समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रममितहरुको मृत्युदर बढ्दै गएको छ।
गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ। बिहीबारयता तीन दिनभित्रमा देशभरिमा ७४ जनाको मृत्यु भएको छ।
असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिको तेस्रो सातादेखि यता शून्य दशमलव १ प्रतिशत बढेर ०।६ प्रतिशत पुगेको छ। असोजदेखि यता नेपालमा दैनिक १४ देखि ३० जनाको दरले मृत्यु भइरहेको तथ्यांकले औंल्याएका छन्। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।
कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ। त्यसैगरी कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको छ।
चिकित्सका अनुसार पछिल्लो समय कोरोना संक्रमितहरु ढिला गरी उपचारमा आउँदा मृत्युदर बढेको छ। ‘ हेलचक्र्याइँ गरेर ढिला अस्पताल पुग्नाले पनि बढी मृत्यु भएको छ,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड १९ संयोजक डा। बिमल पाण्डेले भने। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालया प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दोस्रो चरणमा फैलिएर मिर्गौला रोगी, दम, मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिहरु,वृद्ध–वृद्धाहरु समेत संक्रमित हुँदै गएपछि मृत्युदर बढेको हो। ‘जोखिम समूहमा संक्रमण हुनु भनेको मृत्यु हुनु हो, यो कारणले पनि बढेको हो,’ प्रवक्ता गौतमले भने।

प्रतिक्रिया