छापा खबर


ढुकुटीमा नगद रित्तिएपछि सरकार ऋण खोज्दै, आर्थिक वर्षको सुरुमै किन भयो यस्तो?

ढुकुटीमा नगद रित्तिएपछि सरकार ऋण खोज्दै, आर्थिक वर्षको सुरुमै किन भयो यस्तो?

नेपालखबर
असोज २५, २०७७ आइतबार १:३२,

कोरोना महामारीले राजस्व आम्दानी घटेको बेला पर्वको महिना असोजमा ठुलो खर्च भएपछि सरकारको नगद रित्तिएको छ।

राजस्वसहितको नगद पुरै सकिएपछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको खबर आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन्।

गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो। भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च ७० अर्ब भएकाले सरकार ४६ अर्ब रुपैयाँ नगद बचतमा थियो।

तर, असोजका २३ दिनमै थप ९५ अर्ब रुपैयाँ खर्च भएपछि सरकारको नगद पुरै रित्तिएको हो। असोज २३ मा आइपुग्दा राजस्वसहितको कुल आम्दानी एक खर्ब ६५ अर्ब ७२ करोड भएको छ भने खर्च एक खर्व ६५ अर्ब ८३ करोड हुन पुगेको छ।

आर्थिक वर्षका १२ महिनामध्ये सबैभन्दा बढी चालु खर्च हुने असोजमा हो। निजामती, शिक्षक, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी र पेन्सन पाउने पूर्व कर्मचारीलाई असोजमा दुई महिना बराबरको तलब सुविधा दिनुपर्छ।

यस्तै सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता पनि यही महिनामा वितरण गरिन्छ। गत वर्षकोे पुँजीगत खर्चको बाँकी भुक्तानी सकेसम्म यही बेला दिने गरी तालिका बनाइन्छ।

एकै महिनामा धेरै किसिमका खर्च व्यहोर्नु पर्ने तर, त्यही अनुसार राजस्व संकलन नहुने भए पछि सरकारलाई नगद व्यवस्थापनमा दवाव परेको हो। असोज १५ पछि चालु खर्च मात्र दैनिक औषतमा ५ अर्ब भन्दा बढी भइरहेको छ। राजस्व भने औषतमा दुई अर्ब मात्र छ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सरकारले पहिलो चौमासिकबाटै आन्तरिक ऋण उठाउन सुरु गरेको जानकारी दिए। उनले भने, ‘अहिलेसम्म आन्तरिक ऋणबापत ३० अर्ब रूपैयाँ उठाइएको छ। कातिकभित्र ५७ अर्ब रूपैयाँ पु¥याउने तालिका बनाइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad