छापा खबर


प्रचण्डका आरोपमाथि दर्जन प्रत्यारोप लगाउँदै ओलीले दिए तीन सन्देश

प्रचण्डका आरोपमाथि दर्जन प्रत्यारोप लगाउँदै ओलीले दिए तीन सन्देश

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ०:१०,

पार्टी र देशका लागि तत्काल ‘त्याग’ गर्नुपर्ने प्रस्तावलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले खारेज गरेका छन्।

संक्रमणकालीन पार्टी कमिटीहरूले बहुमत–अल्पमतका आधारमा गर्ने निर्णय मान्न नसकिने भन्दै उनले चुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि पार्टी अध्यक्ष हस्तान्तरण गर्न सकिने स्पष्ट पारेका छन्।

२८ कात्तिकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत १९ पृष्ठको प्रस्तावको जवाफमा अर्का अध्यक्ष ओलीले ३८ पृष्ठको दस्ताबेज प्रस्तुत गरेका छन् । त्यसमार्फत् उनले तीन सन्देश दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

१.प्रचण्डको प्रस्ताव खारेज, चुनावअघि प्रधानमन्त्री र महाधिवेशनअघि अध्यक्ष छोड्दिनँ

२.संक्रमणकालीन कमिटीले बहुमत–अल्पमतका आधारमा गर्ने निर्णय मान्न सकिँदैन

३. संकटकाल लगाउने, संसद् भंग गर्ने र द्वन्द्वकालीन मुद्दाहरू ब्युँताउनुपर्ने कमजोर धरातलमा म उभिएको छैन

शनिबार पार्टी सचिवालय बैठकमा पेस गरेको प्रस्ताव र त्यसपछि बैठकमा राखेको धारणामा ओलीले पार्टी एकताका लागि अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव क्षमायाचनासहित फिर्ता गर्नुपर्ने सर्त पनि राखेका छन्।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावलाई राजनीतिक हैसियत दिन नसकिने भन्दै यसलाई अस्वीकार गरेका छन् । ओलीले अबको महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि त्याग गर्न प्रस्ताव गरेका छन् ।

आगामी महाधिवेशनमा आफू अध्यक्ष नउठ्ने लिखत गर्न आफू तयार भएको भन्दै ओलीले त्यस्तो त्यागका लागि पार्टी र सरकारको नेतृत्व गरिसकेका नेताहरू पनि तयार हुनुपर्ने सर्तसहितको प्रस्ताव अघि सारेका छन्।

उनले चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर निरन्तर नेतृत्व परिवर्तनका लागि चलखेल गरेको आरोप पनि लगाएका छन्।

ओलीले प्रचण्डमाथि गरेको प्रत्यारोपका मुख्य बुँदा यस्ता छन्
१. फौजदारी आरोप लगाउनुभएको छ, पुष्टि गर्नूस् या जवाफदेही बन्नूस्
२. राष्ट्रपतिमा गिरिजाप्रसाददेखि माधव नेपालसम्मलाई धोखा
३. कांग्रेससँगै सरकारमा भएको वेला अर्को पार्टी एमालेसँग चुनावी गठबन्धन किन?
४. गत निर्वाचनमा संघीय समाजवादी फोरमले अडान लिएपछि मात्र सरकार बनेको हो
५. निर्वाचनमा प्राप्त करिब ३२ लाख र १३ लाखको अंकलाई मैले सम्झना गरिनँ

६.खुमलटार निश्चित कमरेडहरू बस्ने थलोको रूपमा विकास भयो
७. जबज र पहिलो कम्युनिस्ट सरकारले गणतन्त्रका लागि भूमिका खेल्यो
८. प्रचण्डको नेतृत्वमा माओवादी जनयुद्धद्वारा त्याग र बलिदानको कीर्तिमान
९. संसद् विघटन गर्ने, संकटकाल लगाउने र द्वन्द्वकालीन मुद्दा ब्युँताउनुपर्ने अवस्था छैन
१०. एमसिसी कांग्रेस र माओवादीका पाला हस्ताक्षर भएको हो
११. शान्ति प्रक्रियाका काममा कांग्रेस र तत्कालीन माओवादीको विकल्प स्वीकार्य छ
१२. गुप्तचर पदाधिकारीसँग अपारदर्शी भेटको लत

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad