेखि चौथो हप्तासम्म प्रतिहप्ता ५ सयको दरले २ हजार स्वास्थ्यकर्मीलाई तालिम दिने योजना समेत रहेको छ । यसका लागि ३७ लाख ५० हजार खर्च हुने अनुमान छ।
यसैगरी खोप भण्डारणका लागि कोल्ड चेन निर्माण, योजना र कार्यान्वयनका लागि १ करोड र खोप खरिदका लागि १० अर्ब बजेट खर्च गर्ने योजना बनाएको छ।

प्रतिक्रिया