छापा खबर


अमेरिकी जनताको अनौठो प्रतिक्रिया- बाइडेन निर्वाचित भएका होइनन्, ट्रम्प हारेका हुन्!

अमेरिकी जनताको अनौठो प्रतिक्रिया- बाइडेन निर्वाचित भएका होइनन्, ट्रम्प हारेका हुन्!

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १:५९,

जोए बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन्।

अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ- यो निर्वाचनमा बाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुुन्। यो खबर आजको गोरखापत्र दैनिकमा अमेरिकाबाट कृष्णराज खनालले लेखेका छन्।

एउटाको हारमा अर्काको जित त हुन्छ नै । यसलाई जे जसरी अथ्र्याए पनि सही नै लाग्छ। तर सामान्यतः दोस्रो कार्यकालमा पराजय भोग्ने थोरै अभागी राष्ट्रपतिको सूचीमा ट्रम्पको नाम पनि समावेश भएको छ।

अमेरिका विश्वको पहरेदार सिपाही भएका कारण बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि (जनवरी २०) देशभित्र र देश बाहिरका अनगिन्ती समस्यासँग जुध्नुपर्ने छ।

अमेरिकी मूल्य र मान्यतामाथि धावा बोलिएको ट्रम्प कार्यकालको समीक्षा गर्र्दै यसको पुनरुत्थान वा वापसीमा विशेष जोड दिनुपर्नेछ । स्वतन्त्रता र न्यायको आदर्श परिभाषा स्थापित गर्नुपर्ने छ। भत्किएका जनविश्वास पुनः जागृत गर्नुपर्नेछ।

देशभित्रको अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या भनेको कोरोना भाइरस (कोभिड–१९) को आतङ्क नै हो । यसले करिब दुई लाख ३४ हजार अमेरिकी नागरिकको ज्यान लिइसकेको छ।

कोरोनालाई हल्का रूप लिएका कारण ट्रम्पको ह्वाइट हाउसबाट बहिर्गमन हुनुपर्ने एक प्रमुख कारकका रूपमा रहेको छ । यसबाहेक उनको बोलीचाली, व्यवहार, जनमानसमा भ्रम छर्ने, विज्ञानलाई नै चुनौती दिने किसिमका हल्का टिप्पणी र झुटका पुलिन्दाले पराजयलाई मलजल गरेको अमेरिकी सञ्चार माध्यमको विश्लेषण छ।

बाइडेनसँग राष्ट्र र परराष्ट्रसँगको बहुआयामिक नेतृत्व गर्नसक्ने क्षमता, आँट र लामो अनुुभव छ । करिब चार दशक लामो सिनेटरको अनुभव त छ नै उहाँसँग, आठ वर्ष लामो उपराष्ट्रपतिको गहकिलो र दर्बिलो अनुभव छ। त्यसमाथि उहाँले एक सक्षम महिला कमला ह्यारिसलाई उपराष्ट्रपतिको जिम्मा दिएका छन्।

कमला अमेरिकाको २४४ वर्षको इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन्। उनी क्यालिफोर्निया राज्यको पहिलो एटर्नी जनरल तथा पहिलो अश्वेत सिनेटर हुन्।

बाइडेनका लागि समय सजिलो छैन, धेरै कठिन छ । अमेरिकाको राजनीति विभाजित छ, ध्रुवीकृत छ । रङ्गभेद आरोप प्रत्यारोप चलिरहेको छ । एउटाले चिया खाएको ठाउँमा अर्को पार्टीको सांसद नजाने परिपाटीको विकास भएको छ।

उनले यसलाई एउटै अमेरिका बनाउने भने पनि सहज छैन । अमेरिकामा कोरोना भाइरस निराकरण गर्नसक्ने अचुक खोप नबनिसकेको परिप्रेक्ष्यमा उहाँले कसरी र कस्तो प्रकारले यसलाई सामान्य रूपमा ल्याउन सक्नुहुनेछ त्यो अमेरिकी जनताको प्रतीक्षाको विषय हो।

सेतो घरमा पुगेपछि विश्वभरका राष्ट्रसँग नयाँ सम्पर्क, सम्बन्ध र सम्झौताहरू गर्नुपर्नेछ । यसका लागि उहाँले रातदिन खट्नुपर्नेछ । ७८ वर्षीय बाइडेनका लागि यी सबै कुरा सहज हुुँदैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad