काठमाडौँको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ। दशैँ, तिहार अनि छठ पर्वका बेला समेत आकस्मिक कक्षमा बिरामीको चाप घटेन ।
कोरोना भाइरस (कोभिड-१९)को चाप बढ्दै गएपछि जेठो अस्पताललाई कोभिड अस्पतालको समेत जिम्मेवारी थपिएपछि त्यहाँ बिरामी आउने क्रम दोब्बर भएको हो । आकस्मिक कक्षमा त झनै बिरामीको चाप बढ्दो छ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दो रहेकाले वीर अस्पतालको आकस्मिक कक्ष बिरामीको रोजाइ हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले कोभिडमा गुणस्तरीय सेवा सञ्चालन गर्न अन्य सेवासँगै आकस्मिक सेवालाई निरन्तर र चुस्त राख्न बारम्बार निर्देशन दिइरहेको छ।
कोभिडका कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने हुन्छ भने कतिपयलाई आकस्मिक कक्षमै उपचार गर्नुपर्ने हुन्छ । सोहीअनुसार सकेजति सेवा प्रदान गरिएको अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरी बताउँछन्।
सार्वजनिक, व्यक्तिगत र साप्ताहिक बिदा समेत नलिएर आकस्मिक सेवा आमनागरिकलाई उपलब्ध गराइएको छ । कुल ४३ शय्या रहेको वीरको आकस्मिक कक्ष शुक्रबार अत्यधिक बिरामीले भरिएको थियो । अझै थप बिरामीको ओहोरदोहोर चलिरहेको थियो। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।
वीर अस्पतालका चिफ कन्सल्ट्यान्ट तथा आकस्मिक सेवा विभागका प्रमुख डा.विष्णुबहादुर बस्नेतका अनुसार रातो, पहेँलो र हरियो ब्लक बनाएर आउने बिरामीको अवस्था हेरेर व्यवस्थापन गरिन्छ । मेडिकल कन्सल्ट्यान्ट, चिफ मेडिकल कन्सल्ट्यान्ट, मेडिकल अफिसर, ‘डिउटी’मा खटिने पारामेडिक्स र नर्सहरू दिनरात बिरामीको सेवामा खटिने गरेका छन् । सेवालाई व्यवस्थित बनाउन खटिनेहरूको नामावलीसहितको विवरण हरेक दिनजसो नै अद्यावधिक गरिन्छ।
सेवा सहज र राम्रो बनाउन बिहान, दिउँसो र राति तीन सिफ्टमा कामको खटनपटनको व्यवस्था गरिएको छ । जसमा अनिवार्य रूपमा मेडिकल अफिसर र पारामेडिक्स र नर्स रहन्छन्।
डिउटीमा रहेकालाई अप्ठ्यारो परेमा ‘अनकल’ नर्स र चिकित्सकको अत्यावश्यक सेवाको व्यवस्था मिलाइएको छ । ‘उहाँहरूले अप्ठ्यारो पर्दा फोन गर्नुहुन्छ, अनि आउन सक्ने भएमा फोन गर्नुहुन्छ, जसअनुसार अनकल र नियमित डिउटी साटफेर हुन्छ,’ बस्नेतले भने। आपत्कालीन समयमा समेत अनकल चिकित्सक सक्रिय रहन्छन् । कुन बिरामीको अवस्था के छ र कसरी उपचार गरिने भन्ने सल्लाह अनकल चिकित्सकले दिएपछि सोही अनुसार काम चल्छ।
निरन्तरको डिउटीमा रहेकाको हकमा भने दैनिक कार्यतालिका अनुसार नै काम हुने गर्छ । आकस्मिक सेवाकै लागि १२ जना स्टाफ नर्स खटाइएको छ । बिरामीको प्रारम्भिक अवस्था जाँच्ने, नसा खोल्ने, औषधि र अक्सिजन चढाउने काममा चिकित्सकलाई सघाउने काम गर्नुहुन्छ । कोभिडको सङ्क्रमणलाई ध्यानमा राखी आकस्मिक कक्षमा काम गर्ने सबैलाई घर पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको छ।
कार्यरत नर्सहरूका अनुसार पनि काम गर्दा अहिले समस्या छैन । रातमा काम करिब १२ घण्टा काम गरेपछि अर्को दिन उसका लागि बिदा हुन्छ । तेस्रो दिन रातिमा मात्र उसले काम गर्न आउँछ । माइनर ओटी र ट्रमा सेन्टरमा पनि अन्य केही बिरामी र हाड भाँचिएका बिरामीको व्यवस्थापन गरिने भएकाले सहज छ । आकस्मिक सेवा लिन आउनेका लागि छुट्टै एक्सरे सेवा, ल्याब सेवा निःशुल्क गरिन्छ।

प्रतिक्रिया