समाज


आज एकैदिन देशभर ३९६ आधारभूत अस्पताल शिलान्यास गरिँदै

आज एकैदिन देशभर ३९६ आधारभूत अस्पताल शिलान्यास गरिँदै

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ०:४१,

सरकारले आज (सोमबार) देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ। आज सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गरिने सरकारले जनाएको छ।

ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न लागिएको हो। आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइने सरकारी अधिकारीहरुले जनाएका छन्।

आज शिलान्यास हुने अस्पताल ५, १० र १५ शय्याका हुनेछन्। सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको संकेतको रुपमा व्याख्या गरेको छ। अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालका अनुसार आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा आउनेछन्। ‘यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति नै भन्दा हुन्छ । उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन,’ लम्सालले भने, ‘सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गर्न लागिएको हो।’

पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइने लम्सालले बताए । अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ। अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ।

प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछ। त्यसैगरी, लुम्बिनी प्रदेशमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमती प्रदेशमा ५१ र कर्णालीमा ४२ वटा स्थानीय तहमा अस्पताल बनाइने छ।

अनुकूलताको आधारमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad