छापा खबर


महामारीको बेला कसरी मनाउने दसैं?

महामारीको बेला कसरी मनाउने दसैं?

नेपालखबर
असोज २५, २०७७ आइतबार १:४५,

गोपीकृष्ण ढुंगानादसैं जति नजिकिँदो छ उति नै कोरोना भाइरस संक्रमण बढ्दो छ। यस्तो बेला कसरी मनाउने दसैं?

सरकारले यसपटक अनलाइन वा फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ। टीका थाप्दा हुने भेटघाट र भीडभाडले संक्रमणको समस्या बढाउने सरकारको बुझाइ छ। सरकारले दसैं किनमेल नगर्न र भएकै लुगाकपडामा दसैं मनाउन पनि भनेको छ।

संस्कृतिविद् पनि यसपटकको दसैं जो जहाँ छ त्यहीँ मनाउन सुझाउँछन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोपिकृष्ण ढुंगानाले लेखेका छन्।

उनीहरूले टीका थाप्न परिवारलाई बाहिर नजान र आशीर्वादका लागि सामाजिक सञ्जाल प्रयोग गर्न भनेका छन्।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णयाक समितिका अध्यक्ष प्राध्यापक डा.माधव भट्टराई दसैं साधनामुखी अनुष्ठान गर्ने पर्व भएकाले पारिवारिक जमघट गर्नै पर्छ भन्ने नरहेको बताउँछन्। भन्छन्, ‘भगवतीको साधनामुखी अनुष्ठानको प्रसादस्वरूप लगाइने टीका, दिइने आशीर्वादका लागि गरिने आवतजावत र पारिवारिक जमघटले संक्रमण फैलिने खतरा हुन्छ। यस्तो अवस्थामा लापरबाही गर्नु खतराको संकेत हो।’

दसैंअघि हाल बजारमा देखिएको भीडभाड बेहोसीपन भएको र यसले धेरैको ज्यान जान सक्ने हुँदा सबैलाई सजग रहन उनको सुझाव छ। धर्मसंस्कृतिअनुसार बनेका थुप्रै नियम वैज्ञानिक दृष्टिले पुष्टि भएकाले सोहीअनुसार काम गर्नु बुद्धिमानी हुने उनको धारणा छ।

इतिहास एवं संस्कृतिविद् ज्ञानमणि नेपाल लकडाउन भएयता इन्द्रजात्रा, सेतो र रातो मच्छिन्द्रनाथ, तीज, श्राद्ध आदि सबै चाडपर्वमा रोक लगाइएकाले सरकारले भनेबमोजिम दसैंतिहार मनाउनुपर्ने बताउँछन्। ‘मेरा बुवाका ६ छोरा ३ छोरी, सबैका परिवार गरी झन्डै ७० जना भेला हुन्थ्यौं’, उनी भन्छन्, ‘मैले यसपटक नआउनू, घरघरमै बसेर मनाउनू, आशीर्वाद सामाजिक सञ्जालबाटै दिऊँला भनिसकें।’

संस्कृतिविद् डा.जगमान गुरुङ टीका थाप्न गाउँ नजानु र गाउँबाट सहर नआउनु उत्तम हुने बताउँछन्। गाउँ जान नपाउँदा आफूलाई पनि दुःख लागेको उनको भनाइ छ। भन्छन्, ‘अर्को मनले सोचें, ज्यान रहे चाडबाड मनाइरहन पाइन्छ। तर, जबरजस्ती एकपटक चाड मनाउँदा बाँकी चाडपर्व मनाउन नपाइएला। सबैलाई यो कुरो मनन गर्न आग्रह गर्छु।’

सरकारले मठमन्दिर खोल्ने निर्णय नगरेको र यसअघिका चाडपर्व पनि घरमै बसेर मनाइएकाले दसैंतिहार पनि यसैगरी मनाउनु उचित हुने उनको सुझाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad