ad ad

छापा खबर


एसिड पीडित वसन्तीलाई पतिले दिए मायाको मलम

एसिड पीडित वसन्तीलाई पतिले दिए मायाको मलम

नेपालखबर
असोज २४, २०७७ शनिबार १:१७,

एसिड आक्रमणमा परेपछि नवलपरासी कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो।

उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन्। पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो।

तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अनिल ढकालले लेखेका छन्।

‘पहिला के होला भन्ने डर थियो। आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्रामा भनिन्, ‘पतिको मायाले मलाई बाँच्ने आधार मिलेको छ।’

यमनारायणले पहिलेभन्दा बढी माया गर्छन् वसन्तीलाई। घरमा खाना पकाउने, सरसफाइको काम वसन्तीले गर्छिन्। घरबाहिरको काम यमनारायण गर्छन्। तर, उनी एकछिन पनि पत्नीको साथ छाड्दैनन्। यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ। हरेक काममा साथमै हुन्छन्। पत्नीले नरमाइलो माने उनीे सम्झाउँछन्। अन्यत्रको कुरा गरेर मन भुलाउँछन्।

एसिड आक्रमणपछि वसन्तीलाई घरबाहिर निस्किन पनि अप्ठेरो लाग्थ्यो। अहिले उनमा आँट पलाएको छ। यो पतिकै मायाका कारण भएको उनले बताइन्। अहिले घाममा निस्किन हुँदैन। एसिडले पोलेको भागमा घामले असर गर्छ।

पतिकै मायाकै कारण यो समाजका अगाडि आएर उभिन सकेको उनको भनाइ छ। ‘पहिलाको अनुहार र एसिड प्रहारपछि हेर्ने नजर त पक्कै फरक छ नि’, उनले भनिन्, ‘तर, पति र परिवारको माया फेरिएन, यही मेरो खुसी हो।’

उनी काठमाडौं महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १५ महिनाको उपचारपछि घरमै छिन्। उनी शारीरिक र मानसिक रूपमा तंग्रिँदै छिन्।

एसिडले उनका हात, अनुहार, टाउको, छातीमा असर गरेको छ। पति यमनारायणले उनलाई दरिलो साथ दिएका छन्। समाजमा कसरी अनुहार देखाउने भन्ने चिन्ता गर्ने वसन्तीलाई पतिले हिम्मत जुटाइदिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .