पार्टीभित्र दबाबमा परेका प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग साझेदारीको प्रस्ताव गरेका छन्।
शनिबार दिउँसो कांग्रेस सभापतिसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेकपाभित्रको टकराव दुर्घटनाउन्मुख भएको निष्कर्ष सुनाउँदै नयाँ सहकार्यका लागि आग्रह गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।
नेकपा सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब एक दर्जन गम्भीर अभियोगसहित प्रस्ताव प्रस्तुत गरेपछि अर्का अध्यक्ष ओलीले आगामी १३ मंसिरमा जवाफी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत भएमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा पर्ने अवस्था छ । ओलीले सकेसम्म संसदीय दलमा बहुमत पु¥याउने, दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेर नयाँ दल बनाउने र संसद् विघटन गर्नेसम्मको विकल्पमा परामर्श गर्दै आएका छन्।
संसदीय दलमा बहुमत सिद्ध गरेमा ओलीको प्रधानमन्त्री पद सुरक्षित हुनेछ । तर, दलमा बहुमत नपुग्ने अवस्थामा उनले नयाँ दल सिर्जना गर्न सक्छन् जसका लागि उनले नयाँ गठबन्धन बनाउनुपर्नेछ।
संवैधानिक आयोगमा नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । देउवाले आफूसँगै रमेश लेखकलाई पनि लगेका थिए, खासमा कानुनी विषयमा पनि सहयोग पुग्छ भनेर देउवाले लेखकलाई लिएर हिँड्ने गरेका छन्।
बालुवाटारमा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी थिए । भेटको विषयमा कांग्रेस नेतृत्वले आफ्ना समूहका शीर्ष नेताहरूसँग विषयवस्तु साझा गरेका छन्।
कांग्रेस स्रोतका अनुसार करिब डेढ घन्टा सामयिक राजनीति, संवैधानिक आयोग र विश्वविद्यालयसहितका विषयमा छलफल भएपछि ओलीले भनेका थिए, ‘म एकैछिन तपाईं (देउवा)सँग छुट्टै कुराकानी गर्न चाहन्छु।’
ओलीको इसारा बुझ्नासाथ नेकपाका नेताहरू ज¥याकजुरुक उठेर बाहिर निस्किएका थिए । उनीहरूसँगै कांग्रेस नेता रमेश लेखक पनि बाहिरिएका थिए । त्यही वेला कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि बालुवाटार पुगेका थिए । तर, दुईजना मात्र भित्र बसेको र अरू सबै बाहिर भएकाले कार्की पनि उनीहरूसँगै बाहिरै बसेका थिए।
बुढानीलकण्ठ पुगेपछि देउवाले आफ्नो समूहका नेताहरूसँग ओलीको प्रस्तावको विषयमा छलफल गरेका थिए । ‘खासमा नेकपाभित्रको विवादले वर्तमान सरकार अप्ठ्यारोमा छ, वामदेव गौतमको साथ पाए अझै पनि सरकार कायम रहन्छ । तर, तपाईं–हामी सँगै छौँ, आखिर एमसिसीजस्ता मुद्दामा पनि हामी सँगै छौँ, त्यसैले अबका दिनमा हामी सँगै छौँ भन्ने सन्देश तपाईंले दिनुपर्ने भयो,’ ओलीको प्रस्ताव उद्धृत गर्दै देउवाले नेताहरूसँग भनेका थिए।
तर, यस्तो सन्देशको अर्थ के हुन्छ भनेर देउवाले ओलीलाई सोधेको पनि नेताहरूले बताएका छन् । ‘कांग्रेसले साथ दिन्छ भन्ने सन्देश गयो भने संसदीय दलमा बहुमत पु¥याउन मलाई सजिलो हुन्छ,’ ओलीको जवाफ थियो।
संसदीय दलमा बहुमत पु¥याउन तपाईंलाई सजिलो हुँदा हामीलाई के फाइदा हुन्छ भनेर देउवाले सोझै सोधेका थिए । ओलीको जवाफ थियो, ‘सँगै जाँदा जे–जे फाइदा हुन्छ, सबै फाइदा कांग्रेसलाई पनि हुन्छ । सबै विषयमा साझेदारी गर्न सकिन्छ।’
(सरकारसहित) सबै विषयमा साझेदारी गर्न सकिन्छ भन्ने ओलीको प्रस्तावमा के गर्ने भनेर देउवाले समूहका नेताहरूसँग छलफल पनि गरेका छन् । ‘तर, हामी कांग्रेस होइन, नेकपाभित्रको ओली गुटका सदस्य हुने भयौँ, यसरी फटाफट एक्सपोज हुँदा ओली पनि कमजोर हुन्छन्, हामी पनि कमजोर हुन्छौँ,’ निकट नेताहरूले देउवालाई भनेका छन्।
कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद भएको पुष्टि गरे । ‘बाहिर हल्ला भएकोजस्तो कुरा भएको होइन, आवश्यकताभन्दा बढी महत्व दिइएको हो,’ उनले भने । उनले दुई नेताबीचको संवादको विषयवस्तु भने खुलाउन चाहेनन्।
Shares

प्रतिक्रिया